‘सेयर बजारमा लहडी लगानीकर्ताले समस्या’

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लहडबाजीमा लगानी गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै यस्ता लगानीकर्ताकै कारण बजारमा समस्या आइरहेको जिकिर गरेका छन् । सेयर बजारसम्बन्धी अनुदार अभिव्यक्तिका कारण बारम्बार चर्चामा रहेका अर्थमन्त्री खतिवडाले आइतबार विराटनगरमा भने– ‘ब्यालेन्स सिट’समेत नहेरी लगानी गर्दा समस्या आउँछ नै, यसलाई अस्वभाविक भन्न मिल्दैन ।
खतिवडाले बजारमा अहिले बजारमा देखिएको गिरावटलाई पनि ‘स्वभाविक’ रहेको संकेत गरे । “आजको भोलि प्रतिफल प्राप्त हुँदैन, लगानी गर्नुभन्दा अगाडि ब्यालेन्स सिट हेर्नुपर्छ,” उनले भने, “ठूला जलविद्युत् आयोजना आउने क्रममा छन् । यससँगै सेयरको आपूर्ति पनि अत्यधिक छ । त्यसो भएकाले माग नबढेसम्म सेयरमूल्य बढ्दैन ।”
अर्थमन्त्री खतिवडाले दोहोरो कर लागू नहुने भन्दै व्यवसायीलाई आश्वस्त बनाउने प्रयास गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा गरेको छलफलमा अर्थमन्त्री खतिवडाले कुनै पनि हालतमा दोहोरो कर लागू नहुने प्रस्ट्याए । “संविधानको परिधिभित्र रहेर संघीय सरकारले कानुन बनाउनुपर्छ,” उनले भने, “एकआपसमा बाझिने कानुन बनाएमा प्रदेश सकारबीच विवाद हुन्छ । त्यस्तो हुन नदिन प्रदेश सरकार चनाखो हुनुपर्छ ।” प्रदेशैपिच्छे कर लाग्छ कि भन्ने त्रासबाट मुक्त हुन अर्थमन्त्री डा. खतिवडाले उद्योगी व्यवसायीलाई आग्रहसमेत गरे ।
उनले करको दरसमेत वृद्धि नगरिने बताए । खतिवडाले औद्योगिक व्यावसायिक ऐन कार्यान्वयन गरेर सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको चर्चा गरे । “निजी क्षेत्र भनेको विकास र समृद्धिको इन्जिन हो,” उनले भने, “निजी क्षेत्रको लगानीबिना मुलुकमा आर्थिक समृद्धि सम्भव छैन ।” निजी क्षेत्रको लगानीबिना दोहोरो अंकको आर्थिक वृद्धि नहुने उनको भनाइ छ । निजी लगानी बढाउन सरकारले सबै किसिमको सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।
अर्थमन्त्री खतिवडाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बताए । तर, गुणस्तरीयतामा भने सम्झौता नहुने प्रस्ट्याए । ल्याब टेस्टबाट पास भएका स्वदेशी उत्पादनको प्रयोगमा सरकार लागि पर्ने बताए । आत्मनिर्भर भइसकेको वस्तुको आयातमा बढी भन्सार दर लगाएर भए पनि पनि स्वदेशी उत्पादनलाई प्रोत्साहित गरिने उनको भनाइ थियो । उनले अब दस्तुरसहितको सेवा होइन मुस्कानसहितको सेवा दिन कर्मचारीहरूलाई आग्रह गरे । “अवैध दस्तुर यदि कोही कर्मचारी र हाकिमले माग्यो भने सिधै मलाई हर्टलाइनमा फोन गर्नुहोस्,” खतिवडाले भने । उनले एकद्वार प्रणालीबाट ठूला आयोजना अगाडि बढाइने बताए । बैंक ब्याजदरमा हुने घटबढको समस्या समाधान गरिने उनको कथन थियो ।
राजस्वसचिव शिशिर ढुंगानाले उद्योगी व्यवसायीका लगानीलाई संरक्षण गर्न सरकार तयार रहेको बताए । छलफलमा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बैंकहरू सेवामुखीभन्दा नाफामुखी भएको गुनासो गरे । “७ प्रतिशतमा ऋण लिएर उद्योगको भौतिक संरचना निर्माण सुरु गर्यो, तर उत्पादन हुने बेलासम्म १४ प्रशित पुगेको हुन्छ,” उनले भने, “ब्याज र किस्ता तिर्दातिर्दै टाट पल्टिने स्थिति छ ।” निर्यातमा नगद अनुदान दिन पनि उनले सुझाव दिए । उनले कर दर नबढाइ दायरा बढाउन आग्रह गरे । करदाताको पहिचान खुल्ने प्रमाणपत्र दिने व्यवस्था मिलाउन पनि सारडाले सुझाव दिए । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले निर्यातमूलक र रोजगारमूलक उद्योगलाई प्राथमिकता दिने नीति ल्याउनुपर्नेमा जोड दिए । उनले साना तथा मझौला र घरेलु उद्योगलाई प्रोत्साहित गर्ने नीति अबलम्बन गर्न सुझाए ।
कार्यक्रममा व्यापार संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवाल, महेश जाजु, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योगी ताराचन खेतान, संगठनका पूर्वअध्यक्ष शिवशंकर अग्रवाल, उपाध्यक्ष सुयष प्याकुरेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ महिला उद्यम समितिकी सभापति सरु केसी, उद्योगी कृष्ण अग्रवाललगायतले लगानीमैत्री नीति ल्याउन आग्रह गरे । जलविद्युत्, रेललगायतका ठूला परियोजनामा मात्रै वैदेशिक लगानी भित्र्याउनुपर्नेमा उनीहरूले जोड दिए ।