चुनावी सुरक्षामा सक्षम: सरकार «

चुनावी सुरक्षामा सक्षम: सरकार

निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृत रुपमा छलफल र समीक्षा गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ । 
बैठकमा रुकुम र रोल्पामा भएको पछिल्लो घटनासहित पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको समीक्षा र मूल्यांकन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिए ।
बैठकमा उम्मेदवार केन्द्रित घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले थप प्रभावकारी कार्ययोजना र प्रयासका साथ परिचालन हुनुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । 
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन सुरक्षा योजना र बैठकमा सुरक्षा निकायहरूबाट प्रस्तुत निर्वाचन सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट निर्वाचनको सुरक्षाप्रति आयोग विश्वस्त रहेको बताए ।
उनले आगामी दिनमा त्यस्ता घटना नघट्ने र उम्मेदवार तथा राजनीतिक दलका नेताहरूले सुरक्षित रुपमा प्रचार गर्ने वातावरण बन्ने विश्वास आयोगले लिएको बताए । 
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीबाट स्थानीय तहका निर्वाचनकोे सफल सुरक्षा कार्ययोजनाले सबैलाई शान्ति सुरक्षाप्रति आश्वस्त तुल्याएको प्रमुख निर्वाचन आयुक्त डा. यादवको भनाइ थियो । 
सो अवसरमा सुरक्षा समितिका संयोजक सुधीरकुमार साहले हिमाली तथा पहाडी जिल्लामा यातायात र सञ्चार सेवा प्रभावकारी नभएको स्थानमा ती सेवालाई चुस्त तुल्याउने र भरपर्दो सुरक्षा प्रत्याभूति गराउने सुरक्षा कार्ययोजनालाई आवश्यकताअनुसार विश्लेषण गरेर अघि बढ्न निर्देशन दिए । 
बैठकमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा मन्त्रालयका सचिव विनोद केसी, निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहभागी थिए ।

उम्मेदवार आक्रमण प्रयासप्रति एमालेको आपत्ति
काठमाडौं, २६ कात्तिक (कास) । नेकपा एमालेले बाम गठबन्धनका उम्मेदवारहरुमाथि भएका आक्रमणको प्रयासप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि आक्रमण प्रयास गरिएको भन्दै एमालेले ध्यानाकर्षण भएको जनाएको छ । 
उसले निर्वाचन नजिकिँदै जाँदा सत्ताधारी दलहरुबाट विभिन्न खालका गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने प्रयास गरेको समेत बताएको छ । 
आइतबार विज्ञप्ती जारी गर्दै एमालेले वाम गठबन्धनका तर्फबाट रुकुममा प्रतिनिधिसभा उम्मेदवार रहेको माओवादी केन्द्रका नेता तथा मन्त्री जर्नादन शर्मामाथि निर्वाचन प्रचार–प्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा शुक्रबार र प्रतिनिधिसभा रोल्पाका उम्मेदवार वर्षमान पुनमाथि शनिवार र आइतबार रोल्पाको माडीगाउँमा भएको आक्रमण प्रयासको निन्दा गरेको छ । 
यस्तै, सत्तासंरक्षित गुण्डागर्दीको रुपमा सोलुखुम्बुमा गठबन्धनका उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र समर्थकहरुलाई धम्क्याउने, तर्साउने कार्यहरु भइरहेको भन्दै एमालेले खेद व्यक्त गरेको छ । एमालेले यस्ता कार्यहरुमा संलग्नहरुलाई तुरुन्त कारबाही गर्न सरकारसँग माग समेत गरेको छ । 
एमालेले यस्ता खालका क्रियाकलापले निर्वाचन शान्तिपूर्ण हुने शंका समेत व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्