यार्सा टिप्न नपाउँदा गुम्दै राजस्व «

यार्सा टिप्न नपाउँदा गुम्दै राजस्व

बझाङमा यस वर्ष यार्सा संकलन हुन नसक्दा आर्थिक संकट हुने देखिएको छ । यस क्षेत्रको मुख्य आम्दानीको रुपमा रहेको बुहुमूल्य जडिबुटी यार्सा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ का कारण संकलन कार्य प्रभावित भएको थियो । कोरोना संक्रमणको जोखिम बढ्ने खतरा भएपछि बझाङका स्थानीय तहले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो । वर्षौदेखि यार्सा संकलन गरेर जीविका चलाउने यस क्षेत्रका सर्वसाधारण यस वर्ष संकलन गर्न नपाउँदा आर्थिक मन्दीको समस्यामा परेका छन् । जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार रहेको छ ।
विगतका वर्षहरुमा वैशाख महिनामा यार्सा पाइने वन क्षेत्र संकलनका लागि खुला गरिने गरिएको भए पनि यसवर्ष लकडाउनका कारण वन क्षेत्र खुल्न सकेनन् । वन क्षेत्र नखुल्दा स्थानीयले यार्सा संकलन गर्न पाएनन् । कोरोना सन्त्रासका कारण भएको लकडाउनले एकातर्फ संकलकहरुमा आर्थिकमन्दी आएको छ भने अर्कोतर्फ सरकारको राजस्व गुमेको छ । यस वर्ष कोरोना प्रकोपका कारण स्थानीय प्रशासनले रोक लगाएपछि यार्सा संकलन हुन नसकेको बुङ्गल नगरपालिका वडा नं २ का आनन्द धामीले बताए ।
उनले भने, “यो वर्ष कोरोना भाइरसका कारण भएको लकडाउनले यार्सा संकलन गर्ने पाटनहरु खुलेनन् ।” यस क्षेत्रका सर्वसाधारणको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बाबाट वर्षभरिको घरखर्च, र छोराछोरीको पढाई खर्च धान्ने गर्छन् । “यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो” उनले भने, “छोराछोरीको पढाइ पनि प्रभावित हुने भयो ।”
यार्सा संकलन गर्न नपाउँदा बझाङका सुर्मा, साईपाल, छविसपाथीभेरा, तल्कोग दुर्गाथली गाँउपालिका र बुङगल नगरपालिकाका स्थानीयमा आर्थिक संकट देखिएको छ । यार्सा संकलन गरेर वर्षभरीको खाना जोहो गरौंला भन्ने आसामा बसेका यस भेगका स्थानीयमा अहिले निराशामा छाएको छ । कोरोना संक्रमण भन्दा पनि आर्थिक संकट हुँदा कसरी घर खर्च र बालबालिकाको पढाई खर्च चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको सुर्मा गाउँपालिका–२ पटुरीका दिलिप बोहराले बताए । “विगतका वर्षहरुमा घरमा ताल्चालगायत सबै जना यार्सा संकलन गर्न जाने गरेका थियौँ, पोहर साल परिवारका सबै जना मिलेर यार्साबाट ५ लाख जति आम्दानी गरेका थियौँ ।” उनले भने, “यस पाली लकडाउनले यार्सा संकलन गर्न नसक्दा आम्दानी गुमाएका छौँ ।” जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकहरुको भिड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्युनीकरणका लागि यार्सा संकलनमा रोक लगाएको थियो ।
कोरोना सन्त्रासका कारण भएको लकडाउनले एकातर्फ संकलकहरुमा आर्थिक मन्दी आएको छ भने अर्कोतर्फ सरकारको राजस्व पनि गुमेको छ । यार्सागुम्बा संकलन हुन नसक्दा सरकारलाई यार्सागुम्बा संकलन र निकासी बापत प्राप्त हुने लाखौँको राजस्व गुमेको डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण खातीले बताए । “गत वर्ष करिब ३ क्वीन्टल यार्सा गुम्बाको करिब ६० लाख राजस्व संकलन भएको थियो” उनले भने, “यसपाली समयमै पानी परेको र हिमाली क्षेत्रमा हिँउ पछिसम्म रहेका कारण यार्सा उत्पादनमा वृद्धि हुने आंकलन गरिएको थियो ।” यस वर्ष कोरोना महामारीका कारण यार्सा संकलन नहुँदा ७० लाख बढी को राजस्व गुमेको छ ।

प्रतिक्रिया दिनुहोस्