माडीको मणि वाल्मीकि आश्रम चेपुवामा «

माडीको मणि वाल्मीकि आश्रम चेपुवामा

भरतपुर-‘अयोध्या भूमि’ का विषयमा नेपाल यतिबेला निकै तरंगित छ । तर, रामायणमा उल्लेख भएको वाल्मीकि आश्रम क्षेत्र वर्षौंदेखि चेपुवामा परेकोमा सरकार बेखबर जस्तै देखिन्छ । सीता वनवास बस्दा लककुशलाई जन्म दिएको, हुर्काएको, वाल्मीकि ऋषिले बह्रमज्ञान पाएको क्षेत्रका रूपमा चिनिएको वाल्मीकि आश्रम निकुञ्जभित्र पर्छ । यो माडी नगरपालिकाको १ नम्बर वडामा पर्छ, तर भारतको भूमि हुँदै करिब ५ किमि यात्रा गरेर प्रवेश शुल्क बुझाएपछि बल्ल पुगिन्छ । गण्डक नहरको पुल तरेर जानुपर्छ । नेपाल हुँदै जान नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जले गर्दा कठिन छ । निकुञ्जको करिब १२ बिघाको धार्मिक वनमा रहेको आश्रम अगाडिको तमोसानजिकै भारतीय सीमा सुरक्षा बलको क्याम्प छ । आश्रम क्षेत्रमा करिब १२ घर सुकुम्बासी छन् । नेपालको सशस्त्र प्रहरीको बीओपी छ । जनपथका ३ र सशस्त्रका २६ जना छन् । “विरासत बोकेको आश्रम उपेक्षित बनेको छ,” माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल भन्छन्, “नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सकेको छैन, मुख्य धार्मिक गन्तव्यका रूपमा विकास गर्न चुनौती छ ।” गत वर्ष ३ लाख बराबरको वडास्तरीय योजना पारिएको बाहेक अन्य पर्याप्त बजेट पार्न नसकिएको स्वीकार गरे ।
“हाम्रो भूमि हो, तर हामीले संरक्षणमा ध्यान दिन नसकेको सत्य हो,” उनी भन्छन्, “वाल्मीकि आश्रमलाई संरक्षण गर्नसके माडीकै अर्थतन्त्रमा टेवा पुग्थ्यो ।” उनले गत वर्षको तुलनामा वडागत बजेटको आकारसमेत घटेकाले यो वर्ष वडामार्फत बजेट पार्न नसकिएको जिकिर गरे । “निकुञ्जभित्र आश्रम छ, हामी माडी हुँदै जाने बाटो बनाउनुपर्छ भन्दै आएका छौँ,” पौडेलले भने, “वाल्मीकिदेखि पाण्डवनगर निस्कने ‘फायरलाइन ट्रयाक’ बनाउन निकुञ्जसँग पहल भइरहेको छ ।” उनले वाल्मीकि आश्रम, गोद्धक, सोमेश्वरगढी, बैकुण्ठताल लगायतका धार्मिक क्षेत्रलाई एकीकृत गरी विकास गर्ने बजेट बनाउनुपर्ने बताए ।
वाल्मीकि आश्रममा रहेको हरिहर मन्दिरका पुजारी रामशरण गिरि खानेपानीको समस्या रहेको बताउँछन् । “यहाँ करिब १ सय जना बस्छन्,” उनले भने, “आउने भक्तजनलाई पनि पिउनेपानीको असुविधा छ, खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।” उनका अनुसार नजिकै रहेको तमोसा खोलाबाट पाइपमार्फत ल्याइएको पानी झरी लागेपछि खान अयोग्य हुन्छ । “पवित्र तीर्थस्थल राज्यको नजरमा कहिल्यै परेन,” उनले भने, “यहाँ आउने सहज बाटो छैन, धार्मिक महत्वका कैयन शिला, मूर्तिहरू खुल्ला आकाशमुनि छन् ।” वाल्मीकि आश्रममा हरिहर, सीता मन्दिर छन् । धार्मिक मान्यताअनुसार यहीं बसेर वाल्मीकिले रामायण रचना गरेको उनले बताए । रावणको अपहरणबाट मुक्त भएर अयोध्या फर्किएकी सीतामाथि लाञ्छना लागेपछि उनलाई लक्ष्मणले वाल्मीकि आश्रम नजिक लगेर छाडेको बताए । त्यहीं लव–कुशको जन्म भयो । अश्वमेघ यज्ञ गरेर छाडेको घोडा लव–कुशले मौलोमा बाँधे । पछि सीताले लव–कुशलाई रामको जिम्मा लगाएर सोही क्षेत्रमा पाताल प्रवेश गरेको कथा छन् । पुजारी गिरिले त्रेतायुगका भग्नावेशका महत्वपूर्ण सामग्री संरक्षणमा सरकार उदासीन बनेको बताउँछन् । “खुल्ला आकाशमुनि अलपत्र छन्,” उनले भने, “सरकारी निकायबाट संरक्षण गर्न एथेष्ट सहयोग भए आस्थाकै केन्द्र बन्न सक्थ्यो ।”

