ओलीले अर्को चुनाव एमालेबाट लड्लान् ? «

ओलीले अर्को चुनाव एमालेबाट लड्लान् ?

निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) कै ब्यानरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव लड्ने दाबी एक नेताले गरेका छन् । नेकपा स्थायी कमिटी बैठक निरन्तर स्थगित हुँदै गएकोबारे टिप्पणी गर्दै दर्ता प्रक्रियामा रहेको नयाँ एमाले पार्टीका एक शीर्ष नेताले यस्तो बताएका हुन् ।
हुन त यसअघि साउन ९ गते पुष्पलालको ४२ स्मृतिमा प्रचण्डले पनि यसको संकेत गरेका थिए । उनले अर्का अध्यक्ष ओलीकै सक्रियतामा पूर्व एमाले पार्टी दर्ता गरिएको र पार्टी संकटमा भएको बताएका थिए । ती नेताका अनुसार कि त ओलीले पार्टीलाई एमालेको नीति जनताको बहुदलीय जनवाद पार्टीका निर्देशक सिद्धान्त बनाउनेछन्, कि त पार्टी फुटाएर त्यो पार्टीमा जानेछन् । एक वर्षपछि नभए दुई वर्षपछि ओली यही पार्टीमा आउने उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरू सक्रिय भएर लागेको अभिव्यक्ति दिएपछि प्रचण्डसहित अन्य नेताहरूसँग उनको सम्बन्ध बिग्रिँदै गएको देखिएको छ । प्रचण्डमात्रै नभई पार्टीका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समेतले प्रधानमन्त्री ओली पदमा बस्न योग्य नभएको भन्दै पार्टी बैठकमा दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
त्यो विवाद चर्किएर पार्टी फुट्ने अवस्थामा पुगेको छ । पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच आइतबार बसेको बैठक पनि निष्कर्षविहीन सकिएको छ ।
यसअघि असार १० गते सुरु भएको स्थायी कमिटी बैठक तनावपूर्ण भएपनि दुई अध्यक्ष भने संवादमै थिए । नेकपाले विवाद मिलाउने जिम्मा पनि दुई अध्यक्षलाई दिएको थियो । तर प्रचण्ड र ओलीबीच कुनै वार्ता नभएको पार्टीका नेताहरूले बताएका छन् ।
दुई अध्यक्षको बढ्दो तनावका कारण ५ दिनपछि बसेको बैठकले पार्टी गतिरोधलाई कुनै निकास दिने गरी निर्णय गर्न सकेको छैन । आइतबारको यो बैठकलाई निर्णायक बनाउन अध्यक्ष प्रचण्डले महासचिव बिष्णु पौडेल मार्फत् निकास दिने गरी बस्न ओली समक्ष सन्देश पठाएका थिए ।
प्रधानन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार गत साउन १३ गतेयता दुई अध्यक्षबीच संवाद भएन । यसैबीच पार्टीका उपाध्यक्ष बामदेव गौतममार्फत् ६ बुँदे प्रस्ताव अगाडि सारिएको थियो । त्यसपछि ओलीले गौतमको घरमा १३ गते डिनर गरी ‘डिनर पोलिटिक्स’को राजनीतिक प्रहार गरे ।
साथै ओलीले पूर्व माओवादी नेताहरूसँग एक्लाएक्लै भेट्ने नीतिलाई अगाडि बढाए । पूर्व माओवादी नेताहरूको भनाइबाट ओली हौसिएका छन् । पार्टीका कतिपय नेताले गौतमको ६ बुँदे प्रस्तावको कुनै अर्थ नभएको बताउन थालेका छन् । उनीहरूका अनुसार पार्टी र सरकार विधि प्रक्रियामा चल्ने गरी थिति बसाल्नुपर्ने आवश्यकता छ ।
यसैबीच सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले आफू निकटका पार्टीका नेताहरूसँग छलफल गरे । पार्टीमा ओली, प्रचण्ड र माधव नेपालपछिको बलियो समूहको नेताको रूपमा रहेका गृहमन्त्री थापाले पार्टी बैठकमा बीचको लाइन लिएकाले ओलीलाई सहज भएको पार्टी निकटका नेताहरूको भनाइ छ ।
पार्टीमा विचार, नीति, विधि र प्रक्रियाको बहसलाई अगाडि बढाएर पार्टीभित्र देखा परेको द्वन्द्व समाधान गर्नुपर्ने पार्टीका नेताहरूको भनाइ छ । पार्टीका दुबै अध्यक्ष निकटको सम्बन्ध कायम गर्ने एक नेताका अनुसार एकीकरणका बेला बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादको विषयलाई थाँती राखेर समसामयिक विचारमा बहस अगाडि बढाउँदै जाने र प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षको पद व्यवहारमा छोड्ने सहमति भए पार्टी एकबद्ध भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस्