लकडाउनमा दोलखाका सहकारीको साढे ३ करोड छुट «

लकडाउनमा दोलखाका सहकारीको साढे ३ करोड छुट

दोलखा-कोरोना भाइसरको रोकथामका लागि सरकारले गरेको लकडाउनका समयमा दोलखाका सहकारी संस्थाहरुले आफ्ना सेयर सदस्यहरुलाई साढे ३ करोड बढीको छुट दिएका छन् । लकडाउनको समयमा सदस्यको रोजगारी गुमेको र व्यवसाय समेत नचलेको भन्दै सहकारीहरुले राहतस्वरुप बचत र ऋणमा छुट गरेका थिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथामका लागि सरकारले चैत ११ देखि साउन पहिलो हप्तासम्म लकडाउन भएको थियो । सहकारीहरुले लकडाउन भएदेखि असार मसान्तसम्मको हिसाबमा साढे ३ करोड बढी छुट दिएका जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिए ।
लकडाउन भएदेखि दोलखाका सहकारीहरुले लकडाउन अवधीको पाकेको व्याजमा १० प्रतिशत छुटदेखि हर्जना छुट र बचतमा ब्याज थपसम्मका सुविधा सेयर सदस्यलाई दिएका थिए । लकडाउनको समयमा सहकारीहरुले आफैंले निर्णय गरेर कतिपयले विगतका हर्जना सतप्रतिशत छुट गरे भने कतिले प्रतिशत खुलाएर गरेका थिए ।
सबैभन्दा बढी छुट दिनेमा बैतेश्वर गाउँपालिका वडा नं. ५ काब्रेमा रहेका जनसचेतन बचत तथा ऋण सहकारी संस्था (साकोस) र जनमुखी साकोस रहेका छन् । जनसचेतनले ऋणमा व्याज र हर्जनामा ७० लाख २२ हजार र बचत ढिला हुँदा लाग्दै आएको हर्जना १० लाख ४० हजार ६ सय गरी ८० लाख ६२ हजार ६ सय छुट गरेको हो । त्यसैगरी जनमुखीले ऋणको हर्जनामा २६ लाख र व्याज छुट २४ लाख गरी ५० लाख छुट गरेको व्यवस्थापनक भेषबहादुर मिजारले जानकारी दिए ।
जिरीमा रहेको एकीकृत फ्रेण्डसिपले व्याज र हर्जना गरी ३४ लाख ६३ हजार छुट दिएको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ चरिकोटमा रहेको मिलीजुली कालिञ्चोक साकोसले ३० लाख २२ हजार ६ सय छुट गरेको छ । दोलखामा लकडाउन लगत्तै मिलीजुलीले सदस्यहरुलाई छुट घोषणा गरेको प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए । चरिकोटमै रहेको हाम्रो जनकल्याण साकोसले २९ लाख ७० हजार छुट गरेको छ ।
तामाकोसी गाउँपालिका वडा नं. १ भीरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारीले २४ लाख ९८ हजार छुट गरेको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ७ सुनखानीमा रहेको आनन्ददायक बहुउद्देश्यीय सहकारीले १६ लाख ४८ हजार छुट गरेको छ ।
गौरीशंकर गाउँपालिका वडा नं. २ जुँगुमा रहेको जनउपकार साकोसले १० लाख छुट गरेको छ । चरिकोटमा रहहेको जनहित बहुउद्देश्यीय सहकारीले ९ लाख ७० हजार छुट दिएको छ भने चरिकोटकै गौरीशंकर बहुउद्देश्यी सहकारीले १२ लाख छुट गरेको छ । चरिकोटमै रहेको अर्को अर्थभूमि साकोसले ८ लाख छुट गरेको छ । अर्थभूमीले बचतमा समेत व्याज थप गरेको अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए । त्यसैगरी बैतेश्वर गाउँपालिका वडा नं. ३ मिर्गेको जनजागरण साकोसले १ लाख ५० हजार छुट गरेको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष चौलागाईले जिल्लाभर सञ्चालित सबै सहकारीले आफ्ना सदस्यहरुलाई छुट दिएको बताए । “ठूला सहकारीहरुबाट हामीलाई छुटको तथ्यांक आए तापनि साना सहकारीहरुको पनि तथ्यांक आउने क्रम जारी रहेको छ” उनले भने “सबैको तथ्यांक आउँदा छुट साढे ३ करोडभन्दा बढी हुन सक्छ ।” कोरोनाको महामारी कायमै रहेकाले अधिकांश सहकारीहरुले हर्जना छुटलाई कायमै राखेका छन् । साउनयता धेरैले व्याज समेत घटाएका अध्यक्ष चौलागाई जानकारी दिए ।
दोलखाको जनसचेतन र मिलीजुली साकोस एशियास्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त सहकारी हुन् । हाम्रो जनकल्याण पनि एक्सेस ब्रोन्ज ब्राण्ड प्राप्त सहकारी हो । दोलखाको शिक्षक कल्याण, जनमुखी र एकीकृत फ्रेण्डसिप नेपालस्तरको प्रोबेसन ब्राण्ड प्राप्त सहकारी हुन् । प्रोबेसनमा दोलखाको जनउपकार, जनजागरण र अर्थभूमी सहकारी पनि प्रतिस्पर्धामा रहेका सहकारी हुन् । दोलखामा सहकारीको ९ अर्बभन्दा बढी पुँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्