आर्थिक विकासको मेरुदण्ड घरेलु तथा साना उद्योग «

आर्थिक विकासको मेरुदण्ड घरेलु तथा साना उद्योग

सीमित साधन भएको हाम्रो मुलुकका निमित्त घरेलु तथा साना उद्योगहरू नै आर्थिक उन्नतिको एक मात्र उपयुक्त माध्यम हुन् ।

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा आफ्नो परिवारका सदस्यहरूको श्रमबाट पारिवारिक आवश्यकता पूर्ति गर्नका लागि गरिने व्यवसायलाई पनि घरेलु उद्योग भनिन्छ । यस्ता उद्योगअन्तर्गत ऊनी तथा सुती कपडा उद्योग, अल्लोबाट कपडा बुन्ने, घरेलु कागज उद्योग, घरेलु धातु उद्योग, काष्ठ उद्योग, बिँडी, पेपर उद्योग, बेतबाँससम्बन्धी उद्योग, उखु पेल्ने उद्योग आदि पर्छन् ।
ग्रामीण औद्योगीकरणअन्तर्गत कृषिमा आधारित विशेष उद्योग जस्तै— पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, रेसम खेती, दुग्धशाला आदि पर्छन् । खासगरी कुटीर उद्योगहरू ग्रामीण क्षेत्रमा कृषिसँग सम्बन्धित भएका हुन्छन् । हाते तानमा कपडा बुन्नु, माटाका भाँडा बनाउने, गहना बनाउने, राडीपाखी, सुकुल चटाइ, टोकरी बुन्ने नेपालमा सञ्चालित विभिन्न कुटीर घरेलु उद्योगहरू हुन् । नेपालका औद्योगिक एकाइमध्ये लगभग ९५ प्रतिशत घरेलु उद्योग छन् भने करिब ९० प्रतिशत औद्योगिक रोजगारी घरेलु उद्योगले प्रदान गरेको अनुमान गरिएको छ । आ.व. २०७५÷७६ मा ठूला, मझौला तथा साना गरी करिब ८ सय ९५ उद्योग दर्ता भएको तथ्यांक उद्योग विभागको छ भने करिब ६ लाखले स्वदेशी उद्योगमा रोजगारी पाएको तथ्यांक छ । त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान करिब ५.६ प्रतिशत रहेको देखिन्छ । कुल राष्ट्रिय उत्पादनमा उद्योगको योगदान करिब ९.७ प्रतिशत रहेको यस क्षेत्रले कुल श्रमशक्तिको करिब ९ प्रतिशतलाई रोजगारी प्रदान गर्न सकेको छ । नेपालमा अहिले ठूला, मझौला तथा साना गरी करिब ८ हजार २ सय १८ वटा उद्योग सञ्चालित रहेको तथ्यांक छ ।
घरेलु तथा साना उद्योग सबैभन्दा पुराना उद्योगहरू हुन् । यी उद्योगहरू मुख्यगरी परिवारका सदस्यहरू मिलेर आंशिक रोजगारी वा पूर्णकालीन रोजगारीका रूपमा सञ्चालन गरिरहेका हुन्छन् । नेपालमा घरेलु तथा साना उद्योगले प्राचीन कालका वस्तुहरू निर्यात गरेको पाइन्छ । नेपालमा प्राचीन समयदेखि नै हस्तकलाको राम्रो विकास भए पनि सन् १९३९ मा घरेलु विभाग गठन गरिएपछि यसले घरेलु उद्योगलाई निश्चित मापदण्डका आधारका मापन गर्दै आएको पाइन्छ । घरेलु उद्योगमा १० जनादेखि २० जनासम्म कामदार हुन्छन् भने औद्योगिक नियमावली, २०४९ अनुसार २० हजारदेखि १ करोडसम्म लगानी गरिन्छ र यसले पूर्णकालीन पेसाका रूपमा ग्रामीण र सहरी दुवै क्षेत्रमा कार्य गर्छ ।
विकासोन्मुख मुलुकहरूको आर्थिक समृद्धिमा घरेलु तथा साना उद्योगको महत्वपूर्ण योगदान रहेको हुन्छ । स्रोतसाधनको सीमितता, पुँजी परिचालनको कमजोर अवस्था, व्यावसायिकताको प्रवद्र्धन अपेक्षित रूपमा हुन नसक्ने भएकाले नेपालजस्ता मुललुकहरूको आर्थिक विकासको मेरुदण्डको आधारका रूपमा घरेलु तथा साना उद्योगको विकास अपरिहार्य भएको छ । यस क्षेत्रको व्यवस्थापन र प्रवद्र्धन गर्न घरेलु तथा साना उद्योग विभाग र अन्तर्गतका कार्यालयहरू, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयहरूले आवश्यक कार्य गरिरहेका छन् । चालू योजनाले लिएको गरिबी निवारण गर्ने मुख्य उद्देश्यअनुरूप घरेलु तथा साना उद्योग–व्यवसायको विकास एवं विस्तार गर्नका लागि मागमा आधारित आवश्यक सीप विकास, उद्यमशीलता विकास तालिम, प्राविधिक परामर्श, कर्जा प्रवाह एवं सूचना सम्प्रेषणजस्ता कार्यक्रमहरू एकीकृत रूपमा गरिँदै आएको छ । अपाङ्ग, पिछडिएका वर्ग, दलित जनजाति, एकल महिला, द्वन्द्वपीडित एवं महिलाको उत्थान हुने गरी बजार मागमा आधारित रोजगारी एवं सीपमुलक तालिम, उद्यमशीलता विकास तालिम कार्यक्रमहरूलाई ती वर्गको सशक्तीकरणसँग जोडेर प्राथमिकताका साथ स्पष्ट लक्ष्य किटान गरी कार्यान्वयनतर्फ लैजानुपर्छ ।
