बजार खुल्यो, व्यापार भएन «

बजार खुल्यो, व्यापार भएन

धनगढी-चार महिनापछि लकडाउन खुलेको छ । बजारमा मानिसहरुको चहल–पहल बढेको छ । पसल, रेष्टुराँ, होटल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरु खुलेका छन् । कोरोना भाइरसका संक्रमित पनि दिनानुदिन थपिँदै गएका छन् । निको भएर घर फर्किने संक्रमणमुक्तहरुको संख्या पनि बढीरहेको छ । बजारमा चहल–पहल देख्दा व्यापार व्यवसाय लयमा फर्किसकेको जस्तो देखिन्छ ।
तर, आमनागरिकको आयस्रोत घटेको र कोरोनाको त्रास बाँकी नै रहेकाले अहिले दैनिक उपभोग्य वस्तु बेच्ने पसलबाहेकमा व्यापार हुन सकेको छैन । किराना, डेरी, तरकारी तथा फलफूल पसलमा सामान्य व्यापार भइरहेको भएपनि पहिलेको तुलनामा निकै कम व्यापार भएको व्यवसायीहरु बताउँछन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बजारमा पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नरहेको बताए । उनले बजारमा स्थानीय नागरिकको चहल–पहल भएपनि बजारमा किन बेचको माहोल अझै बन्न नसकेको बताए ।
लामो समयदेखि बजार खुलेको भएपनि स्थानीयहरुले लकडाउनमा गर्न नपाएको काम गर्न हिँडेकाले बजारमा चहल–पहल देखिएको अध्यक्ष कुँवरले बताए । उनले बजारमा व्यवसायीहरुलाई आफूले खान लाउनका लागि मात्रै रकम उठिरहेको बताए ।
कपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक्स, फर्निचर, पुस्तक तथा स्टेशनरी लगायतका पसल तथा वर्कसप, गार्मेन्ट लगायतका उद्योगहरुको व्यापार अझै हुन सकेको छैन । टुर एण्ड ट्राभल्सहरुको व्यापार शुन्य नै छ ।
यसैगरी, लकडाउन खुलेसंगै कैलालीका ७५ प्रतिशत भन्दा बढि होटलहरु खुलेका छन् । तर दैनिक चिया, खाजा खुवाउने बाहेकका होटलहरुमा व्यापार हुन सकेको छैन । व्यवसायीहरुले चिया तथा खाजा पसल रेष्टुराँमा नगन्य मात्रामा व्यापार भइरहेको बताएका छन् । होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले रेष्टुराँहरु फाटफुट रुपमा चल्न थालेको भएपनि लज र ठूला होटल चल्न नसकेको बताए ।
उनले हाल खुलेका होटलहरुका सबै कर्मचारीहरुलाई समेत काममा नफर्काइएको बताउँदै काममा आएका कर्मचारीलाई सरसफाई तथा होटल सेनिटाइजेशन सम्बन्धी तालिम दिइरहेको बताए । उनले होटलको टेबल, रुम र समग्र होटल सेनिटाइज गर्न कर्मचारीलाई तालिम दिइरहेको बताए ।
होटल व्यवसायी संघ कैलालीले जिल्लामा करिब १० अर्ब भन्दा बढी लगानी रहेको जिल्लामा १२५ दिनको लकडाउन अवधिमा साढे तीन अर्ब व्यापार घाटा भएको जनाएको छ । व्यवसाय बन्द रहेकाले व्यवसायीलाई ऋणको व्याज तिर्न, सरकारलाई कर तिर्न र दैनिक गुजारा समेत चलाउन गाह्रो हुन थालेपछि कोरोनासँग लड्दै व्यवसाय खोल्न थालेको संघले जनाएको छ ।
“व्यवासय सधैंभरी बन्द राख्न नसकिने स्थिति रहेकाले होटलहरु खोलेका छौं” अध्यक्ष बमले भने, ‘सधैंभरी लकडाउन भएमा करोडौं ऋण लिएर होटल चलाएका व्यवसायीहरुलाई निकै समस्या हुने भएकाले होटल खोलिरहेका छौं ।”
व्यवसायीहरुले होटल खुलेको भएपनि होटल चल्ने वातावरण अझै बन्न नसकेको बताएका छन् । धनगढीमा होटल फ्लोरा सञ्चालन गरेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले होटलमा मुस्किलले २–४ जना मात्रै आइरहेको बताए । उनले मानिसहरुले घुम्ने, रमाउने वातावरण अझै नबेको हुनाले होटल व्यवासय अझै चल्न नसक्ने देखिएको बताए । यद्दपि, होटल बन्दै राख्न सक्ने स्थिति पनि नरहेको बताए ।
अध्यक्ष कुँवर र अध्यक्ष बम दुवैै जनाले स्थल तथा यातायात र अन्तर्राष्ट्रि«य हवाई सेवा तथा नाकाहरु नखुलेसम्म होटल व्यवासय चल्न नसक्ने बताउँछन् । उनीहरुले ती यातायात, हवाई सेवा र नाका खुल्नका लागि कोरोना संक्रमण शुन्य हुनुपर्ने भएकाले तत्काल व्यसाय गर्ने वातावरण पनि बन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्