झापामा मिर्गौला रोगी बढे «

झापामा मिर्गौला रोगी बढे

बिर्तामोड – मिर्गौला रोगले सताइएका बिरामीको संख्या झापामा बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाबाट उपचार सहयोगको सिफारिस गरिएका मिर्गौला रोगले सताइएका बिरामीहरूको तथ्यांक हेर्दा यस्तो पाइएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०७०÷२०७१ मा मिर्गौला रोगको उपचार सहयोगका लागि ५२ जनालाई सिफारिस दिइएको थियोे । यसैगरी, २०७१÷२०७२ मा ६५ जना, २०७२÷२०७३ मा ७२ जनाले राज्यबाट उपचार सहयोगका लागि सिफारिस पाएका छन् । यस्तै २०७३ असारदेखि २०७४ फागुन १४ गतेसम्म ४९ जना महिला र ८९ जना पुरुषलाई सिफारिस दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाकी नायव सुब्बा तारा सुवेदीले जानकारी दिइन् ।

मिर्गौला, मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरीजस्ता रोग लागेका बिरामीको उपचारका लागि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसको आधारमा उपचारमा एक लाख रुपैयाँसम्म अनुदान सहयोग दिने गरेको छ । सोही अनुदान पाउनका लागि मिर्गौला खराब भएका बिरामीहरूले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लैजाने भएका कारण तथ्यांक तयार हुने गरेको सुवेदीले जानकारी दिइन् ।
मिर्गौला रोगीहरूको वास्तविक संख्या सिफारिस लैजानेभन्दा ज्यादा हुनसक्ने जनस्वास्थ्य कार्यालय भद्रपुरका प्रमुख मधुसुदन कोइराला बताउँछन् । प्रत्येक हप्ता ३ र ४ जना मिर्गौला रोगीलाई उपचारका लागि सिफारिस गरिएको उनले बताए ।
मिर्गौला खराब भएमा बिरामीले नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । अर्को व्यक्तिले मिर्गौला प्रदान गरेमा र नेपालमै प्रत्यारोपण गराउँदा ४ लाख रुपैयाँ खर्च हुने गरेको र यस्तो अवस्थामा सरकारले दुई लाख रुपैयाँ सहयोग गर्ने गरेको छ । डायलासिसका लागि सरकारले दुई वर्षबाट बढाएर प्रत्यारोपण नहुन्जेलसम्मलाई सम्बन्धित अस्पतालमा सहुलियत गरिदिएको कोइरालाको भनाइ छ ।
झापाका मेची अञ्चल अस्पताल, ओमसाई पाथीभरा अस्पताल भद्रपुर र विर्तासिटी अस्पताल बिर्तामोडमा मिर्गौलाको डायलासिस गर्ने सुविधा भएको र उक्त अस्पतालमा लागेको सम्पूर्ण खर्च सरकारले अस्पताललाई भुक्तानी गरिदिने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले जानकारी दिए ।
मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डण्ट डा. पिताम्बर ठाकुर आहार र बिहारमा नियमित ध्यान दिएका मिर्गौला रोगबाट बच्न सकिने सुझाब दिन्छन् । नियमित मर्निङ वाक र ब्यायाम गर्ने, दुखाई कम गर्ने (पेनकिलर) औषधिहरू जथाभावी नखाने, ब्लडप्रेसर र डायबिटीज नियमित जाँच गरेर नियन्त्रणमा राख्ने तथा दैनिक ३–४ लिटर पानी पिउने गरेमा मिर्गौला बिग्रिन नपाउने उनको सुझाव छ ।
मिर्गौला फेलियर हुने मुख्य कारण ब्लडप्रेसर र डायबिटिज भएको बताउँदै डा. ठाकुरले नियमित स्वास्थ्य परीक्षण नगराउने नेपाली बानीले गर्दा मिर्गौला पूरै खराब नभएसम्म अधिकांशले रोगबारे थाहै नपाउने बताए । पिसाबको इन्फेक्सन भएमा, स्टोन भएर पनि थाहा नभएमा र दुखाई कम गर्ने औषधि लामो समयसम्म खाएमा मिर्गौला खराब हुने उनले जानकारी दिए ।
ब्लडमा युरिया बढेमा मानिसलाई मिर्गौला रोग लागेको थाहा हुन्छ । मिर्गौला रोग लागेको बिरामीको अनुहार, खुट्टा र शरीर सुन्निने, पिसाब कम लाग्ने, थकावट लागिरहने, झाडापखाला र वाकवाकी लाग्नेसमेत लक्षण देखिने डा. ठाकुरले बताए । जनचेतनाको कमीले गर्दा अचेल मिर्गौला रोग बढिरहेको र मानिसहरूको खानपान र आहार बिहार अब्यवस्थित हुँदै गएको उनको भनाई छ ।
तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्