घट्दो जनसंख्याको चिन्ता «

घट्दो जनसंख्याको चिन्ता

जनसंख्याको संरचनामा हुने परिवर्तनले देश विशेषको संस्कृति, अन्तरघुलित संस्कृति र भीड संस्कृतिमा गुणात्मक प्रभाव पार्ने देखिन्छ ।

सन्तान उत्पादनको सोचाइ र मान्यता विश्वमै परिवर्तन भएको छ । मानिसहरू आफूलाई जति विकसित र आधुनिक ठान्छन्, उति नै सन्तान उत्पादनलाई कम महत्व दिएको पाइन्छ । परिवारमा महिला र पुरुषको भूमिका सम्बन्धमा विद्यमान परम्परागत अवधारणा र परिवार संरचनामा परिवर्तन भएको छ । विगतमा बढ्दो जनसंख्या व्यवस्थापनलाई प्रमुख चुनौती मानिएको थियो । अब भने विश्वमा घट्दो जनसंख्याले मानव सभ्यताको भविष्यलाई गम्भीर प्रभाव पार्ने विषय चर्चामा आएको छ ।

जनसंख्याको विज्ञान
एक दम्पतीले दुई सन्तान जन्माउने हो भने पृथ्वीको जनसंख्या स्थिर रहन्छ । सन्तान उत्पादन नगर्दै २० जनामा १ जनाको रोग र दुर्घटनाको कारण मृत्यु हुने गरेको विश्व तथ्यांकले देखाउँछ । त्यसैले जनसंख्या दर २.१ रहे मात्र जनसंख्या स्थिर रहन्छ । त्यसमा कम उमेरमा सन्तान उत्पादन र औसत आयु लामो हुँदा जनसंख्या बढ्छ भने त्यसको उल्टो हुँदा घट्छ । यस्तो घटबढ निश्चित सीमाभित्र मात्र हुन्छ । यसले अनियन्त्रित वृद्धि वा ह्रास गराउँदैन । महाविपत्तिका कारण धेरै मानिसको एकैपटक मृत्यु भएको अवस्थामा भने जनसंख्यामा ह्रास आउँछ ।
सन् १७९८ मा प्रकाशित माल्थसले जनसंख्या सिद्धान्तअनुसार पृथ्वीको जनसंख्या ज्यामितीय ढंगले बढ्दै जान्छ र यसलाई नियन्त्रण गर्न प्रकृतिले नै महाविपत्तिहरू सिर्जना गर्छ । माल्थसले भनेजस्तो जनसंख्या बढी भएपछि नियन्त्रणका लागि यस्तो विपत्ति आउने कुरा प्रमाणित छैन । पुराणहरूको अध्ययन गर्दा ठूलो मानवीय क्षति गर्ने महाविपत्ति र महायुद्धहरू प्राचीन समयमा पनि हुने गर्थे । त्यसैले जनसंख्या बढी नहुँदा पनि महाविपत्ति आउन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

३६ वर्षमै १ अर्ब घट्ने
विगतमा ठूलो संख्यामा रहेका कैयौं जीवजन्तु अहिले लोप हुने खतरामा रहेका छन् । विकसित समाजमा सन्तान उत्पादनमा रहेको अनिच्छालाई आधार लिएर भविष्यमा मानिस पनि लोपोन्मुख हुने परिकल्पनामा सिनेमाहरू बनेका छन् । सर्जकहरूले परिकल्पना गरेका यस्ता अवस्थालाई वैज्ञानिक अध्ययनले पछ्याएको छ ।
मेडिकल जर्नल ल्यान्सेटमा २०२० जुलाई १४ मा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार पृश्वीको जनसंख्या सन् २०६४ मा अधिकतम ९ अर्ब ७० करोड पुगेर घट्न थाल्नेछ । २१ औं शताब्दीको अन्त्य अर्थात् ३६ वर्षमा ८ अर्ब ८० करोडमा झर्नेछ । यो यसअघि प्रक्षेपण गरेभन्दा २ अर्ब कम जनसंख्या हो । “हामी सन् १९६४ बाट तथाकथित जनसंख्या विस्फोटमा साँच्चै नै केन्द्रित भयौं”, अनुसन्धानको नेतृत्वकर्ता डा. क्रिस्टोफोर माउरीले भनेका छन्, “अहिले एक्कासि हामी अति धेरै जनसंख्याबाट अति कम जनसंख्याको चिन्ता गर्ने बिन्दुमा पुगेका छौं ।”
विगतमा सरकारहरूले जनसंख्या घटाउन जन्मदर कम गर्ने नीति लिए । उदाहरणका लागि चीनले सन् १९७९ देखि २०१५ सम्म एक सन्तान नीति कडाइका साथ लागू ग-यो । नेपाल सरकारले पछिल्ला दुई दशक ‘दुई सन्तान, ईश्वरका वरदान’ भन्ने नारा स्थापित गरी बढी सन्तान नजन्माउन प्रोत्साहन ग-यो । परिवार नियोजनका साधनहरूको प्रवद्र्धन गरेर जनसंख्या घटाउने रणनीति विश्वभर अवलम्बन गरियो ।

