५५७ निजी आवास पुनर्निर्माण «

५५७ निजी आवास पुनर्निर्माण

म्याग्दी-२०७२ वैशाखको भूकम्पले क्षति पु-याएको घरमध्ये ५५७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले प्राधिकरणसँग सम्झौताअनुसार हालसम्म ५५७ जनाले आवास पुनर्निर्माण गरेको जानकारी दिए ।
हालसम्म निजी आवास सम्झौताअनुसार सम्पन्न गरेकाले तेस्रो किस्ताको पनि भुक्तानी भएको आयोजना प्रमुख यज्ञप्रसाद रिजालले बताए । निजी आवास पुनर्निर्माणको ५२ प्रतिशत प्रगति भएको छ, भूकम्पले प्रभावितअनुसार कुल लाभग्राही १ हजार ६५ जना थिए, ९५० जनाले सम्झौता गरेर पहिलो किस्ता लगेका छन्, दोस्रो किस्ता ६२५ जनाले सम्झौताअनुसार लगिसकेको आयोजना प्रमुख रिजालले जानकारी दिए । कुल लाभग्राहीमध्ये ११५ जना सम्झौता हुन बाँकी छन् ।
गत आर्थिक वर्षमा पुँजीगत ७७ प्रतिशत र चालूमा ६४ प्रतिशत प्रगति भएको छ, निजी आवासको भुक्तानी चालूबाट भएको कार्यालयले जनाएको छ । हालसम्म बेनी नगरपालिकामा २४६ जना, त्यस्तै गाउँपालिकातर्फ रघुगंगामा ८२ जना, अन्नपूर्णमा ७२ जना, मंगलामा ३१ जना, मालिकामा ३ जना र धौवलागिरिमा ५ जनाले निजी आवास निर्माण गरिसकेका छन् ।
आवास पुनर्निर्माणमा पहिलो किस्ता लगेर धेरैले आँशिक क्षति भएको घरको मर्मत गरेका छन्, प्राधिकरणको स्टिमेटअनुसार घर बनाउँदा घर सानो र पुरानो घर भत्काउँदा बढी खर्च हुने बाध्यताले सम्झौताअनुसार लाभग्राहीहरू दोस्रो किस्ता लिन नआएको आयोजना कार्यान्वयन इकाईले जानकारी दिए ।
सडकअन्तर्गत पर्यटकीयस्थल पुनहिल घोडेपानीमा पर्यटक सहजरूपमा पुग्नका लागि सुविधायुक्त पोखरेबगर, धारखोला, शिख हुँदै घोडेपानीसम्म सडक कालोपत्रे गर्ने योजनाको भौतिक प्रगति ३८ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्