देउवाले दिए ७ बुँदे सुझाव «

देउवाले दिए ७ बुँदे सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारका दोषिलाई कार्वाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
जनस्वास्थ्य विज्ञ र प्रमुख प्रतिपक्षि दलका नेताहरुसँग मंगलबार प्रधानमन्त्रीले बालुवाटारमा गरेको बैठकमा देउवाले प्रधानमन्त्रीलाई ७ बुँदे सुझाव दिएका हुन् ।
सुझावमा देउवाले स्वास्थ्य सामाग्री खरिदमा भएको घोटालाको ढाकछोप नगर्न भनेका छन् । त्यस्तै आरडीटी परीक्षण पूर्णरुपमा रोक्न, प्रत्येक प्रदेशमा थप एकलाख व्यक्तिमा पीसीआर परीक्षणका लागि तत्काल बन्दोबस्त मिलाउन पनि उनले माग गरेका छन् ।
गम्भीर अवस्थामा पुगेका संक्रमितको उपचारमा आवश्यक हुने औषधि रेमडिसिभरको आयात गर्न, आइसोलेसन वार्ड विस्तार गर्न, अस्पतालहरुमा थप भेन्टिलेटरको प्रबन्ध मिलाउनु पर्ने पनि कांग्रेसको माग छ ।
पार्टीका तर्फबाट देउवाले क्वारेन्टिन ब्यवस्थापन, विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धारका लागि पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सीमानाका सिल गर्न, सुरक्षाका लागि मास्क लगाउन अनिवार्यसँगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गर्न पनि देउवाले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । देउवाले परिस्थिति अनुरुपको रणनीति निर्माणका लागि विज्ञसँग नियमित परामर्श गर्न र रणनीतिको चुस्त कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘विभिन्न दल, संघसंस्था र आमसंचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् । उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् । विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् । बर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस्,’ कांग्रेसका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको सुझावमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्