हाम्रो देशमा कृषिमा जनसंख्याको भार अत्यधिक छ र यो भार झन् बढ्ने विशेषज्ञहरूको अनुमान छ । तर, स्थानीय प्राकृतिक साधनहरू कृषिउपजहरूको सदुपयोग हुने साना तथा घरेलु उद्योगको स्थापना गर्न सकेको खण्डमा एकातिर खेर गइरहेको प्राकृतिक साधनहरूको सदुपयोग गर्न सकिन्छ भने अर्कातर्फ कृषिमा रहेको अत्यधिक जनसंख्याको भारलाई कम गर्न सकिन्छ । स्थानिय स्तरमा कच्चा सामानहरू प्रशस्तै पाइन्छन् । तिनीहरूलाई अहिलेसम्म प्रयोगमा ल्याउने काम कुटीर लघु उद्योगहरूले गरेका छन् । साना उद्योगहरूको स्थापना गर्न ठूलो पुँजीको जरुरत पनि पर्दैन । ठूला औद्योगिक घराना र विकसित प्रविधिबिना पनि यी उद्योगहरूको विकास गर्न सकिन्छ । यसका निमित्त कुनै ठूलो प्राविधिक दक्षता वा ज्ञानको पनि आवश्यकता पर्दैन । तसर्थ सीमित साधन भएको हाम्रो मुलुकका निमित्त घरेलु तथा साना उद्योगहरू नै आर्थिक उन्नतिको एक मात्र उपयुक्त माध्यम हुन् ।
नेपालका अधिकांश जनता गाउँमा बस्छन् । खेतीको समयबाहेक अन्य महिनाहरूमा उनीहरू खालि बस्नुपर्ने हुन्छ । वर्षैभरि पुग्दो काम नहुने हुनाले नै अर्धबेरोजगारी र अदृश्य बेरोजगारीको समस्या उत्पन्न भएको छ । खाली समयमा घरेलु उद्योग सञ्चालन गर्ने गरेमा आर्थिक अवस्था सुधार हुने कुरामा कुनै सन्देह रहँदैन । औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दाे आधारस्तम्भ पनि हो । रोजगारीका लागि कृषि क्षेत्रमा रहेको अत्यधिक निर्भरतालाई कम गर्दै विद्यमान बेरोजगारी, अद्र्धबेरोजगारी कम गर्न औद्योगीकरणको भूमिका महत्वपूर्ण रहन्छ । औद्योगिक लगानीले औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना, स्थानीय सीपको प्रर्वद्धन, स्रोत र साधनको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा योगदान पु-याउँछ ।
विश्वका प्रत्येक विकासोन्मुख राष्ट्रहरू उच्च प्रकारका औद्योगीकरणबाट पिछडिएको अवस्था छ । औद्योगीकरणको प्रारम्भिक प्रयासले नै आर्थिक विकासलाई अँगालेको हुन्छ । विश्वमा औद्योगिक विकासले गर्दा नै विकसित राष्ट्रहरूले उच्च दरको आर्थिक वृद्धि हासिल गर्न सफल भएका छन् । आजको युरोप, अमेरिका, चीन, जापान, कोरियाजस्ता मुलुकहरू सम्पन्न हुनुका पछाडि औद्योगीकरणकै प्रभाव हो भन्दा फरक नपर्ने भएको छ ।
नेपालको कुल निर्यातमा पनि कृषिजन्य वस्तुकै बाहुल्यता रहेकाले नेपालको औद्योगिक स्थिति अझै दयनीय अवस्थामै रहेको स्पष्ट हुन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकले घरेलु तथा साना उद्योगको क्षेत्रमा बढी मात्रामा लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ ।
अहिले सबैका मुखबाट विकास र समृद्धिका कुरा आउँछन्, तर त्यो विकास र समृद्धि ल्याउन के गर्नुपर्छ, कस्तो योजना बनाएर अघि बढ्नुपर्छ भन्नेमा कसैको ध्यान जान सकेको छैन । अहिलेको स्थायी र बलियो भनिएको सरकारले पनि देशमा भएका रुग्ण उद्योगहरू सञ्चालन गर्नेतर्फ कुनै ठोस योजना बनाएर अघि बढ्न सकेको देखिँदैन नयाँ खोल्ने त कुरै छाडौ । जबसम्म आफ्नै मुलुकमा उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरी देशलाई औद्योगीकरणको बाटोतर्फ डो-याउन सकिँदैन तबसम्म विकास र समृद्धि भनेको केवल गरिने भाषणमा मात्र सीमित हुने सम्भावना छ । सरकारी लगानीमै खुलेका कतिपय उद्योग रुग्ण अवस्थामा पुगेका छन् । वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा–टायल उद्योग, कृषि सामग्री लिमिटेड, बुटवल धागो, विराटनगर जुटमिल, जनकपुर चुरोटजस्ता ठूला उद्योगहरू लामो समयदेखि सरकारी बेवास्ता र चरम राजनीतीकरणको चपेटामा परेका छन् । यी उद्योगहरूलाई तत्काल सञ्चालनमा ल्याएर मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकारको ध्यान जान सक्नुपर्छ । लकडाउन र बन्दाबन्दीले धराशायी बनाएको देशको अर्थतन्त्रलाई थप ऋणात्मक हुनबाट बचाउन पनि अब सरकारले रुग्ण र बन्दको अवस्थामा पुगेका घरेलु तथा साना उद्योगलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्