अस्पतालद्वारा ८७ लाखभन्दा बढीको निःशुल्क सेवा «

अस्पतालद्वारा ८७ लाखभन्दा बढीको निःशुल्क सेवा

लमजुङ-सदरमुकाम बेंसीसहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालले एक आर्थिक वर्षमा मात्रै ८७ लाखभन्दा बढिको निःशुल्क सेवा प्रदान गरेको जनाएको छ । आर्थिक वर्ष २०७६-७७ को अवधिमा ८७ लाख १५ हजार ८ सय १६ रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरेको अस्पतालले जनाएको हो । अस्पतालका अनुसार गरिव, विपन्न परिवार, ज्येष्ठ नागरिकलगायत सरकारबाट स्वास्थ्य सेवामा विशेष सहुलियत पाउने वर्गका ६ हजार ६ सय २६ जनाले निःशुल्क सेवा पाएका हुन् । अस्पतालले निःशुल्क औषधिसँगै सो मूल्य बराबरको विभिन्न सेवाहरू निःशुल्क उपलब्ध गराएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । अस्पतालका अनुसार गत आर्थिक वर्षमा मात्रै ५५ हजार २ सय ४५ जनाले अस्पतालबाट सेवा लिएका छन् । गत आर्थिक वर्षमा एकहजार १ सय २३ जनाले सुत्केरी सेवा लिएका छन् ।
अस्पतालमा ४ सय ५३ वटा ठूलोखालको शल्यक्रिया भएको छ भने ३ सय ३० मध्यम र १ हजार ४ सय ९ वटा सामान्य शल्यक्रिया भएको छ ।  अस्पतालले गत आर्थिक वर्षमा मात्रै जिल्लाका विभिन्न दुर्गम क्षेत्र तथा प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त भएको स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सयभन्दा बढीलाई सेवा दिएको पनि जनाएको छ ।
गत आर्थिक वर्षमै समुदायस्तरमा ज्येष्ठ नागरिक तथा किशोर– किशोरी समुहहरूमा स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम, विभिन्न विद्यालयहरूमा विद्यालय स्वास्थ्य कार्यक्रम समेत संचालन सञ्चालन गरेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ ।गत वर्षबाटनै मृगौला रोग, छाला रोग र मानसिक रोगसम्बन्धी सेवाहरू विस्तार गरेको अस्पतालले प्रयोगशाला सेवाअन्तर्गत पनि सेवा थप उपलब्ध गरेको जनाएको छ । अस्पतालमा आर्थिक वर्षको अन्तिम चौमासिकमा विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रयण तयारीमा केन्द्रित भएको थियो । सोहि अस्पतालमा कोभिड उपचारको निम्ति आइसोलेसनसमेत निर्माण गरी उपचार तथा निगरानी सेवा दिँदै आएको छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्