सुनको मूल्य बढेर एक लाख २ हजार पाँच सय पुग्यो «

सुनको मूल्य बढेर एक लाख २ हजार पाँच सय पुग्यो

सुनको मूल्यले बिहीबार पुन बढेर नयाँ रेकर्ड कायम गरेको छ । बुधबार तोलामा एक लाख एक हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मंगलबार तोलामा ९९ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार एकै दिन तोलामा एक हजार ६ सय रुपैयाँ बढेर एक लाख एक हजार चार सय रुपैयाँ पुगेको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता सुनको लगानी गर्न आकर्षित भएसँगै मूल्य बढ्न गएको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा सेयर बजार ओरालो लागेपछि सुरक्षित लगानीको क्षेत्रका रुपमा सुन बनेको छ । जसको कारणले गर्दा पनि मूल्य बढ्दै गएको व्यवसायीको भनाई छ । सुनको मूल्य अझै बढ्दै जाने व्यवसायीले अनुमान गरेका छन् ।
सुनको मूल्य बढेसँगै कारोबार ठप्प भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सुनको मूल्य निरन्तर उकालो लागेपछि नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना बिक्री गर्नेको भीडभाड लाग्ने गरेको व्यवसायीको भनाई छ । सुनको मूल्य लगातार बढेपछि कारोबार नहुँदा सुनचाँदी व्यवसाय नै धरासाय हुने अवस्थामा रहेको व्यवसायीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्