एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा ३ लाख ३४ हजारको आवेदन «

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा ३ लाख ३४ हजारको आवेदन

गैरआवासीय नेपालीहरुले प्रबद्र्धन गरेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा १ अर्ब ४० करोडभन्दा माथिको आवेदन परेको छ । मंगलबार साँझसम्म ३ लाख ३४ हजार २९२ आवेदकबाट एक करोड ४० लाख ५३ हजार ७६० कित्ता सेयरको १ अर्ब ४० करोड ५३ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले गत शुक्रबारबाट हाल कायम रहेको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ३३ करोड ९८ लाख चार हजार ६०० हजार रुपैयाँको आईपीओ बिक्री खला गरेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात् एक लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । त्यस्तै २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८० कित्तामा भने सर्वसाधारणले आवेदन दिने सक्ने कम्पनीको विवतरणपत्रमा उल्लेख छ ।
नेपाल धितपत्र बोर्डले साधारण सेयर बाँडफाँड गर्दा १० पुगेसम्म न्युनतम १० कित्ता सबै आवेदकलाई वितरण गर्नुपर्ने र त्यो भन्दा माथि आवेदन अनुसार सर्बैलाई समान रुपमा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । कम्पनीले बिक्रिमा ल्याएका आईपीओमा ३ लाख १६ हजार १८ जनाले आवेदन दिँदा सबैलाई १० कित्ता सेयर पाउँछन् । त्योभन्दा बढीले आवेदन दिएमा गोलाप्रथाबाट सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । कम्पनीको सेयरमा बुधबारसम्म आवेदन दिन सकिनेछ ।
सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुको साथै मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २०७६ फागुन ४ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले २८.१ मेगावाटको लिखु खोला जलविद्युत आयोजना, ७३ मेगावाटको मिडल तमोर हाइड्रोपावर, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ । कम्पनीको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने छन् । यस्तै पूर्वअध्यक्ष शेष घले कम्पनीको सञ्चालक छन् ।

प्रतिक्रिया दिनुहोस्