सिद्धार्थनगर सिटी साइक्लिङ प्रतियोगिता हुने «

सिद्धार्थनगर सिटी साइक्लिङ प्रतियोगिता हुने

भैरहवामा आगामी शनिबार साइक्लिङ च्याम्पियनसिप हुने भएको छ । भैरहवाबाट प्रकाशित न्यूज ओके पत्रिकाको पाँचौ वर्ष प्रवेशको आयोजनामा सिद्धार्थनगर सिटी साइक्लिङ च्याम्पियनसिप २०७७ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
रुपन्देहीको सिद्धार्थनगर क्षेत्रलाई खेल पर्यटनको माध्यमबाट पनि चिनाउने उद्देश्यले साइकल दौड आयोजना गरिएको न्यूज ओके पत्रिकाको प्रकाशन गृह पोर्ट मिडिया प्रालिका अध्यक्ष बिमल सेन्चुरीले बताए । उनले साइकल दौड स्वास्थ्य तथा वातावरणको कारणले पनि राम्रो रहेकाले प्रतियोगिता उत्कृष्ट बन्ने दावी गरे ।
४० किलोमिटरको दूरीमा राखिएको साइकल दौड प्रतियोगिता सिद्धार्थ नगरपालिकाबाट सुरु भएर रोहिणी गाउँपालिका, ओम सतिया गाउँपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिका हुँदै पुनः सिद्धार्थ नगरपालिकामा आएर अन्त्य हुनेछ । दौड धेरै लामो भएकोले सबै प्रकारका साइकल प्रयोग गर्न पाइने छैन । प्रतियोगिताको दूरी लामो भएको र प्रतिष्पर्धात्मक भएकाले माउन्टेन बाइसाइकल चलाउन सकिनेछ ।
भैरहवा क्षेत्रका साथसाथै छिमेकी नगर तथा गाउँपालिकाका साइकल यात्रीहरु सहभागी हुन पाउने अध्यक्ष सेन्चुरीले जानकारी दिए । दुई प्याटर्नमा आयोजना हुने दौडमा ४५ वर्ष मुनिका उमेर समूह र ४५ वर्ष माथिका उमेर समूहका व्यक्तिलाई समावेश गरिने पोर्ट मिडियाका प्रबन्ध निर्देशक विक्रम मल्लले बताए ।
दौडमा प्राविधिक सहयोगमा साइकल सिटी भैरहवा रहेको छ । साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य सारु मगरले दौडको माध्यमबाट खेल तथा पर्यटनको क्षेत्रमा सिद्धार्थनगरको पहिचान बढाउनु साथै साइकल चलाउन सबैलाई आकर्षण गराउन समेत यस्ता प्रतियोगिता आयोजना हुनु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाइले प्रतियोगिता रचनात्मक भएको र यसले रोजगारीका अन्य पाटाहरु पनि सिर्जना गर्ने बताए । कम्तिमा ५० जनाको सहभागिता रहने यस दौडमा दुवै उमेरगत समूहका विजेतालाई नगद पुुरस्कार र ट्रफी प्रदान गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्