बजार बन्द गर्न वाणिज्य संघको आग्रह

इलामका उद्योगी व्यवसायीहरुले ७ दिन बजार बन्द गर्न आह्वान गरेका छन् । जिल्लाका व्यवसायीहरुको छाता संगठन इलाम उद्योग वाणिज्य संघले कोरोनाको संक्रमण फैलिएपछि एक साता बजार बन्द गर्न आग्रह गरेको हो । चहलपहल र भिडभाड बढेकाले एक साता बजार बन्द गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरिएको वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले बताए । वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध पत्र समेत पठाएको छ । व्यवसायी समेत त्रसित रहेको भन्दै परीक्षणको दायरा बढाउन माग गरिएको सो पत्रमा उल्लेख गरिएको छ ।
बजार खुल्ला गर्दा गाउँगाउँबाट आएका सर्वसाधारण साथै स्थानीयमा समेत त्रास बढेकाले पनि बजार बन्द गर्न आग्रह गरिएको वाणिज्य संघका अध्यक्ष चिपालुले बताए । उनले सुरक्षाका उपाय अपनाउन स्वयम नागरिक नै जागरुप हुनुपर्नेमा जोड दिए ।
कोरोनाको संक्रमण फैलिने भन्दै इलामका दुई सरकारी कार्यालयबाट दिइने सेवा बन्द गरिएको छ । इलाममा सशस्त्र प्रहरीका २७ जनामा कोरोना संक्रमण फेला परेपछि आसपासमा रहेका दुई सरकारी कार्यालय मालपोल र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयबाट दिइने सेवा बन्द भएको हो । सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणका सशस्त्र प्रहरीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नजिक रहेका दुई सरकारी कार्यालय बन्द गरिएको हो ।
छउमै रहेका मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनका लागि बन्द गरिएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिँदै आएको सेवा केही दिनका लागि बन्द गर्न निर्देशन दिएपछि कार्यालय बन्द गरिएको हो ।
कार्यालयबाट आन्तरिक काम गर्ने तर सेवाग्राहीको काम गर्दा भिडभाड बढ्ने भएपछि बाहिरी काम नगर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार मालपोत कार्यालयका कर्मचारीहरुको स्वाब संकलन गरिसकेको र रिपोर्ट नेगेटिभ आएपनि केही दिनका लागि काम बन्द गरिएको जानकारी दिए । शिक्षा कार्यालयबाट समेत कर्मचारीहरुको स्वाब संकलन गरेर लगिएको रिपोर्ट आउन बाँकी रहेको छ ।
सशस्त्र प्रहरीको पछिल्लो पटक पठाइएको रिपोर्ट नआइसकेकाले पनि केही दिन सेवा बन्द गरिएको हो । मालपोत कार्यालयका प्रमुख केशबकुमार ढकालद्वारा जारी विज्ञप्तीमा कार्यालयबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरीका कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा भएका सबैको स्वाब परीक्षणको नतिजा नेगेटिभ आइरहेकाले समुदायमा कोरोना नफैलिएको समितिको निष्कर्ष छ । इलाममा हालसम्म सशस्त्रका २७ गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना समुदाय स्तरमा फैलिएको भन्दै जिल्लाबासी त्रसित छन् । स्थानीयले परीक्षण कम र ढिलो भएका कारण पनि समुदायस्तरमा कोरोना छिरेको थाहा पाउन कठिन भएको बताउँदै आएका छन् ।