लाखौ रुपैयाँले सडक काटियो, तर दुःख काटिएन

थकाइले रातो पीरो अनुहार, शिरबाट तप्पतप्प चुइरहेका पसिना, पिठ्युँमा ४० केजीको भारीसहित ३ घण्टाको उकालो बाटो हिँड्दै गरेकी शनिगाँउ फुंग्रकी लाउरी बुढा । ४५ वर्षकी उनी सिंजाको नराकोट बजारबाट घरमा चाहिने दैनिकी खाद्यन्न बोकेर स्याँस्याँ र सुईसुई गर्दै उकालो हिँड्दै थिइन् ।
उनीसँगै नराकोट बजारबाट सामान लिएर गएका १० जनाभन्दा बढी महिलाको पनि हालत उस्तै थियो । नराकोट बजारबाट साविकको शनिगाँउका सबै वडामा पुग्न कम्तीमा पनि २ घण्टाको उकालो बाटो हिँड्नु पर्छ । बल्लतल्ल गाउँसम्म सडकले त छोएको छ, तर साँगुरो र भत्किएको सडकका कारण सवारी चल्न नसक्दा स्थानीयको पैदल यात्राको अवस्था भने जारी छ ।
भारीसहित ३० वर्ष यता यही बाटोमा उकाली, ओराली गर्दै गरेकी लाउरीले भनिन्, “म १० वर्षको उमेरदेखि यही बाटोमा यसरी भारी बोकिरहेकी छु, अब हाम्रा दिन गए, तर पछिल्लो पुस्ताले एक बोरा चामल बोकेर यसरी पैदल यात्रा गर्न नपरोस्” । उनीजस्तै त्यहाँका सबै स्थानीयको अपेक्षा यही छ, गाउँमै खाद्यन्न ढुवानीसहितका सवारी पुगेको देख्न ।
“पैसाले गाउँसम्म सडक त काटियो, तर सवारी नपुग्दा हाम्रा दुःख भने काटिएन,” ४० वर्षीय विष्णुकली रोकायाले भनिन्, “चुनावको बेला विभिन्न आश्वासन बाँड्दै घरदैलोमै भोट मागेर तिजेका नेताले गाउँगाउँसम्म सडक विस्तार र मर्मतमा जोड दिँदैनन्, जनताको मर्का कसले बुझ्ने ।”
शनिगाँउ, गोरा, फुंग्र, भाटगाँउलगायतका उक्त क्षेत्रका महिलाले यसरी बजारबाट सामान बोकेर ल्याउने कार्यदेखि घरको सबै गाह्रो काम आफै गर्नुपर्छ । यहाँका सबै युवा ब्यापारको सिलसिलामा कालापहाड र रोजगारीको सिलसिलामा विदेशिएका छन् । घरमा वृद्धवृद्धा र बालबालिका मात्र भएपछि त्यहाँका महिलाहरू सधै गाह्रो काम गर्न बाध्य भएका हुन् ।
“पिठ्यँुमा भारी र पेटमा ७ महिनासम्मको गर्भ बोकेरै उकाली ओराली गर्छौ, यो रहर नभई बाध्यता हो, श्रीमान् सँधै धन कमाउन कालापहाड जान्छन्, मैले मेरा दुई सन्तानलाई यसरी जन्म दिएँ,” राममाया रोकायाले भनिन् । यता सिँजा गाउँपालिकाले शनिगाँउ क्षेत्रमा सडक विस्तार र मर्मतका लागि बजेट विनियोजन भइसकेको जनाएको छ । सो क्षेत्रमा सडक विस्तार आयोजना गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । शनिगाउँपालिका–६ का वडाध्यक्ष मुनबहादुर रावतले यस आवभित्रै गाउँमा सवारी पुराउने दाबी गरेका छन् ।
उनले भने, “शनिगाँउसम्म सडक मर्मत गरी सवारी सञ्चालनका लागि २० लाख रकम छुट्याइएको छ, छिट्टै सवारी पुग्छ, नागरिकले यसरी भारी बोक्ने दिन अब सकिनेछन्, सवारी साधानबाट गाउँमै खाद्यन्न तथा ब्यापारिक सामग्री पुग्नेछ ।” अन्य गाउँगाउँसम्म सडक विस्तार कार्य तीव्र गतिले अघि बढ्ने उनले बताए ।
–सागर परियार