पर्यटकीय क्षेत्रमा चहलपहल सुरु «

पर्यटकीय क्षेत्रमा चहलपहल सुरु

स्याङ्जा-कोरोना भाइरसको संक्रमण बढेसँगै सुरु भएको लकडाउनमा सुनसान र बन्द सरह रहेका जिल्लाका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । चहलपहल बढ्न थालेपछि स्थानीय युवाहरुले पर्यटकीय क्षेत्रको सरसफाई गर्न थालेका छन् ।
सामाजिक दूरी कायम गर्दै पर्यटकीय क्षेत्रमा चहलपहल हुन् थालेपछि उक्त क्षेत्रको सरसफाई गर्न थालिएको हो । सुनसान रहेका पर्यटकीय क्षेत्रमा भएको फोहोर संकलन गरेर सफाई गरिएको छ ।
वालिङ् नगरपालिकाअन्र्तगत वण्डरफुल वालिङ पर्यटन विकास संस्थाको अगुवाइमा त्रिनेत्र युवा क्लवको सहयोगमा वालिङ्को पर्यटकीय क्षेत्र बाहुनथानको सफाई गरिएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि नगर क्षेत्रका पर्यापर्यटन उद्यानको सरसफाई थालिएको नगर प्रमुख दिलिपप्रताप खाँणले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्र सिरुबारी, मट्टिखान, भालु पहाड, छाङ्छाङ्दी, बाहुनथान, गह्रौसुर, हरिनाश र रामनदी धाममा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । पर्यटकको चहलपलह बढेसँगै पर्यटन क्षेत्रको सरसफाई गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् ।
सुनसान रहेको पर्यटकीय क्षेत्र भालु पहाडमा आन्तरिक पर्यटकको आउजाउ बढेको स्थानीय शोभाखर ढकालले बताए । दैनिकजसो ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक आउने भालु पहाडमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको ढकालले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्र अवलोकनका लागि क्रमशः पर्यटक आउने क्रम बढ्न थालेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार पर्यटक आउजाउ बढ्न थालेपछि व्यापारिक कारोबार पनि बढ्न थालेको छ ।
जिल्लाका होटल र घरबास खुलेपनि खासै व्यापार त भएको छैन । तर, क्रमशः चहलपहल बढ्न थालेको सिरुबारी होमस्टे सञ्चालक जुम गुरुङले बताए । आन्तरिक पर्यटकले मात्रै होटल र होमस्टे नचल्ने भएपनि चहलपहल सुरु हुनु सकारात्मक भएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्