बजेट अभावमा सडक निर्माण सुस्त «

बजेट अभावमा सडक निर्माण सुस्त

देशकै व्यापारिक मार्ग र १ नम्बर प्रदेशकै आर्थिक समृिद्धको ढोकाको रूपमा हेरिएको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक बजेट अभावमा प्रभावित भएको छ । पर्याप्त बजेट निकासा नहुँदा ६ लेन सडक निर्माणकार्य सुस्त भएको हो ।
विभिन्न प्याकेजमा निर्माण भइरहेका कार्य बजेट अभावमा सुस्त हुन पुगेको ठेकेदार कम्पनीहरूले बताएका छन् । निर्माण समाग्री, कामदारलाई दिनुपर्ने रकम आयोजनाले ठेकेदारलाई समयमै उपलब्ध गराउन सकेको छैन । सरकारले उपलब्ध गराउने भनिएको बजेट समयमै निकासा नगर्दा आयोजनाले समयमै वितरण गर्न नसकेको रानी–विराटनगर–इटहरी–धरान आयोजनाका इन्जिनियर हर्क प्रधानले बताए । रकम निकासामै ढिलाइ भएकाले काम सुस्त हुन पुगेको इन्जिनियर प्रधान स्वीकार गर्छन् ।
अहिले काम भइरहेको भनिएको इटहरीदेखि तरहरासम्मको सडकमा पनि काम निकै सुस्त गतिमा हुँदै आएको छ । काममा ढिलाइ हुँदा सडकमा राखिएका निर्माण सामग्री र धुुलोका कारण दैनिक यात्रा गर्ने यात्रुलाई भने सास्ती हुने गरेको छ । ड्रेन निर्माणका लागि खनेर सडक किनारमा राखिएको माटो हावाले उडाएर बाटो धुलाम्य हुने गरेको छ । धुलोका कारण रोगको प्रकोप बढ्ने खतरा पनि बढेको छ ।
अहिले काम हुँदै गरेको इटहरीको आँपगाछीदेखि तरहरासम्मको प्रोजेक्टमा पनि ३ महिनादेखि पैसा नपाएको आशिष निर्माण सेवाका प्रोजेक्ट म्यानेजर राजेश बोहोराले बताए । उनले भने, “त्योभन्दा अगाडिको पनि करिब १७ करोड रुपैयाँ पाएको छैन ।” ‘सरकारले पैसा छैन भन्छ हामीले लेबरलगायतका सबैलाई पैसा दिनुपर्छ कहाँबाट ल्याएर दिने ?” उनले प्रतिप्रश्न गरे । काम बन्द गर्नु वा विस्तारै गर्नुको विकल्प नभएको उनको तर्क छ ।
कान्छाराम कन्स्ट्रक्सन काठमाडौंका इन्जिनियर विम्लेशकुमार यादव पनि निमार्णाधीन ६ लेन सडक आर्थिक अभावकै कारण सुस्त भएको बताउँछन् । अहिलेसम्म ऋण लिएर हामीले धानेका छाँै लेबर मिस्त्री र अन्य निर्माण सामग्रीको पैसा तिर्न समस्या भइरहेको उनले सुनाए । सरकारले दिनुपर्ने बजेट चाँडो निकाशा गरिदिए कामले तीव्रता पाउने उनले जानकारी दिए ।

बजेट अभावले काममा ढीला सुस्ती
सरकारसँग बजेट नभएका कारण अहिले तीव्र गतिमा हँुदै आएको काममा केहि ढिलासुस्ती भएको आयोजनाका इन्जिनियर हर्क प्रधानले जानकारी दिए । आयोजनामा रकम समयमै नआउँदा आयोजना प्रमुख र लेखा अधिकृत बजेटका फाइल बोकेर काठमाडौंका मन्त्रालय धाउनुपर्ने बाध्यता छ । आयोजनाका प्रमुख, इन्जिनियरलाई ठेकेदार कम्पनीहरूले दैनिक जसो रकमका लागि ताकेता गरेका कारण अधिकांश समय काठमाडौं तिर नै बस्ने गरेका छन् ।
नेपाल र चीनसँग छोटो मार्गबाट जोड्ने महत्वकांक्षी परियोजनाअन्तर्गत प्राथमिकतामा राखिएको भए पनि योजना सोचे अनुरुप अगाडि बढ्न सकेको छैन । संखुवासभाको किमाथांका नाकाबाट चीनसँग व्यापारिक मार्ग जोड्ने भनेर हालका प्रधानमन्त्री र एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले भाषण गर्ने गरेको भए पनि काममा भने प्राथमिकता दिएको पाइँदैन ।
व्यापारिक महत्वको परियोजना अन्तर्गत पहिलो चरणमा विराटनगको रानीदेखि इटहरीसम्म २९ किमि ६ सय मिटर, नाला र फुटपाथ निर्माणका लागि ११ वटा प्याकेजमा ५ अर्ब ४ करोड ६१ हजारमा ठेक्का लागेर काम भइरहेको थियो । यस वर्ष इटहरीदेखि तरहरासम्म पाँच किमिको ठेक्का लागेको थियो । यो ठेक्का काम पनि अपेक्षाकृत रूपमा अगाडि बढ्न सकेको पाइँदैन । काम बन्द हुँदै, पुनः सुरु हुने क्रम कछुवा गतिमा छ ।
यता, सुनसरीको दुहबी बजार खण्डमा भने मापदण्डअनुसारको जग्गा सरकारले उपलब्ध गराउनै नसक्दा निर्माणका लागि टेन्डरसमेत आव्हान हुन सकेको छैन । बजार क्षेत्रको जग्गा अधिग्रहण गर्न सक्दा टेन्डरका लागि आव्हान नै गर्न नसकेको आयोजनाले जनाएको छ ।
दुहबी खण्डको ६३० मिटर सडकका लागि मापदण्डअनुसार जग्गा अधिग्रहणका लागि फाइल मन्त्रालयमा बुझाए पनि हालसम्म कुनै निर्णय नआएकाले काममा ढिलाइ भएको आयोजनाले बताउने गरेको छ । दुहबी बजार खण्डमा १७७ घर भत्काएर २ बिघा जग्गा अधिग्रहण गरेपछि मात्रै सडक बीचबाट १५-१५ मिटर कायम हुनेछ ।
विराटनगरदेखि धरानसम्मको कुल ४९ किमि सडक आव ०७५-७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको थियो । बहुवर्षीय परियोजना अन्तर्गत पहिलो चरणमा विराटनगरको रानीदेखि इटहरीसम्मको कुल ३० किमि सडक विस्तारको कामअघि बढेको थियो ।

 –विवेक भट्टराई 

प्रतिक्रिया दिनुहोस्