भालुपहाडमा बुलेट बाइकसहित बेपत्ता भएका पंकज भेटिए «

भालुपहाडमा बुलेट बाइकसहित बेपत्ता भएका पंकज भेटिए

स्याङ्जा- बुलेट बाइकसहित एक महिनादेखि बेपत्ता स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. २ भालुपहाडस्थित भिरमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिए ।
पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले पहिचान गरेको कणेलको भनाइ छ । यसअघि आइतवार सिद्धार्थ राजमार्ग भन्दा ५÷६ सय मीटर तल भालुपहाडको फेदी स्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गतेदेखि बुलेट मोटरसाईकल सहित बेपत्ता भएका थिए । पुतलीबजार नगरपालिकाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम पटक सम्पर्कमा आएका उनी त्यही दिनदेखि बेपत्ता रहेका थिए ।
खोलामा माछा मार्न गएका व्यक्तिले खोलामा मोटर साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीसहितको टोली सोमबार बिहानैबाट पंकजको खोजीमा जुटेको थियो । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा बस्दै आएका मृतक गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिँडेको आफन्तको भनाइ छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्