कास्कीका धितालबासी चिया उत्पादनमा «

कास्कीका धितालबासी चिया उत्पादनमा

पोखरा-कास्कीको माछापुछ्रे  गाउँपालिका ६ स्थित धितालका स्थानीय यति बेला चिया उत्पादन गर्नतर्फ जुटेका छन् । खेर गएको पाखो र र झाँडीमा चिया खेती लगाउँदा मनग्य आम्दानी हुने भएपछि स्थानीय चिया खेतीतर्फ आकर्षिक भएका हुन् ।
२०५४ सालमा करिब एक सय रोपनी क्षेत्रफलमा ३० घर परिवारबाट सुरु भएको चिया खेतीबाट राम्रो आम्दानी हुने भएपछि हाल स्थानीय चिया उत्पादनमा पुनः जुटेको चिया तथा कफी उत्पादक समितिका अध्यक्ष लिलाधर पौडेलले बताए । उनले भने, “लघु उद्यम स्थापना गर्न हामी लागि परेका छौं, हामीलाई तत्काल करिब १५ लाख भएको खण्डमा चिया उत्पादन गर्ने मेसिन खरिद गरी गाँउमै चियाको प्रशोधन गरी प्याकिङ गर्न सक्छौं ।”
समितिको अगुवाइमा गाउँमा हाल चियाका २३ हजार विरुवा उत्पादन भएका छन् । माछापुछ्रे गाउँपालिका, कृषि सञ्जाल, कृषि ज्ञान केन्द्रको सहयोगमा यस वर्ष २३ हजार चियाका विरुवा उत्पादन भएको अध्यक्ष पौडेलले बताए । नुवाकोटबाट ल्याएका चियाका २० हजार विरुवा उत्पादन भएसँगै स्थानीय जातको करिब ३ हजार चियाका विरुवा उत्पादन भएको उनले दाबी गरे । उक्त नर्सरी स्थापना गर्न करिव ३ लाख खर्च भएको समितिले दावी गरेको छ ।
असार, साउन महिना चियाका विरुवा सार्ने मौसम भएकोले हाल आफूहरुले उत्पादन भएका चियाका विरुवा स्थानीय रुपमा वितरण गर्ने भएको समितिका व्यवस्थापक जनकराज पौडेलले बताए । उनले भने, “हामीलाई आवश्यक मात्रमा प्राविधिकहरुको उपलब्धता भए दुई वर्षमै चिया उत्पादन गरेर बिक्री गर्न सक्छौं, हाम्रा पाखो र खरबारीमा चिया रोपेर हामीले आम्दानी गर्न सक्छौं ।”
धिताल पर्यटकीय क्षेत्र समेत भएकाले चिया बगान समेत बनाउने योजना रहेको व्यवस्थापक पौडेलले जनाए । पाखो बारीमा घाँस लगाउँदै आएको ठाउँमा व्यावसायिक रुपमा चिया खेती लगाउने भएको उनले जनाए । कृषि सामग्रीसहितको चिया प्रशोधन गर्ने मेसिनको साथमा भवन समेत आवश्यक भएको पौडेलले बताए ।
परम्परागत अन्नवालीले किसानको आय आर्जनमा खासै परिवर्तन नभएकाले व्यावसायिकताका लागि चियासहितका अन्य फलफूल तरकारी खेती आवश्यक भएको स्थानीय शिव पौडेलले बताए । कास्कीको माछापुछ्रे गाउँपालिकाअन्र्तगत ल्वाङमा चिया बगान रहेको छ । पर्यटकहरुको आकर्षणको रुपमा रहेको उक्त बगानामा वर्षेनी लाखौं पर्यटक पुग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्