घलेगाउँको होमस्टे खुला «

घलेगाउँको होमस्टे खुला

लमजुङ-कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको घलेगाउँ होमस्टे भदौदेखि खुल्ने भएको छ । भदौको १ गतेदेखि घलेगाउँमा आन्तरिक पर्यटक आगमन खुल्ला गरिएको घलेगाउँ होमस्टे व्यवस्थापन समितिले जनाएको हो ।
गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण पर्यटकीय घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु आगमनमा रोक लगाइएको थियो । तर, हाल लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटकहरुलाई खुल्ला गरिएको घलेगाउँ पर्यटन समिति अध्यक्ष प्रेम घलेले बताए ।
“अब विस्तारै पर्यटक आगमन खुल्ला गर्ने निर्णय गरेका छौँ ।” अध्यक्ष घलेले भने, “पहिलो चरणमा जिल्ला भित्रका आन्तरिक पर्यटक आगमन मात्रै खुल्ला गर्ने निर्णय भएको छ ।”
सार्क नमूना गाउँको रुपमा विश्वभर चर्चा पाएको लमजुङको पर्यटकीय घलेगाउँमा पहिलो चरणमा जिल्ला भित्रका आन्तरिक पर्यटकलाई मात्रै प्रवेश खुल्ला गरिएको र त्यसपछि कोरोना भाइरस संक्रमणको अवस्था हेरेर अन्य जिल्लाका आन्तरिक पर्यटकलाई प्रवेश दिइने समितिको तयारी छ ।
स्मार्ट भिलेजको अवधारणासहित अघि बढेको घलेगाउँमा चैत यता पर्यटकहरुको आगमन ठप्प भएको थियो । विश्वव्यापी समस्यालाई मध्यनजर गर्दै पर्यटन समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई रोक लगाएको थियो ।
कोरोना भाइरसको विश्वव्यापी त्रास बढेसँगै सरकारले जारी गरेको लकडाउन पछि जोखिम न्युनिकरणका लागि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा रोक लगाएको हो । स्थानीय पर्यटन समितिले लकडाउनका बेला घलेगाउँमा आउने पर्यटक तथा पर्यटक राखेमा नगद जरिवाना समेत गर्ने निर्णय गरेको थियो ।
यद्यपी लकडाउनको अवधीलाई घलेगाउँका पर्यटन व्यवसायीहरुले भने भरपुर सदुपयोग गरेको बताएका छन् । लकडाउनका बेला दीर्घकालिन पर्यटन व्यवसाय लक्षित संरचना सुधार, अर्गानिक कृषिमा वृद्धि, पर्यटकीय चिया बगानको बिस्तार तथा गोडमेललगायतका काम गरेको पर्यटन व्यवस्थापन संयोजक दीर्घ घलेले बताए ।
अघिल्ला वर्षहरुमा परम्परागत संस्कृतिको संरक्षण र प्रर्वद्धनका लागि वर्षकै ठूलो पर्वको रुपमा घलेगाउँ महोत्सव मनाउने गरेपनि यसवर्ष भने कोरोनाको संक्रमण जोखिमसँगै लकडाउनका कारण कुनै पनि कार्यक्रम आयोजना भएन ।
२०५६ सालमा घलेगाउँमा जिल्लामै पहिलो पटक ग्रामीण पर्यटनको अवधारण भित्रिएको हो । दक्षिण एशियाकै नमूना गाउँ, नेपालकै उत्कृष्ट होमस्टे जस्ता उपाधीहरुले पटक–पटक पुरस्कृत भएको घलेगाउँ पछिल्लो समय स्मार्ट भिलेजको अवधारणासहित अघि बढेको छ ।
घलेगाउँमा ३४ घरमा व्यवसायीक होमस्टे सञ्चालित छन् । घलेगाउँका होमस्टे व्यवसायीले प्रतिपरिवार मासिक २५ हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । घलेगाउँको प्राकृतिक सुन्दरता, गाउँमा आएका पाहुनालाई गरिने स्वागत सत्कार, स्थानीय संस्कृति र व्यवस्थित होमस्टेले आफूहरुलाई प्रभावित बनाएको पर्यटकहरु बताउँछन् । घलेगाउँमा पुगेका पाहुनालाई स्थानीय आमा समूहहरुले आफनै संस्कृतिअनुसार स्वागत र बिदाई गर्ने गरेका छन् ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्