एनसेल बन्यो पब्लिक कम्पनी «

एनसेल बन्यो पब्लिक कम्पनी

• ५ करोडमाथिका दूरसञ्चार कम्पनी अनिवार्य पब्लिकमा

• पुँजी वृद्धिपछि मात्र सर्वसाधारणमा सेयर

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेल अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ मा एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो । सरकारको लगानी रहेको नेपाल टेलिकम यसअघि नै पब्लिक कम्पनी भइसकेको छ भने एनसेलले पनि पब्लिक कम्पनी भएसँगै सर्वसाधारणमा सेयर बिक्री गर्नुपर्नेछ । दूरसञ्चार क्षेत्रका अन्य कम्पनी पनि पब्लिक लिमिटेडमा रुपान्तरण भएका छैनन् । पब्लिक कम्पनीमा जाने निर्णयसँगै एनसेल प्रालि रहेको कम्पनीको नाम एनसेल आजियटा लिमिटेड भएको छ ।
कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी निश्चित प्रक्रिया पूरा गरेपछि पब्लिक कम्पनीमा रूपान्तरण हुनसक्ने व्यवस्था छ । सोहीअनुसार एनसेल अजियाटाले २०७५ सालमै पब्लिकमा जानका लागि आवेदन दिएको थियो । यद्यपि कर विवादको कारण देखाउँदै सरकारले उक्त प्रक्रिया रोकिदिएको थियो । लाभकर विवाद सल्टाएपछि कम्पनीले पुनः पब्लिक कम्पनीमा जाने प्रक्रिया अगाडि बढाएको हो । अब कम्पनीले कर विवाद टुंगाएको र सेवा विस्तार आक्रामक ढंगले अगाडि बढाउने रणनीति बनाएको छ । पुँजी बजारमा यसलाई भविष्यको ‘ब्लुचीप’ कम्पनीका रूपमा हेरिएको छ । एनसेलको सेयर मूल्य अर्काे बहुराष्ट्रिय कम्पनी युनिलिभरकै उचाइमा जानसक्ने आकलन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले एनसेलले पब्लिकमा जानुपहिले नै प्राधिकरणमा निवेदन दिए पनि कर विवादका कारण रोकिएको र कर तिरेपछि प्रक्रियामा गएको बताए ।
उनले दूरसञ्चार नियमावलीअनुसार ५ प्रतिशतभन्दा धेरै सेयर खरिद बिक्री हुँदा प्राधिकरणबाट स्वीकृत लिनुपर्ने व्यवस्था रहेको बताए । पब्लिकमा गएपछि कम्पनीको नाम परिवर्तन पनि भयो अब उसले नाम परिवर्तन गर्न र ५ प्रतिशतभन्दा धेरै सेयर खरिद बिक्री गरेको भए प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । कम्पनी रजिष्ट्रारको प्रक्रियापछि प्राधिकरणबाट कम्पनीले स्वीकृति लिनुपर्छ । कम्पनी ऐनमा भएको पछिल्लो व्यवस्थाअनुसार ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था छ । एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।
यसका मुख्य लगानीकर्ता मलेसियन कम्पनी अजियाटासँग ८० प्रतिशत स्वामित्व छ भने स्थानीय साझेदारका रूपमा भावना सिंह श्रेष्ठसँग २० प्रतिशत छ । यसको पुँजी वृद्धिका लागि औद्योगिक प्रवद्र्धन बोर्डले स्वीकृति दिनुपर्छ र सो स्वीकृतिपछि मात्र एनसेलको सेयर बजारमा आउनेछ । नेपालमा बढी नाफा कमाउने तथा कर तिर्ने कम्पनी पुँजी बजारमा आउँदा भविष्यमा आउने नयाँ कम्पनीलाई पनि सकारात्मक सन्देश दिएको छ । एनसेलले २०६१ साल भदौमा सेवा सञ्चालनको लाइसेन्स पाएको हो । दूरसञ्चार ऐनअनुसार दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्सको अवधि अधिकतम २५ वर्षको हुन्छ । १ करोड ६० लाख ग्राहक भएको कम्पनीले पछिल्ला वर्षमा ५० अर्ब बढी आम्दानी गर्दै आएको छ । कम्पनीको आम्दानी वर्षेनी उच्च गतिमा बढ्दो छ भने सरकारलाई कर तिर्ने कम्पनीमा पनि अग्रस्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्