विकसित मुलुकको प्रयत्न
विकसित मुलुकहरूमा मृत्युदरभन्दा जन्मदर कम रहेको छ । अतिकम विकसित र विकासशील देशमा मात्र जन्मदर घनात्मक छ । सबै देशहरू क्रमशः विकसितको बाटोमा छन् । विकाससँग जीवनशैली र संस्कृतिमा आएको प्रभावले जनसंख्यालाई गम्भीर असर पारिरहेको छ । पहिलेको तुलनामा ढिलो विवाह गर्ने, सन्तान नजन्माउने, ढिलो जन्माउने वा थोरै जन्माउने प्रचलन बढ्दै गएको छ ।
अल्पविकसित मुलुकहरूबाट विकसित मुलुकमा बसाइँसराइ गर्ने विधिबाट विकसित समाजमा जनसंख्याको सन्तुलन कायम भइरहेको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकले आप्रवासी भिœयाएर जनसंख्या सन्तुलित बनाउने नीति लिएका छन् । थरीथरीका आप्रवासीबाट विकसित भएका मुलुकका लागि जनसंख्या सन्तुलन राख्न यो विधि उपयुक्त हन्छ । तर, सांस्कृतिक राष्ट्रहरूका लागि यो विधि उपयुक्त हुँदैन । क्यानडालगायतका मुलुकले बच्चा जन्माउने महिलाका साथै दम्पती र शिशुका लागि प्रोत्साहन प्याकेजको योजना सञ्चालन गरिरहेका छन् ।

जन्मदरको क्षेत्रगत असर
विकसित समाजमा जन्मदरलाई गरिएको प्रोत्साहन र आप्रवासनका बावजुद जनसंख्यामा सन्तुलन कायम हुन नसक्ने देखिएको छ । अध्ययनमा समेटिएका विश्वका १ सय ९५ देशमध्ये सन् २१०० सम्म १ सय ८३ देशमा अहिलेको जनसंख्या कायम राख्ने जन्मदर हुने छैन । एसिया र युरोपमा जनसंख्या तीव्रतर घट्नेछ । जापान, दक्षिण कोरिया, थाइल्यान्ड, स्पेन, इटालीलगायत २३ मुलुकको जनसंख्या २१०० सम्म आधाले कम हुनेछ । अफ्रिकन मुलुकको जनसंख्या भने तीन गुणा बढेर विश्वको आधा जनसंख्या अफ्रिकाले ओगट्नेछ । चीनको श्रम सक्रिय युवा जनसंख्या कम हुन थालिसकेको छ भने भारतको पनि यही अवस्था हुनेछ ।
कुल जनसंख्या घटेसँगै विश्वमा ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुनेछ । २१०० सम्म ८० वर्ष नाघेका मानिसको संख्या अहिलेभन्दा ६ गुणा बढ्नेछ । सरकारलाई कर तिर्ने युवा जनसंख्या कम हुने तर सरकारले खर्च बेहोर्नुपर्ने ज्येष्ठ नागरिकको संख्या बढ्ने अवस्थाले सार्वजनिक वित्तमा संकट ल्याउनेछ । सामाजिक सुरक्षा खर्च अहिले नै कतिपय विकसित मुलुकमा समस्याका रूपमा रहेको छ ।

