ट्राफिक कारवाहीमा ३१ लाख राजस्व संकलन «

ट्राफिक कारवाहीमा ३१ लाख राजस्व संकलन

लमजुङमा आर्थिक वर्ष २०७६-०७७ ट्राफिक कारवाहीबाट ३१ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम विपरित चलेका सवारी साधनमाथि गरेको कारवाहीबाट ३१ लाख ७२ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको हो ।
सोही अवधीमा जिल्लामा चार हजार आठ सय २५ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक महेन्द्र रानाभाटले बताए । गत आर्थिक वर्ष कोभिड–१९ संक्रमण जोखिमका कारण पछिल्लो चार महिना लकडाउन भएसँगै राजस्व संकलनमा गिरावट भएको प्रहरीको भनाई छ ।
रानाभाटका अनुसार ०७६ साउनदेखि ०७७ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गर्दा कारवाहीमा पर्ने सवारी साधानमा सबैभन्दा धेरै कार जिप रहेका छन् । ट्राफिक प्रहरीकाअनुसार गत आर्थिक वर्ष एक हजार आठसय ४८ कार जिप मात्रै कारवाहीमा परेका छन् । कार जिप लगायतका चारपाँग्रे सवारीबाट मात्रै १२ लाख ८३ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रहरीका अनुसार गत आर्थिक वर्ष एकहजार चार सय चार मोटरसाइकल कारवाही परेका छन् । मोटरसाइकलबाट मात्रै नौ लाख ३२ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक प्रहरीका अनुसार गत वर्ष जिल्लामा पाँचसय २८ ट्याक्टर, छ सय २६ ट्रक-ट्रिपर, चार सय ६ बस कारवाहीमा परेका छन् । ट्याक्टरबाट तीन लाख ३६ हजार पाँचसय, ट्रक-ट्रिपरबाट तीन लाख ६८ हजार पाँचसय र बसबाट दुई लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको बताइएको छ ।
ट्राफिक प्रहरीले सोही अवधीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३७ जनालाई कारवाही गरेर पनि ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरीका अनुसार जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउने मध्ये सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् ।
प्रहरीका अनुसार सवारी चलाउँदा सिटबेल्ट प्रयोग नगरेका ३७ जनालाई कारवाही गर्दा १८ हजार पाँच सय, सवारी चलाउँदा मोवाइल प्रयोग गर्ने सात जनाबाट तीन हजार पाँच सय, ओभरलोड ९८ सवारी कारवाही गर्दा ८३ हजार, छतमा यात्रु बोक्ने १३ सवारी कारवाही गर्दा १२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै एक सय ९८ वटा प्रायोजन विपरित चलेका सवारी कारवाही गर्दा एक लाख ७८ हजार पाँच सय रुपैयाँ, तीव्र गतिमा गुडेका एकसय आठ सवारी कारवाहीबाट ९८ हजार रुपैयाँ गरी चार लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्