मकै जोगाउन दिनभर र रातभर बारीमा नक्कली बन्दुकले बाँदर भागेन «

मकै जोगाउन दिनभर र रातभर बारीमा नक्कली बन्दुकले बाँदर भागेन

अर्घाखाँची-मानो रोपेर मुरी फलाएर जीविका निर्वाह गर्दै आएका अर्घाखाँचीका कृषकहरू मकै जोगाउन दिन र रातभर मकैबारीमा बस्छन् । दिनभर बाँदर तथा चराचुरुङ्गीले मकै खाँदा किसानहरू जंगली जनावर धपाउन व्यस्त हुन्छन् । अर्घाखाँचीमा मकैमा फौजी कीरा, सलह, बाँदर, बदेल तथा चराचुरुङ्गीले मकै खाएका छन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पटौटीका कृषकहरू बाँदर र बँदेल धपाउनका लागि बारीमै दिन र रातभर जागाराम बस्छन् । दिनभर बाँदरले हैरान पार्छ, रातभर बँदेलले हैरान पार्छ, सुत्न पाइँदैन गणेश घिमिरेले भने । “कोरोना भाइरसका कारण गाउँ–गाउँमा युवाहरू आएका कारण बाँदर र बँदेल धपाउन सहज भएको छ, वृद्धवृद्धाहरू मात्रै हुँदा गाउँमा खाद्यान्नबाली उत्पादन गर्न निकै गाह्रो छ,” घिमिरेले भने ।
मकैले घोगा लाग्दै छ, अझै मकै पाक्न करिब १ महिनाभन्दा बढी लाग्छ, अझै १ महिनासम्म मकै कसरी जोगाउने हो, सपना जस्तै लाग्छ, उनले भने । मकै जोगाउन बारीभरि मान्छेका जस्तै चित्र छन्, घरबाट बारीको तल्लो पाटोसम्म रसी बाँधेर राखेको टिन छ, घरबाटै टिन हल्लाएपछि, बारीमा बज्छ । टिन बज्दा बिहानीको समयमा बारीमा मकै खान आएका चराचुरुङ्गी भाग्छन्, यहाँ चरा, बाँदर र बँदेल आतंकले मकै जोगाउन निकै गाह्रो पर्छ, पाणिनी मैदान लहरधाराका कृषक घनश्याम घिमिरेले बताए ।
पहिला–पहिला गाउँमा बन्दुक थिए, एक कृषकले भने राज्यले बन्दुक नियन्त्रण गरेपछि, घरेलु सामग्री बनाएर बाँदर र बदेल धपाउने प्रयत्न गर्छौँ तर घरेलु औजार र नक्कली बन्दुकले काम गदैँन ।
पटौटीका सामाजसेवी थानेश्वर घिमिरेले भने, “गाउँमा युवाहरू छैनन्, वृद्धवृद्धाहरूले बादर र बँदेल लखेट्न सक्दैनन, जसोतसो मकै बारीमा रोपेपनि जोगाउनै गाह्रो छ, दर्जनौं कृषकका मकै बाँदर बदेलले खाइरहेको छ, जोगाउनका लागि सम्बन्धित निकायले कृषकलाई सहयोग गर्नुपर्छ ।” “जनताले मकै रोप्छन्, उत्पादन भएको मकै खान नपाएमा आगामी वर्ष मकै छर्ने कृषकहरू पनि घट्दै जाने देखिन्छ,” घिमिरेले भने ।
बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषकहरू चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाउँहरूमा बादरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेको हो । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ ।
सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वाङ्गला, डिभर्ना, भूमिकास्थानको धनचौर, ढिकुरा, पाणिनि गाँउपालिकाको पणेना, पाली, धातिवाङ, मालारानीको मरेङ, अर्घातोष, बागीँ र छत्रदेवको केरुङ्गा, बल्कोट, ठुलापोखरा, सितगंगाको सिद्धारा, सिमलपानी, जलुके, जुकेना, सुवर्णखाललगायत जिल्लाका अधिकांश गाउँहरूमा बाँदर र बँदेलले अन्नबाली सखाप पारेको छ । जिल्लाको अत्याधिक वनक्षेत्र भएको शीतगंगा नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरसँगै दुम्सी र बँदेलले समेत अन्नबालीमा बढी क्षती पु-याएको कृषकहरूले बताएका छन् । अर्घाखाँचीमा १६ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी निमबहादुर आचार्यले जानकारी दिए ।
स्थानीय सरकारले वितरण गरेका बन्दुकले काम गरेन
जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्षमा नै छत्रदेव र सन्धिखर्क नगरपालिकाले बाँदर आतंकका लागि हेरालुको व्यवस्था गर्न बजेट छुट्टाए पनि गत वर्ष बाँदर नियन्त्रणका लागि योजना बनाउन सकेनन् । चालु आर्थिक वर्षमा बाँदर र बँदेल नियन्त्रण गर्नका लागि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले बन्दुक खरिद गरेर ल्याएर कृषकलाई वितरण गरेको थियो ।
छत्रदेवले वितरण गरेसँगै सन्धिखर्क, पाणिनीमा पनि नक्कली बन्दुक बाँदर र बँदेल नियन्त्रण गर्नका लागी कृषकहरूले परीक्षण गरे । तर, नक्कली बन्दुकले १-२ दिनसम्म बाँदर भागे पनि तेस्रो दिनबाट भाग्न छोड्यो । छत्रदेव‐६ ठुलापोखराका वडा सदस्य खडान्नद पौडेलले भने, “बाँदर भाग्छ भनेर बन्दुकहरू कृषकहरूलाई बाढ्यौं, तर भागेन कृषकहरू बाँदर हेर्नका लागि हैरान परेका छन् ।”
बाँदर र बँदेल आतंककै कारण जिल्लाबाट बसाइ सर्नेको संख्या बढ्दै गएको छ । जिल्लामा रहेका कृषकहरूले मकै खेती गरेर जीविको निर्वाह गर्दै आए पनि मकैको सुरक्षा गर्न नसकेका कारण चिन्तित भएका छन् । मकै हटाएर अर्घाखाँचीका कतिपय ठाउँका कृषकहरूले भट्ट लगाउन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्