मास्क नलगाए १ सय जरिवाना ! «

मास्क नलगाए १ सय जरिवाना !

ताप्लेजुङ– कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमणबाट बच्न तथा सावधानी स्वरुप सार्वजनिक स्थलमा आवतजावत गर्न अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिको बुधबार बसेको बैठकले मास्क नलगाएको पाइए १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । समुदायको सुरक्षाका लागि व्यक्तिको सावधानी महत्वपूर्ण हुने भएकाले संक्रामक रोग ऐनबमोजिम जरिवाना तोकिएको र अनावश्यक आवतजावत नगर्न समितिले अनुरोध गरेको छ ।
समितिका सदस्य सचिव तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अत्यावश्यक काम बाहेक भ्रमण तथा आवत जावत कम गर्न अनुरोध गरे । प्रजिअ निरौलाले भने, “जिल्लाबाट बाहिरिने र भित्रनेका लागि पासमा कडाई गरेका छौ । आवश्यकता महसुस नभए अनुरोध गर्दैमा सवारी पास दिन असमर्थ छौं ।” सरकारी कार्यालयका कर्मचारीलाई बिदा नदिन कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएको छ ।
समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले सदरमुकाममा क्वारेन्टाइन निर्माण थप गर्नुपर्ने खाँचो औल्याए । उद्योग वाणिज्य संघको भवन प्याक भएकाले फुङलिङ नगरपालिका–८ स्थित सामुदायिक भवन चारपाटेलाई क्वारेन्टाइन बनाउने भएको छ । समुदायसँग सहकार्य गरेर भवन सरसफाइ गरिएको छ । आवश्यक परेको खण्डमा भवन प्रयोग गरिने जिसस प्रमूख मादेनले जानकारी दिए ।
उद्योग वाणिज्य सँघको हलको क्वारेन्टाइनमा २३ जनालाई राखिएको छ । बुधबार २ जना थप भएका छन् । दुवै जना कतारबाट आएका हुन् । उनीहरूलाई कम्तीमा १४ दिन राख्ने गरिएको छ । १७ जनाको पीसीआर रिर्पोट आउन बाँकी छ ।
यसैबिच सदरमुकाममा भीडभाड ह्वात्तै बढेको छ । विद्यालय बाहेक सबै क्षेत्रमा मानिसहरूको भीडभाड पहिलेझै बनेको छ । यद्यपि सवारी पास स्वीकृत गरेर बाह्य जिल्लाबाट भित्रने क्रम नरोकिएकाले सर्वत्र चिन्ता व्यक्त गरिएको छ । न सामाजिक दूरी कायम छ, न त सुरक्षा सामग्री नै प्रयोग । मानिसहरूको निस्फिक्री आवत जावतले जोखिम बढेको छ । झापा, सुनसरी तथा मोरङमा संक्रमण बढेसँगै जिल्लामा थप सावधानी अपनाउनुपर्ने खाँचो आंैल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्