विद्युत् आपूर्ति अनियमित हुँदा सास्ती «

विद्युत् आपूर्ति अनियमित हुँदा सास्ती

वीरगन्ज- कोरोना भाइरस संक्रमण र बाढी डुबानको जोखिममा परेका वीरगन्जवासीलाई विद्युत् आपूर्ति अनियमित हुँदा थप समस्या भएको छ ।
पाँच महिनादेखि कोरोना भाइरस संक्रमणको जोखिममा पनि दैनिकी चलाइरहेका वीरगन्जवासीलाई बीचमा अविरल वर्षापछि आएको बाढी डुबानको पनि त्रासमा नै बाँच्नुपर्ने बाध्यता आइपरेको थियो । साउन तेस्रो साता बढेको गर्मीमा विद्युत् प्राधिकरणको अनियमित विद्युत् आपूर्तिले झन सकस बनाएको छ । वर्षासँग आएको पहिरोले विभिन्न ठाउँमा विद्युत्का पोलमा पु¥याएको क्षतिका कारण विद्युत् आपूर्ति अवरोध हुँदा विद्युत् आपूर्तिमा समस्या भएको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख शम्भु कुसियतले बताए । मंगलबार दिउँसोदेखि नै विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । मंगलबारदेखि छिनछिनमा लाइन काटिने आउने गरेकोमा राति धेरै लामो समयसम्म विद्युत् अवरुद्ध भएको थियो । लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुँदा सर्वसाधारणलाई गर्मीले निकै अत्यास बनाएको थियो । छिनछिनमा विद्युत् काटिने गरेपछि उपभोत्ताहरू आक्रोशित भएका छन् । विद्युत् आपूर्ति अनियमित भएपछि सर्वसाधारणले सरकार र प्राधिकरणका कर्मचारीलाई सामाजिक सञ्जालमा गालीगलौज समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्