तीन जिल्ला जोड्ने पुल सम्पन्न «

तीन जिल्ला जोड्ने पुल सम्पन्न

जुम्ला, डोल्पा र जाजरकोट जोड्ने दानसाँघु पक्की पुलको निर्माणकार्य ९ वर्षपछि सम्पन्न भएको छ । तिलाजवा नदीको दानसाँघु दोभानमा २०६८ साल असार १५ गतेदेखि निर्माणकार्य थालनी भएको थियो भने ६० मिटर लम्बाइको उक्त पक्की पुल २०७१ असार मसान्तसम्म ४ वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । तर विभिन्न प्राविधिक समस्याका कारण ५ वर्ष ढिला भएर २०७७ असारमसान्तमा निर्माणकार्य सम्पन्न गरिएको हो ।
२०७२ सालमा तत्कालीन प्रमुख इन्जिनियर हरिप्रसाद शर्मा बहाल हुँदा ५० प्रतिशत काम भइसकेको पुलको डिजाइन फेल भयो । जसका कारण निर्माणकार्यमा अवरोध आएको थियो । एसबीए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडांैका प्रोपाइटर तारासिंह कठायतका अनुसार प्राविधिक कमजोरीका कारण पहिलो डिजाइन फेल भए पनि पुनः स्टिमेट गर्दा करोडौ खर्च भयो । पुलको बायाँतिरको पिलरको डिजाइन फेल भएको थियो । यद्यपि भू–गर्भ विभागद्वारा माटो परीक्षण गरी काम गर्नुपर्ने भएकाले केही समय लम्बिएको प्रोपाइटर कठायतले बताए ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाले निर्माण कार्यथालनी गरेको पुलको डिजाइन फेल भएपछि पुनः डिजाइन गरी काम सुरु गर्दा समय अवधि लम्बिएको कठायतको भनाइ छ । जुम्ला, डोल्पा र जाजरकोटलाई यातायातसँग जोड्नक निर्धारित समयमै पुल निर्माणको लक्ष्य राखिए पनि विभिन्न कारणले सम्झौताअनुसार काम गर्न नसकिएको स्वीकार गरे ।
मन्त्रालयले करोडौँको आयोजनाका लागि न्यून बजेट विनियोजन गरेकाले निर्माणकार्य ढिलाइ भएको भन्ने पनि नागरिककको बुझाइ छ । स्थानीय सडक तथा पुल कार्यक्रमबाट सञ्चालित आयोजनाको करिब चार करोड पुलको लागत हो । तर भगवती पृथ्वी जेभिका प्रोपाइटर कठायतले ठेक्का प्रणालीअनुसार दुई करोड ८८ लाख ३० हजार सात सय ७६ रुपैयाँमा ठेक्का लिएका थिए । तर खर्च ठेक्काको भन्दा दोब्बर भइसकेको छ ।
जुम्लाको पूर्वमा स्थित गोठीचौर गाउँपालिकामा पर्ने देपालगाउँ, गज्यांकोट, गोठीचौर पाटनसहित डोल्पा र जाजरकोटका स्थानीयलाई पक्की पुल निर्माण भएसँगै यातायातका लागि सहज हुने भएको छ ।
बिरामी अस्पताल पु¥याउनदेखि उत्पादित वस्तु स्याउ अन्नबाली तरकारी फलफूल सदरमुकामको बजार र बाहिर जिल्लाका बजारमा पु¥याउनका लागि पनि पुलले सहज हुने भएको स्थानीय केशव धितालले बताए । उनका अनुसार पुल नबन्दा स्थानीयले नदीमै ट्रयाक्टरबाट सामान ढुवानी गर्थे भने, अन्य नागरिक यातायातको पहुँचमै थिएनन् । तर अहिले गाउँमा अटोसम्म सजिलै जाने भएका छन् । पुल निर्माण भए पनि जुम्लाबासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्