साउदी, कतार र यूएई जाने ६५ प्रतिशतले घटे «

साउदी, कतार र यूएई जाने ६५ प्रतिशतले घटे

कोरोना संकटका कारण कतार, साउदी अरेबिया र यूएई जाने नेपालीको संख्या ६५ शतप्रतिशतले कमी आएको छ । विश्वव्यापी कोरोना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आएको हो । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यामा भने २८ प्रतिशतले मात्र घटे पनि खाडीका प्रमुख तीन देश जाने नेपाली संख्या एक वर्षमा १ लाख ४० हजारभन्दा कमीले घटेको भएको पाइएको छ ।
आर्थिक वर्ष २०७५-७६ मा कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या ३ लाख ९८ हजार रहेकामा गत आवमा सो संख्यामा ६५ प्रतिशत कमी आएर १ लाख ४० हजार ८२० पुगेको छ । गत वर्ष मलेसिया जान नपाएका युवा वैकल्पिक रोजगारी खोज्दै खाडी राष्ट्र जाने क्रम बढेको कारण यो संख्यामा वृद्धि भएको भए पनि हाल कोरोनाका कारण घटेको हो । अघिल्लो आर्थिक वर्षका कतार जाने नेपाली युवाको संख्या सबैभन्दा बढी १ लाख ६१ हजार २१५ रहेकोमा गत आवमा सो संख्यामा ५० प्रतिशत कमी भएर ८१ हजार ५६७ मा सिमित भएको छ । वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७६-७७ को तथ्यांक सार्वजानिक गर्दै कतार जानेको संख्यामा ७९ हजार ६४८ ले कमी आएको देखाएको छ ।
यसैगरी, अघिल्लो आवमा यूएई जाने नेपाली युवाको संख्या १ लाख १९ हजार ८५५ रहेकोमा गत आवको सो संख्या २२ प्रतिशतले कमी आएर ८३ हजार ४२४मा सिमित भएको छ । यसैगरी साउदी अरब जाने नेपालीको संख्या पनि सो अवधिमा ३० प्रतिशत कमी भएर ८३ हजार १६३ मा घटेको छ । यो संख्या संस्थागत, वैधानिकरण, व्यक्तिगत र पुनः श्रम स्वीकृति हो । यसमा पुनः श्रम स्वीकृती लिएर जानेको संख्या बढी रहेको छ । यस कारण नयाँ रोजगारीका क्षेत्र अझ खुम्चिदै गएको बुझन सकिन्छ ।
२८ प्रतिशत घट्दै वैदेशिक रोजगार
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रूपमा रहेको वैदेशिक रोजगार विगत तीन वर्षमा २८ प्रतिशत भन्दा बढी दरमा घटेको छ । विगत तीन आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या ६५ प्रतिशत भन्दा बढिको दरले घटेको पाइएको छ । प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा आएको कोरोना संकटबीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको हो । योजना आयोगका पूर्व सदस्य एवं रोजगार विज्ञ डा. गणेश गुरुङ कोरोना संकटले रोजगारीका दर घट्दै गएको कारण जाने क्रम रोकिएका कारण संख्या घटेको बताए । गत आवमा म्यानपावर कम्पनीमार्फत १ लाख ७२ हजार २ सय ६६, वैधानीकरण मार्फत ८ हजार ५१४, पुनः श्रम स्वीकृति लिएर १ लाख ७७ हजार ९८० जना र ७ हजार ६३६ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेहरूमध्ये ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला रहेका छन् ।
गत वर्ष विदेश जानका लागि सबैभन्दा धेरै धनुषा जिल्लाका युवाले विदेशका लागि श्रम स्वीकृति दिएको देखिन्छ । श्रम स्वीकृति लिने संख्याका आधारमा दोस्रोमा झापाका १८ हजार ५ सय र तेस्रोमा रहेको सिरहाका १६ हजार, युवाले श्रम स्वीकृति लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्