कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन निर्माण सम्झौता «

कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन निर्माण सम्झौता

सुर्खेत-लामो समयदेखि चर्चित कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारणलाइन निर्माणका लागि ठेक्का प्रक्रिया टुंगिएको छ ।
गत आर्थिक वर्षको अन्तिममा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी गतअसार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ सँग सम्झौता गरेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले विद्युत् लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगातका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्नेछ । आयोजनाका प्रमुख रवीकुमार चौधरीका अनुसार पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रुख कटानलगायतका काम हुनेछन् । उनका अनुसार कोहलपुरदेखि सुर्खेतसम्म कुल एक सय ४५ वटा पोल रहनेछन् । जसमा २६ वटा एंगल टावरको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार आयोजना क्षेत्रको उचाइगत फरक एक सय ६० मिटरदेखि एक हजार एक सय १५ मिटरसम्म रहेको छ । प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ । जसमा प्रसारण लाइनको ७०.५४५ भागवनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाझो जमिन, तथा ११.०६५ अन्य भागले ओगटेको छ । विद्युत् प्रसारणलाइन विस्तार कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुई सय २५ वर्गमिटर हुनेछ ।
आयोजना कार्यान्वयन गर्दा कुल ९८.०५७९ हेक्टर जग्गामा टावर निर्माण, सबस्टेसन तथा क्षेत्राधिकारको लागि आवश्यक पर्नेछ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सबस्टेसन निर्माणका लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ । त्यस्तै आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकबेसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् ।
आयोजनाको सुरुवाती लागत ७० करोड कायम गरिएको छ । झण्डै ७० करोड रकममा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको हो । आयोजना कार्यान्वयनको चरणमा प्राविधिक कठिनाइ नआएको खण्डमा तोकिएकै समयमा काम सम्पन्न हुने प्रमुख चौधरीको भनाइ छ । विद्युत् प्रसारण लाइनको विस्तार गर्दा झण्डै सात हजारभन्दा बढी रुख कटान हुनेछन् । आयोजनाका प्रमुख चौधरीले दिएको जानकारी अनुसार कोहलपुरदेखि सुर्खेतसम्म सात हजारभन्दा बढी रुख काटिने भएका हुन् । निकुञ्ज क्षेत्र भएर लाइन विस्तार हुने भएकाले पनि धेरै रुख काट्नुपर्ने अवस्था आएको हो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग रुख कटानका लागि अनुमति मागिएको र वातावरण मन्त्रालयमा फाइल पेस भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै रुख काट्न सुरु गरिने आयोजनाका प्रमुख चौधरीले जानकारी दिए । रुख कटानको अनुमति नपाउँदासम्म निर्माण कम्पनीले प्राविधिक काम गर्नेछ । आयोजनाको कुल लम्बाइ करिब ५१.४६२ किलोमिटर डबल सर्किटको रहने छ ।
२०४५ सालदेखि १३२ केभीए प्रसारणलाइन सुर्खेतसम्म ल्याउन पहल गरिएको भए पनि लामो समयसम्म विद्युत् लाइन विस्तार हुन सकेको थिएन । पछिल्लो समय आयोजना विस्तारका लागि सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विशेष पहल गरिरहेका थिए । कर्णाली प्रदेश सरकारले समेत प्राथमिकतामा राखी संघीय सरकारलाई निर्माणका लागि माग गरेकोमा गत आर्थिक वर्षमा बजेट विनियोजन भएको हो । आयोजना बनेपछि कर्णाली प्रदेशमा ठूला उद्योग तथा कलकारखाना स्थापनाको ढोका खुल्ने स्वास्थ्य राज्यमन्त्री रावतको भनाइ छ । उनले यो आयोजना प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको बताए । हालको प्रसारणलाइन भरपर्दाे नहुँदा उपभोक्ताले समस्या झेल्दै आएका छन् । १३२ केभीए लाइन विस्तार भएपछि विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्