काठमाडौंमा तरकारीको मूल्य आकासियो «

काठमाडौंमा तरकारीको मूल्य आकासियो

काठमाडौंको बजारमा तरकारीको मूल्य अनियन्त्रित रुपमा बढेको छ । भान्सामा दिनहुँ प्रयोग हुने तरकारीको मूल्य थोक बजार कालिमाटीमा नै किन्नै नसकिने गरी आकासिएको छ । खुद्रा पसलमा मूल्य अचाक्ली भएपछि कालिमाटी पुगेका उपभोक्ताले तरकारी अब तोलामा किन्नुपर्ने अवस्था आएको बताएका छन् । बजारमा प्रायः सबैखालका तरकारीको मूल्य बढेको छ ।
गोलभेंडा, आलु, बोडी, बन्दाकोभी, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातमा पनि धेरै नै मात्रामा मूल्य बढेको छ । गोलभेंडाको मूल्य सामान्य अवस्थामा भन्दा निकै बढेको छ भने आलुको मूल्य पनि आकासिएको छ । गत हप्तासम्म रातो आलु प्रतिकिलो औसत मूल्य ४८ मा बिक्री हुने गरेकोमा अहिले त्यसको मूल्य बढेर ६९ रुपैयाँ पुगेको छ । त्यस्तै किलोको ४८ रुपैयाँमा बिक्री हुने मुडेको आलुको मूल्य ५६ रुपैयाँ पुगेको छ । कालिमाटी बजारका व्यापारीहरुले प्याजको मूल्य सामान्य रहेपनि लकडाउनको कारण किसानले आलु घरमा लुकाएकाले मूल्य ह्वातै बढेको बताए ।
व्यापारीहरुले तरकारीको मूल्य बढ्नुमा आफ्नो कुनै हात नरहेको समेत बताएका छन् । मागको तुलनामा आपूर्ति निकै कम भएकाले मूल्य बढेको उनीहरुको भनाइ छ । लकडाउन र लगातारको वर्षाका कारण सबैजसो तरकारीको मूल्य बढेको व्यापारीले बताए । उनीहरुका अनुसार देशभित्र उत्पादन कम हुनु र लगातारको वर्षाका कारण ढुवानीमा धेरै खर्च लाग्दा मूल्य आकासिएको हो । व्यापारीहरुले अब विस्तारै मूल्य घट्ने बताउँदै तरकारी बजारमा नभएर खुद्रा पसलेमा मूल्य बढेको पनि बताएका छन् ।
कालिमाटी तरकारी बजार तथा फलफूल विकास समितिले अहिले तरकारीको मूल्य घट्नुपर्ने समय भएपनि साउनमा आएको बाढीका कारण तरकारी खेतीमा पुगेको क्षतिको असरस्वरुप मूल्य बढेको बताएको छ ।
त्यस्तै, तरकारीको आयात र उत्पादनमा समेत कमी आएको समितिको दावी छ । काठमाडौं उपत्यकामा खपत हुने तरकारीको ठूलो हिस्सा काभ्रे, धादिङ, चितवन तथा तराइका विभिन्न जिल्लाबाट आउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्