वीरगन्जमा दुई जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि «

वीरगन्जमा दुई जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि

वीरगन्ज-कोरोना भाइरस कोभिड–१९ महामारीको ईपीसेन्टर बनेको वीरगन्जमा पछिल्लो पटक दुईजनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका–१५ का ४५ वर्षीय पुरुष र पर्साकै पोखरिया नगरपालिका–९ की एक १८ वर्षीया युवतीको मृत्युपछि पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ आएको हो । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुषको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
उनी नेसनल मेडिकल कलेजमा काम गर्ने कर्मचारी हुन् । उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरे । मृतकको स्वाब संकलन गरी मंगलबार नारायणी अस्पताल पठाइएको थियो । मृतकको स्वाब पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक पहिलेदेखि नै मधुमेह तथा मुटुको रोगबाट ग्रसित थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमै भर्ना गरीएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई मंगलबार राति वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । यस्तै नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी पोखरिया ९ बर्ववाकी १८ वर्षीया युवतीको पनि यसअघि पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
युवतीले पटक–पटक बान्ता गर्न थालेपछि उपचारका लागि पोखरिया अस्पतालमा लगिएको थियो । त्यहाँबाट पोखरिया अस्पतालले रेफर गरेपछि नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारका लागि लैजाँदै गर्दा सोमबार राति मृत्यु भएको थियो । अस्पताल पुगे पनि उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरूले बताएका छन् । उनको शव नेसनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलबार नारायणी अस्पतालमा पठाइएको थियो । सोही दिन राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पताल अस्थायी कोभिड विशेष अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले बताए ।
यसअघि पनि बारा करैयामाईका ७० बर्षीय वृद्ध, वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ उद्यानमा बेवारिसे अवस्थामा फेला परेको शवको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार बिहान वीरगन्ज १५ का संक्रमित पुरुषको मृत्यु भएसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पर्सामा साउन यता मात्रै १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्