मेलम्चीको खानेपानी, बन्दै रामकहानी «

मेलम्चीको खानेपानी, बन्दै रामकहानी

राष्ट्रमा जिम्मेवार निकायहरू गैरजिम्मेवार बन्दा आज अकालमा मानिसहरूले सुरुङमा मृत्युवरण गर्नुपरेको तीतो यथार्थ जीवितै छ ।

मेलम्चीको खानेपाली काठमाडौंमा ल्याई काकाकुल काठमाडौंवासी, फोहोरी र धुलाम्बे सडकलाई पखालेर फोहोरी काठमाडौंलाई मोहोरी सहरका रूपमा रूपान्तरण गरी समृद्ध राष्ट्र बनाउने संकल्प लिएर नेपाली कांग्रेसका सन्त नेता एवं पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका स्व. कृष्णप्रसाद भट्टराईले २०४८ सालबाट सुरु भएको मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने सपना सिर्जना गर्नुभयो । त्यसयता नेपाल सरकारका कति जना प्रधानमन्त्री बन्नुभयो, कति जना त्यस ठाउँबाट संसद् बन्नुभयो, कति जना संसदले यसै खानेपानीलाई चुनावी नारा र मुद्दा बनाई जिते, तर मेलम्ची खानेपानी जनताका लागि केवल रामकहानी मात्र बनिरह्यो । थाहा छैन, आगामी दिनहरूमा पनि कहिले सपना साकार हुन्छ भनेर ?
हालका प्रतिनिधिसभा सदस्य एवम् खानेपानी मन्त्री माननीय बिना मगरज्यूले एक कार्यक्रममा २०७६ साउनमा भनेको अभिव्यक्ति आज पनि मलाई ताजा नै छ । उहाँले भन्नुभएको थियो, “मेलम्ची खानेपानी आयोजना निर्माण अन्तिम चरणमा आइसक्यो । यसै वर्षको दसै यानेकि २०७६ साल असोज महिनामा काठमाडौंवासीको करिब ३० वर्षसम्मको पर्खाइको घडी समाप्त हुनै लाग्यो । अब काठमाडौंवासीको सपना साकार भयो ।”
सोहीअनुरूप सिन्धुपाल्चोक, मेलम्चीका बासिन्दाले पनि बेहुली अन्माएसरह काठमाडौंलाई छोरी पठाएको घोषणा गर्नसम्म पनि भ्याएका थिए । असोज, कात्तिक मंसिर बित्दै आज पुनः अर्काे दसैं आउनै लाग्यो, तर मेलम्ची कता आयो भन्ने कसैलाई पत्तोअत्तो छैन ।
राष्ट्रिय गौरवको यो आयोजनाको निर्माण कार्य प्रारम्भ भएयता विभिन्न समयमा विभिन्न प्रकृतिका ठेक्कापट्टा, घुसखोरी, कमिसनतन्त्र, ठेक्का रद्द गर्ने फेरि कमसल कम्पनीसँग ठेक्का सम्झौता गरी राज्यले ठूलो धनराशि यस आयोजनामा खर्चिएको छ । यस आयोजनाको नाममा बजेट निकासा गर्ने तर विनियोजन गरेअनुरूप कार्य सम्पादन र सुपरिवेक्षण नहुने भएकाले आज काठमाडौंवासी बासिन्दाले स्वच्छ र सफा खानेपानी पिउन पाउने आफ्नो अधिकार प्राप्तिबाट वञ्चित भएका छन् ।
पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको देहावसान भएको यतिका वर्ष भइसक्दा पनि उहाँले कल्पना र उहाँको अगुवाइमा १७ अर्बको लागत अनुमान गरिएकोमा हालसम्म करिब ३५ अर्बभन्दा बढी बजेट खर्च भइसक्दा पनि राष्ट्रिय गौरवको आयोजना भने कहिले काठमाडौं आइपुग्ने हो, थाहापत्तो छैन । राष्ट्रमा जिम्मेवार निकायहरू गैरजिम्मेवार बन्दा आज अकालमा मानिसहरूले सुरुङमा मृत्युवरण गर्नुपरेको तीतो यथार्थ जीवितै छ । आयोजना निर्माणमा भएको लापरबाही र ढिलासुस्तीले खानेपानीको चरम अभावमा बसिरहेका काठमाडौंवासीलाई देखाइएको सपना र पूर्वप्रधानमन्त्री भट्टराईले देखेको सपना पूरा हुनेमा अझै पनि शंका नै रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्