‘मेरो सेयर’को एकाउन्ट नवीकरण पनि अब ई–सेवाबाटै «

‘मेरो सेयर’को एकाउन्ट नवीकरण पनि अब ई–सेवाबाटै

सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले अब ‘मेरो सेयर’ एकाउन्ट नवीकरणको भुक्तानी पनि ई–सेवाबाटै गर्न सक्ने भएका छन् ।
यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवाले मेरो सेयरको एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।
योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नवीकरण गर्न सकिने ई–सेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए । ई–सेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् ।
नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल र कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्