२४ घण्टामा ३६० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु «

२४ घण्टामा ३६० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

बिहीबार देशभर ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ७५० पुगेको छ ।
बिहीबार ६ हजार ६२२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हालसम्म ४ लाख १९ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हाल देशका विभिन्न क्वारेन्टिनमा ९ हजार ४७० जना रहेका छन् ।
बिहीबार २३३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसहित हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसअनुसार प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, वाग्मती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश ५ मा ३७७, कर्णाली प्रदेशमा २६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४९० जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा ७६ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा बिहीबार कोरोना भाइरसका ८७ जना संक्रमित थपिएका छन् । काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा संक्रमितको संख्या ८७१ पुगेको छ । संक्रमितहरु काठमाडौंमा ६६९, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जना छन् ।
नेपालमा अहिलेसम्म जनसंख्याको १.४ प्रतिशतको कोरोना परीक्षण गरिएको छ । हालसम्म देशभर ४ लाख १९ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ४३ हजार २६१ छ । परीक्षण गरिएकोमध्ये २१ हजार ७५० जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामध्ये १५ हजार ३८१ जना निको भएर घर फर्किसकेका छन् भने ६ हजार २९६ जना आइसोलेसनमा छन् ।

५ जनाको मृत्यु
नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सर्लाही, धनुषा र सप्तरीका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कोशी अस्पताल लगिएको थियो । साउन २१ गते उनको मृत्यु भएको हो ।
त्यस्तै मोरङकै विराटनगर महानगरपालिकाका ४५ वर्षका पुरुषको पनि २१ गते नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनको पनि कोशी अस्पतालमा मृत्यु भएको हो ।
उता, सर्लाहीकी ६५ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । साउन २१ मा बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा उनको मृत्यु भएको हो ।
त्यस्तै धनुषा जिल्लाकी ७२ वर्षिया एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार साउन १७ गते ओम अस्पताल काठमाडौंमा उनको मृत्यु भएको हो । उनी दम, उच्च रक्तचाप, मधुमेह र निमोनियाबाट ग्रसित थिइन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सप्तरीमा पनि ४२ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । साउन २१ मा उनको मृत्यु भएको हो । योसँगै नेपालमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चाडपर्व मनाउन स्वास्थ्य मापदण्ड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड सार्वजनिक गरेको छ । मन्त्रालयले व्यक्तिगत तहमा लागू गर्नुपर्ने र आयोजकले पालना गर्नुपर्ने मापदण्ड तयार गरेको हो ।
चाडपर्व मनाउँदा एउटै घरका मानिसबाहेक अन्य मानिससँग कम भेट्ने र भेट्नैपरे २ मिटरको दूरी कायम गर्ने, घरबाहिर सकेसम्म नजाने र जानै परे एसएमएस (सामाजिक दूरी, मास्क र स्यानिटाइजर) विधि पालन गर्नुपर्ने, रेलिङ, बार, मूर्तिलगायत धेरै व्यक्तिले प्रयोगमा ल्याउन सामग्री नछुने, अनुहारमा छुनुअगाडि साबुन पानीले हात धुने, सार्वजनिक स्थलमा नथुक्नेलगायत मापदण्डमा उल्लेख छन् ।
त्यस्तै कार्यक्रम आयोजकहरुले भिडभाड व्यवस्थापनका लागि जनस्वास्थ्य सुरक्षासहितका तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकको व्यवस्था गर्ने, कार्यक्रमस्थलमा भौतिक दूरी कायम गराउने, स्थानीय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुने गरी कार्यक्रम गर्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्