सुनको मूल्यले एक लाख नाघ्यो «

सुनको मूल्यले एक लाख नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढेर तोलामा १ लाख नाघेपछि नयाँ रेकर्ड कायम गरेको हो । मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर रुपमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतिऔंस २ हजार १४ डलर पुगेको छ । कोभिड–१९ को प्रभावसँगै अमेरिका चीनबीचको द्वन्द्वका कारण सुनको मूल्य बढ्न गएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । कोरोना भाइरसका कारणले लगानीकर्ता सुनमा लगानी गर्न आर्षित भएकाले पनि मूल्य बढ्न सघाउ पुगेको उनको भनाइ छ । सुनको मूल्य लगातार बढेकाले आगामी दिनमा थप मूल्य बढ्न देखिएको उनको भनाइ छ । लकडाउनयता सुनको मूल्य निरन्तर रूपमा उकालो लाग्दै आएको छ । लकडाउनको बेला प्रतितोला ७५ रहेको सुनको मूल्य लकडाउन खुल्दा बढेर ८७ हजार पुगेको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत प्रतिदशग्राम सुनको दुई हजार रुपैयाँ भन्सार बढाएको थियो । भन्सार दर बढेकाले तोलामा दुई हजार तीन सय मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । लकडाउनयता चार महिनाको अवधिमा तोलामा सुनको मूल्य २६ हजार रुपैयाँ बढेको छ । निरन्तर रुपमा सुनको मूल्य बढेपछि स्थानीय बजारमा बजारमा कारोबार ठप्प रहेको छ ।
सुनको मूल्य बढेसँगै बजारमा कारोबार नै ठप्प भएको छ । लकडाउनका कारण लामो समयसम्म बन्द रहेको सुनचाँदी व्यापार पसल खुले पनि मूल्य बढेकाले कारोबार नै शून्य अवस्थामा रहेको व्यवसायीको भनाई छ । सामान्य अवस्थामा दैनिक ३० देखि ४० किलो सुन खपत हुने गरेकोमा अहिले मूल्य बढेकाले मुस्किलले पाँच केजी सुन पनि बिक्री हुन नसकेको व्यवसायीको भनाई छ । असार महिनामा लगनको सिजनमा फाट्टफुट्ट कारोबार भए पनि अहिले पूर्ण रूपमा ठप्प भएको शाक्यले जानकारी दिए । मूल्य बढेकाले नयाँ गहना किन्ने भन्दा पनि पुराना गहना बिक्री गर्न ग्राहक बढी आउने गरेको व्यवसायीको भनाई छ । कोरोना भाइरसको कारणले आम्दानी नहुँदा घरखर्च चलाउनका लागि ग्राहकले पुराना गहना बिक्री गर्न आउने गरेको व्यवसायी बताउँछन् । मूल्य लगातार वृद्धि भई कारोबार नै हुन नसकेपछि व्यवसाय नै धरापमा परेको व्यवसायी बताउँछन् । सधैँजसो ग्राहकको भीडभाड लाग्ने न्युरोडका सुन पसल यति बेला सुनसान रहेका छन । कोरोना भाइरसको कारणले सुनको मूल्य उच्चतम विन्दुमा पुगेपछि सुन व्यवसायी समेत निराश बनेको छन् । अमेरिकी डलरको भाउ बढेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पर्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्