रुकुमका अस्पतालमा सर्पदंशको औषधि अभाव «

रुकुमका अस्पतालमा सर्पदंशको औषधि अभाव

रुकुम पश्चिममा कोरोना भाइरस संक्रमणसँगै सर्पदंशका बिरामी समेत बढ्न थालेका छन् । जिल्लाको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालमा सर्पले डसेका बिरामीहरुका लागि आवश्यक पर्ने एन्टिस्नेक भेनम औषधिको अभाव भएको हो ।
वार्षिक रुपमा २० देखि ३० जना सर्पले डसेका बिरामी आउने चौरजहारी अस्पतालमा एन्टिस्नेक भेनम औषधिको अभाव भएपछि अस्पतालले बिरामीहरुलाई नेपालगञ्ज लगायतका अस्पतालहरुमा रेफर गर्दै आइरहेको जनाएको छ ।
रुकुमको माथिल्लो भागमा विषालु सर्प कमै पाइने भए पनि रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा भने विषालु सर्पहरु पाइने गरेका छन् । तर रुकुम विषालु सर्प नपाइने जिल्लाको सूचीमा स्वास्थ्य विभागले सूचीकृत गरेसँगै एन्टिस्नेक भेनमको कोटेसन नगर्दा यस क्षेत्रमा रहेका सर्पदंशका बिरामीहरुको ज्यान उच्च जोखिममा रहेको चिकित्सक बताउँछन् ।
गत साउन १९ गते मध्यरातमा सर्पले डसेर अस्पताल पु¥याइएकी चौरजहारी नगरपालिका वडा नम्बर ७ कि ३५ वर्षिय चन्द्रा थापालाई चौरजहारी अस्पतालमा उपचार गरियो । ‘अस्पतालका स्वास्थ्यकर्मीहरुले बिरामीका आफन्तहरुलाई पहिले नै अस्पतालमा औषधि नभएको जानकारी गराएका थिए,’ अस्पतालका डा. कालेब बुढाले भने, ‘तर उहाँहरुले नै अव्जरभेसनको लागि अस्पतालमा भर्ना गर्ने र यदि लक्षण देखा परेको खण्डमा अन्यत्र लैजाने भनेपछि उहाँलाई भर्ना गरेर राखियो । उहाँको उपचार यतै सम्भव भयो, अवस्था सामान्य भएपछि डिस्चार्ज गरियो ।’
चिकित्सकहरुका अनुसार विश्व र नेपालमा पाइने १० प्रजातिका विषालु सर्प किङ कोव्रा, गोमना, सानो कालो करेत, लक्ष्मी सर्प, बैरी करेत, हिमाली करेत, कर्कट सर्प, सेतो कालो चुरे सर्प, छिर्विरे सर्प र हरियो सर्पहरु पनि यस क्षेत्रमा पाइने बताइएको छ ।
यसैबीच अस्पतालमा वर्षेनी वौलाहा कुकुरले टोकेका बिरामीहरुमा लगाइने रेविज भ्याक्सिन औषधिको पनि अभाव रहेको छ । अस्पतालमा कुकुरले टोकेका ५० देखि ६० जना बिरामीहरु वार्षिक रुपमा अस्पताल आउने गरेको अस्पतालका तथ्यांक विभाग प्रमुख घुर्क वुढाथोकीले वताए ।
उनीहरुलाई दिइने रेविज भ्याक्सिन अस्पतालमा नभएपछि छिमेकी जिल्ला जाजरकोटमा रहेको जिल्ला अस्पताल र नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले बताएको छ । अस्पतालमा एन्टिस्नेक भेनम र रेविज भ्याक्सिनको अभाव भएसँगै एकातिर विरामीहरुको ज्यान उच्च जोखिममा हुने गरेको छ भने अर्काेतिर बिरामीहरुले उपचारको लागि सास्ती भोग्नुपर्ने अवस्था छ ।
जिल्ला सदरमुकाम मुसिकोटमा रहेको सल्ले अस्पतालमा पनि सर्पदंशको उपचारमा प्रयोग हुने औषधि निकै कम रहेको बताईएको छ । १० भाईल एन्टिस्नेक भेनम मात्र रहेको जिल्ला अस्पतालले जनाएको छ । तर त्यो भाईल भने प्रयाप्त नरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
यदि विषालु सर्पले डसेको खण्डमा एउटै सर्पदंशका बिरामीलाई ८० भाईलसम्मको औषधि प्रयोगमा आएको अस्पतालको तथ्यांकमा उल्लेख छ । रुकुम पश्चिममा पनि केही समय अघि एकजनाको सर्पदंशका कारण ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्