अर्थतन्त्रमा गम्भीर असर
जनसंख्या वृद्धिको कारण खाद्यान्न अभाव र प्राकृतिक सम्पदा अतिक्रमण बढ्ने भनी चिन्ता व्यक्त हुँदै आएको थियो । अब मानव सम्भयताको आवश्यकता पूर्ति गर्न जनसंख्या कम हुने देखिएको छ । न्यून जनसंख्या एउटा संकटका रूपमा प्रक्षेपण गरिएको छ । जनसंख्याको संरचनामा हुने परिवर्तनलाई अर्को संकटका रूपमा अनुमान गरिएको छ । यसले उत्पादन, वितरण र उपभोगको प्रणालीमा गम्भीर असर पर्नेछ ।
औषधि–उपचार र आरोग्यका कारण मानिसको आयु लम्बिंदै गएको छ । सन्तान जन्माउन रुचि घट्नु र मानिसको आयु बढ्दै जानाले पृथ्वीमा सक्रिय श्रमशक्ति युवा उमेरको कमी भई परनिर्भर वृद्धवृद्धाको संख्या बढ्नेछ । एकातिर बालबालिकाको खर्च र अर्कातर्फ ज्येष्ठ नागरिकको खर्च बेहोर्दा सामाजिक सुरक्षामा सरकारलाई अत्यधिक चाप पर्नेछ ।
बालक, युवा र ज्येष्ठ नागरिक समूहको जनसंख्या सन्तुलित रहेन भने अर्थतन्त्रको सम्बन्धमा खलल पर्छ । अर्थतन्त्रका लागि युवाको संख्या जति बढी भयो, उति लाभदायक हुन्छ । तर, यो आदर्श अवस्था चाहेर सधैं प्राप्त हुँदैन । युवाको संख्या कम र ज्येष्ठ नागरिकको संख्या बढी भइसकेपछि जन्मदर बढाउनुपर्ने बाध्यता आइपर्छ । जसबाट शिशु र बालबालिकाको संख्या बढ्छ । यो अवस्थामा पनि सरकारको सामाजिक सुरक्षा खर्च बढाउनुपर्ने हुन्छ ।

परम्परागत र आधुनिक मूल्यका भिन्नता
परम्परागत र सांस्कृतिक मान्यताका आधारमा जनसंख्या कायम हुँदै आएको थियो । उदाहरणका लागि नेपाल र भारतमा संयुक्त परिवारको अवधारणा थियो । पारिवारिक सुख, सन्तुष्टि र रमाइलोका लागि सन्तान जन्माउने परम्परा थियो । वृद्धावस्थामा पालनपोषण र स्याहारसुसार गर्न सन्तान चाहिन्छन् भन्ने मान्यता थियो । महिलाको प्राथमिक दायित्व सन्तान जन्माउने र हुर्काउने हुने गथ्र्याे ।
पछिल्लो समय एकल परिवारको अवधारणा आत्मसात् गर्न थालिएको छ । महिला पनि पुरुषसरह रोजगारीमा सहभागी हुने मान्यता लागू भएको छ । मानिसहरूको जीवन कामकाजमा व्यस्त भएको छ । सन्तान जन्माएर हुर्काउन समय दिन नसकिने, महिलाको शारीरिक सौन्दर्यमा प्रतिकूल असर पर्ने र हुर्काउन आर्थिक क्षमता नहुने जस्ता कारणले सन्तान जन्माउन निरुत्साहन गरेको छ ।
नयाँ एकल परिवारको अवधारणामा १८÷२० वर्ष पुगेका सन्तान बाबुआमाबाट अलग्गिएर बस्छन् । परम्परागत मान्यतामा आजीवन सन्तानले साथ दिन्छन् भनेर सन्तानको मोह उत्पन्न हुन्थ्यो । अब आफ्नो बुढेसकालको जिम्मेवारी सरकारले लिने भएपछि सन्तान किन जन्माउने ? भन्ने प्रश्न मानिसहरूमा उब्जेको छ । सन्तान जन्माउन सरकारले प्रोत्साहन रकम दिनुपर्ने भएको छ, साथै हुर्काउने खर्च पनि सरकारले नै बेहोर्नुपर्ने भएको छ ।

नयाँ मूल्यमा पुनर्विचार गर्नुपर्ने निचोड
जनसंख्याको संरचनामा हुने परिवर्तनले देश विशेषको संस्कृति, अन्तरघुलित संस्कृति र भीड संस्कृतिमा गुणात्मक प्रभाव पार्ने देखिन्छ । त्यसैगरी आर्थिक संरचना र अर्थतन्त्रको सन्तुलनलाई पनि असर पार्नेछ । त्यसैले परम्परागत मान्यता र आधुनिक विकास मोडलबीचको सम्बन्धलाई पुनर्परिभाषा गर्नुपर्ने देखिन्छ । परम्परा र सांस्कृतिक मान्यतालाई अवैज्ञानिक भन्दै विकासका नाममा हामीले अंगिकार गरेका प्रविधि, प्रवृत्ति र मान्यताका कारण थाहै नपाई कतै हामी आफ्नो अस्तित्व जोखिममा पार्ने बाटोमा त हिंडेका छैनौं ? गम्भीर विचार गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्