सर्लाहीमा एक साताका लागि लकडाउन «

सर्लाहीमा एक साताका लागि लकडाउन

सर्लाहीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन बुधबार बिहान ६ बजेदेखि लागू हुनेगरी एक साताका लागि लकडाउन हुने भएको छ । कोरोना भाइरसको महामारी छिमेकी जिल्लाहरुमा तीव्र गतिमा फैलिरहेका कारण यसको महामारीले सर्लाहीमा हुन सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साउन २७ गते राति १२ बजेसम्मका लागि सर्लाही जिल्लाभरी लागू हुनेगरी लकडाउन गरिएको नव नियुक्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण समुदाय स्तरमा देखिन थालेपछि यसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको सिफारिसबमोजिम हाललाई साउन २१ गतेदेखि लकडाउन जारी गरिएको छ ।
लकडाउन भरीमा औषधि उपचार, खाद्यन्न वस्तु, पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने भनिएको छ । अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोक्ने गाडी, दमकल, दूध बोक्ने र खाद्यन्न वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थकर्मी, सुरक्षाकर्मी निकायले भने प्रयोग गर्न पाउनेछन् ।
सार्वजनिक वा निजी यात्रु बाहक सवारी साधन (मोटरसाइकलसमेत) सर्लाही जिल्लाभरि संचालन नगर्ने, अत्यवाश्यक उपभोगका सामग्री बिक्री गर्ने स्थायी प्रकृतिका पसलहरु, पेटोल पम्पहरु, ग्यास डिपोहरु, औषधि पसलहरु अन्य खोल्न पाइने छैन । अर्धसाप्ताहिक, सप्ताहिक हाट बजार, मेला नलगाउने, आर्थिक राजनीतिक, समाजिक, धार्मिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा सम्मेलन, भोज, भतेर जस्ता समूहमा भेला हुन पाइने छैन ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३)बमोजिम सर्लाही जिल्ला भर देहाएका आदेशहरु जारी गरिएकोले आदेशको पालना नगर्ने जोकोही ब्यक्तिलाई प्रचलित कानुनबमोजिम कानुनी कारबाही गरिने कार्यालयले जानकारी गराएको छ ।
जिल्लाका २० वटै पालिकाहरुले नै तत्काल समुदायको बढी भीडभाड हुने स्थानमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी लगायत कम्तीमा ३ सय जनाको स्वाब संकलन गरेर परीक्षण गर्नेसमेत विपद व्यवस्थापन समितिको बैठकले दुई दिनअघि नै निर्णय गरिसकेको छ ।’
सर्लाहीमा हालसम्म ७ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । जसमध्ये ६ सय ८८ जना निको भएर घर फर्किसकेका छन् भने ३० जना सदरमुकाम मलंगवास्थित नर्सिङ कलेजको आइसोलेसन तथा ३ जना जिल्ला बाहिर आइसोलेसनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्