ललितपुर महानगरपालिकाले पार्क निर्माण गर्ने «

ललितपुर महानगरपालिकाले पार्क निर्माण गर्ने

ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा पार्क निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरपालिकाले हरियाली र पानीजन्य योजना (ग्रीन एण्ड ब्लू प्रोजेक्ट) अन्तर्गत ललितपुरको विभिन्न स्थानमा पार्क निमार्णको कामलाई तीव्रता दिएको हो । सोही योजनाअन्तर्गत महानगरपालिकाले जावलाखेल डबलिमा पार्क निमार्ण गर्न लागेको छ ।
सोमबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जन एक कार्यक्रमबीच उक्त पार्कको शिलान्यास गरे । ठेकेदार कम्पनी केबी कन्स्ट्रक्सनले ९४ लाख ६१ हजार ४ सय ८४ रुपैयाँमा निमार्ण गर्न लागेको ‘जावलाखेल पार्क’ बालमैत्री र अपाङ्गमैत्रीका साथै जेष्ठनागरीक मैत्री समेत हुने छ । पार्कको शिलान्यास गर्दै महानगरपालिकाका मेयर महर्जनले भोटेजात्रा भन्दा अघि नै पार्क निर्माण गर्न निर्देशन दिए । उनले पार्क निर्माण गर्दा गुणस्तरका साथै समय सीमालाई समेत ध्यान दिन आग्रह समेत गर्दै भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा जेष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको बताए । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई जेष्ठ नागरिकहरुसँग परिचय गराउने योजना महानगरपालिकको योजना छ ।
जावलाखेल डबलिमा पार्क निमार्ण गर्न जेठ २३ गते निर्माण सम्झौता भएको थियो । भदौ २५ गतेसम्म निमार्ण सम्पन्न गर्ने कार्य तालिका छ । महानगरपालिकाका मेयर महर्जनले ग्रीन एण्ड ब्लू प्रोजेक्टअन्तर्गत ललितपुरको विभिन्न स्थानमा पार्क निर्माणको काम भइरहेको जानकारी समेत दिनुभएको छ । उनले यसभन्दा अगाडि करिब ४ स्थानमा पार्क निर्माण भइसकेको जानकारी दिए । उनले निकट भविष्यमै अन्य स्थानमा समेत निर्माण गर्न लागेको जानकारी दिए ।
महानगरपालिकाले ललितपुर शहरलाई वातवरण सुधार, सार्वजनिक जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको छ । भने सडकका विभिन्न स्थानलाई साइकल मैत्री बनाउन साइकल लेन समेत विस्तार गरिसेको छ ।

 

प्रतिक्रिया दिनुहोस्