भारतले देख्यो, नेपालले देखेन
वाल्मीकि आश्रमबारे तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्रीले गण्डक नहरको पुल उद्घाटन गरेपछि पहिलो पटक देखे । सन् १९६४ मे ४ मा दुवैले पहिलो पटक भ्रमण गरे । महेन्द्रले वाल्मीकि जाने सोना र तमोसा नदीमा पुल बनाइदिए वाल्मीकिको विकास गर्ने सोच बताए । लगत्तै भैसालोटनको नाम वाल्मीकिनगर राखियो, नजिकैको जंगललाई वाल्मीकि व्याग्र परियोजना नामकरण गरियो । २०५४ सालदेखि वाल्मीकि आश्रमको विकासमा पहल गर्दै आइरहेको विश्व सनातन धर्म स्थापनार्थ मूल समितिका अध्यक्ष दिपकजंग रायमाझीले वाल्मीकि क्षेत्रलाई नेपालले चिन्न ढिलाइ गरेको बताउँछन् । “डीपीआर तयार छ, अधिकांश प्रधानमन्त्री, मन्त्रालयमा फाइल पुगेको छ,” उनी भन्छन्, “२०५९ सालमा बनेको डीपीआरको २०६९ सालमा संशोधन पनि भयो, १० करोड बजेट अनुमान भयो, तर गुरुयोजना अनुसारको बजेट परेन ।” गुरुयोजना सहरी विकास तथा भवन निर्माण विभागबाट गराउन राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष पृथ्वीराज लिगले पहल गरेका हुन् ।
रायमाझीका अनुसार गुरुयोजनामा भीआईपी र साधारण धर्मशाला, हवन गृह, भग्नावेशलाई नछोपी २–३ फिट परबाट सानो पर्खाल लगाएर माथि चारकुनामा नेपाली कलाको टायल राखी संरक्षण गर्ने, पुस्तकालय, खानेपानी, शौचालय लगायतका पूर्वाधारको परिकल्पना गरिएको थियो । “गुरुयोजना अलपत्र छ, बजेट नगण्य पर्छ,” उनले भने, “पूर्वाधार विकासमा निकै सुस्त गति छ ।” २०५२ सालतिर श्रीनाथ गणको पहलमा हरिहर मन्दिर र विश्व सनातन धर्म स्थापनार्थ मूल समितिको पहलमा २०५४ सालमा १८ लाख खर्चेर सीता मन्दिर बन्यो । तत्कालीन राजा वीरेन्द्रले भग्नावेश मूर्ति संरक्षण गर्न भन्दै सामान्य घर बनाउन लगाएका थिए । “वाल्मीकि आश्रम विकास समिति बनाएरै तीव्र गतिमा विकास गरौँ भनेर बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ,” रायमाझीले भने, “गुरुयोजना कार्यान्वयन गर्न सकेको भए वाल्मीकि धार्मिक पर्यटनका लागि विश्वकै गन्तव्य बन्थ्यो ।”

बजेटलाई निकुञ्जले छेक्छ
बेलाबखत पर्ने बजेट कार्यान्वयन नभई फ्रिज हुनेगर्छ । निकुञ्जको काखमा रहेकाले पूर्वाधार विकासमा चितवन राष्ट्रिय निकुञ्ज बजेट रोक्न अघि सर्ने गर्छ । १५ वर्षदेखि निर्माण उपभोक्ता समितिमा रहेर काम गरेका रामप्रसाद ढकाल भन्छन्, “मुस्किलले परेको बजेट कार्यान्वयन हुन पाउँदैन ।” करिब ५ वर्ष पहिले धर्मशाला बनाउन परेको ७० लाख बजेट रुख काट्न नपाइने कारण देखाउँदै निकुञ्जले रोकेकोे थियो । बिना वर्दीका रूपमा सीमा सुरक्षा गरेका सुकुम्बासीलाई घर बनाउन परेको ११ लाख बजेट पनि काम नभई रोकियो । “यसपालि खानेपानी र टायल बिछ्याउन २५ लाख बजेट प-यो,” ढकाल भन्छन्, “काम हुनै पाएन, समितिले काम थाल्न नपाउँदै बजेट रोकियो ।” बोरिङ गरेर सोलार सिष्टमबाट खानेपानी सुविधा पु-याउने योजना अलपत्र परेको छ ।

बन्ला झोलुंगे पुल ?
१५ वर्षदेखि झोलुंगे पुल बनाउनुपर्ने आवाज चल्यो । नेपाली भूमि हुँदै वाल्मीकि आश्रम पुग्ने बाटो बनाउन धेरै पहल भए । करिब ५ वर्ष पहिले थालिएको झोलुंगे पुल यो वर्ष पूरा हुन लागेको छ । निर्माणको जिम्मा पाएको जलप नेपालका तारा पौडेल माघ महिनामा निर्माण पुरा हुने दाबी गर्छन् । “युनेस्कोबाट अनुमति पाएपछि बल्ल काम अघि बढ्यो,” उनले भने, “टावर ब्लक र केबल एंकोरेज ब्लकको काम लगभग आधा सकिएको छ, लकडाउन र वर्षाले अहिले काम रोकिएको छ ।”
राष्ट्रिय निकुञ्ज विभागको सहमति पाएपछि निर्माण थालिएको हो । २ सय ७० मिटर लामो पुलको लागत ९ करोड छ । पुल ४ फिट चाक्लो हुनेछ । झोलुंगे पुलका लागि तत्कालीन रक्षासचिव आत्माराम पाण्डेले धेरै पहल गरेका थिए । त्रिवेणीधाम नजिकैको नारायणी नदीको माथि पुल बन्नेछ । पुलबाट करिब २ किमि पैदल हिँडेर वाल्मीकि पुग्न सकिनेछ । अहिले त्रिवेणीधाम नजिकैको नारायणी नदीमा हिउँदमा डुंगाबाट तरेर जान सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्