कोरोना कहरमा बाँझो जग्गा सदुपयोग «

कोरोना कहरमा बाँझो जग्गा सदुपयोग

स्याङ्जा-कोरोना भाइरस (कोभिड–१९) का कारण जनजीवन प्रभावित भइरहेका बेला स्याङ्जाको फेदीखोला गाउँपालिकामाभने यसले फाइदा पु-याएको छ । कोरोनाका कारण यसपालि बाँझो जग्गाको सदुपयोग भएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिकामा १ हजार ७ सय रोपनी बाँझो जग्गाको प्रयोगमा आएको छ । ‘खाद्य सुरक्षा, खाद्य उत्पादनमा वृद्धि अयात प्रतिस्थापन’ कार्यक्रमअन्तर्गत पालिका भित्रका १ हजार ७ सय रोपनी बाँझो जग्गामा खाद्य उत्पादन गरिएको हो ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार १ हजार ७ सय बाँझो जग्गामा ६ करोडको खाद्यान्न उत्पादन हुँदा सोही मूल्य बराबरको आयात प्रतिस्थापन हुनेछ । गाउँपालिकाले वैशाखमा खाद्य सुरक्षा कार्यक्रमका लागि सूचना प्रकाशित गरेकोमा पालिकाका ३ सय २४ घरपरिवार लाभान्वित भएका छन् ।

दुई वर्षदेखि बाँझो रहेको जग्गामा खेती गर्नेलाई आफ्नै जग्गामा प्रतिरोपनी २ हजार र भाडामा जग्गा लिएर खेती गर्नेलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदान दिइएको अध्यक्ष सुवेदीले बताए । आर्थिक वर्ष २०६७÷०७७ मा बाँझो जग्गामा खेती गर्नेलाई १७ लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

सबैभन्दा धेरै जग्गामा खेती गरेबापत आरुखर्कका कृषकले ४८ हजार प्रोत्साहन रकम बुझेका छन् । बाँझो जग्गामा कसैले धान, कोदो खेती गरेका छन् भने केहिले व्यावसायिक तरकारी खेती समेत गरेका छन् ।
“कोभिडको महामारीले हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यो लकडाउनमा कृषकलाई प्रोत्साहन गर्ने प्रयास ग-यौ ।” अध्यक्ष सुबेदीले भने, “७५ प्रतिशत अनुदानमा कृषिऔजारसमेत वितरण गरेका छौं भने आधुनिक टनेलका सेट समेत दिएका छौं ।”

खाद्य सुरक्षा कार्यक्रमअन्र्तगत ६ करोडको खाद्यान्न उत्पादन हुनेछ । सोही कार्यक्रमका लागि चालू वर्षका लागि समेत १० लाख रकम विनियोजना गरेको पालिकाले जनाएको छ । लकडाउनका बेलामा मानिसहरू आफ्नो थाकथलोमा फर्किंदा समेत यसपालि खाद्य सुरक्षा कार्यक्रममा उत्साहजनक सहभागिता रहेको अध्यक्ष सुवेदीले बताए ।

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्