मज्जुवामा एकीकृत बस्ती «

मज्जुवामा एकीकृत बस्ती

स्याङ्जाको सदरमुकामस्थित मज्जुवामा एकीकृत बस्ती बन्ने भएको छ । जिल्लामै पहिलो पटक सदरमुकाम पुतलीबजार नगरपालिका–३ स्थित मज्जुवामा एकीकृत बस्ती बन्ने भएको हो ।
नगर विकास ऐन, २०४५ को दफा १२ अनुसार झण्डै १ सय ५ जना स्थानीयको करिब १ सय २० रोपनी जग्गाप्राप्ति गरेर एकीकृत बस्ती बस्ने भएको छ । विस्तृत परियोजना प्रतिवेदनसहित जग्गा एकीकरणको प्रस्ताव सहरी विकास मन्त्रालयबाट स्वीकृत गरिएको छ ।
“एकीकृत जग्गालाई अब चक्लाबन्दीपछि स्थानीयलाई जग्गा हस्तान्तरण गरी बस्ती विस्तार गरिने भएको छ ।” मज्जुवा फाँट एकीकृत उपभोक्ता समितिका अध्यक्ष राजेश श्रेष्ठले भने, “झण्डै १२ करोड ४५ लाखको लागतमा एकीकृत बस्ती बसाउन सकिन्छ ।”
नगर विकास ऐन, २०४५ को दफा ३, ८ र १६ को कानुनी व्यवस्थाअनुसार जग्गा एकीकरण आयोजना सञ्चालनमा छ । परियोनाले आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिकको अन्त्यबाट एकीकृत बस्ती विस्तारको काम सुरु गर्नेछ ।
परियोजनालाई आवश्यक पर्ने जग्गाप्राप्ति गरेर एक वर्षका लागि रोक्का गरिएको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार परियोजनाले प्राप्ति गरेको जग्गा चक्लाबन्दीपछि जग्गाधनीलाई हस्तान्तरण गरिनेछ । जग्गाधनीले जग्गाप्राप्ति गरेपछि बस्ती बसाउन थालिने श्रेष्ठले बताए ।
एकीकृत बस्ती बसाउन प्रदेश सरकार र नगरपालिकाले बजेटको व्यवस्था गरिदिनेमा अध्यक्ष श्रेष्ठ आशावादी छन् । उनले भने, “प्रदेश सरकार र नगरपालिकाले चक्लाबन्दीका लागि सहयोग गरे स्थानीयले आफै बस्ती बसाउन सक्ने थिए ।” जग्गाको आसपास भएर बग्ने बाडखोला र अरौदीखोला तटबन्ध गर्न खर्चिलो भएको श्रेष्ठले बताए ।
मज्जुवा फाँट जग्गा एकीकरण आयोजनाले जिल्लामै पहिलो पटक एकीकृत बस्ती बनाउने भएपछि स्थानीय उत्साहित छन् । ५ रोपनी खुल्ला जग्गासहितको एकीकृत बस्ती बनेपछि खासगरी सरकारी कर्मचारीलाई बस्तीमा ल्याउन पहल गरिने स्थानीयको योजना छ ।
ऐनको दफा १२ को उपदफा १ को २ बमोजिम कम्तीमा ५१ प्रतिशत जग्गाधनी वा मोहीहरूको सहमतिमा कित्तालाई एकीकरण गरी नगर योजनाअनुरूप सेवा सुविधाको व्यवस्था गर्ने र त्यस्तो सेवा सुविधाको व्यवस्था गर्दा लागेको खर्च विकसित घडेरीहरू बेची असुल गर्ने भन्ने कानुनी व्यवस्था भएकाले स्थानीयले एकीकृत बस्ती बसाउन लागेका हुन् ।

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्