‘नेपाली गरिब छन् भनेर नहेप’

प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपियन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआँक्न चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति –नियोकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले इयूले निर्वाचनको पर्यवेक्षणका क्रममा तयार पारेको प्रतिवेदन तत्काल सच्याउन आग्रह गरे । “इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको छ तर उसले झन् जिद्दी गरेजस्तो छ,” प्रधानमन्त्री ओलीले भने, “म फेरि आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्विचार गर्नुहोस् ।”
प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए । नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न प्रधानमन्त्री ओलीले सम्झाए ।
“लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन । हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्छन् ?” उनले भने ।
प्रधानमन्त्री ओलीले गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ भन्ने मानसिकता त्याग्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । “नेपालमा मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखाउँदै मतदान गरे,” प्रधानमन्त्री ओलीले भने, “केही मत बदर भयो । तर मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान हो ।”