जलविद्युत्मा लगानी अवसरबारे बेइजिङमा गोष्ठी

चिनियाँ लगानीकर्ता र नेपालका केही कम्पनीका प्रतिनिधिहरूको सहभागितामा बेइजिङमा नेपालको जलविद्युत् आयोजनामा लगानीको अवसरबारे गोष्ठी आयोजना गरिएको छ ।
नेपालको दूतावास बेइजिङमा जलविद्युत् लगानी तथा विकास कम्पनी, उत्पादन कम्पनी र राष्ट्रिय प्रशारण कम्पनीका साथै चीनको राष्ट्रिय ऊर्जा प्रशासनका साथै निजी क्षेत्रका कम्पनीका प्रतिनिधिहरूको सहभागितामा गोष्ठी भएको हो । गोष्ठीमा नेपालको जलविद्युत् उत्पादन, प्रशारण र वितरणमा लगानी गर्न उपयुक्त अवसर भएको बताउँदै यसका लागि चिनियाँ कम्पनीहरूलाई आग्रह गरिएको थियो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सन्देश पठाउँदै नेपालको जलविद्युत् विकासमा लगानी र सहकार्य गर्नका लागि आग्रह गरेको बताउँदै यसका लागि उपयुक्त अवसर आएको सन्देश पढेर सुनाइएको थियो ।
कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा राजनीतिक स्थिरता आइसकेकाले ढुक्क भएर नेपालको जलविद्युत्मा लगानी गर्न चिनियाँ कम्पनीलाई आग्रह गरेका थिए । उनले जलविद्युत्मा लगानीका लागि सरकारले उपयुक्त औद्योगिक वातावरण र नीति रहेको बताउँदै लगानीका लागि आग्रह गरेका थिए । उत्पादन कम्पनीका बोर्ड सदस्य डा. सुरेन्द्रकुमार उप्रेतीले नेपालको नीति र कानुनी व्यवस्थाबारे जानकारी दिँदै लगानीका लागि आग्रह गरेका थिए । राष्ट्रिय ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले सन् २०२५ भित्र नेपालले १ हजार ५ सय प्रशारणलाइन आयोजना निर्माण गर्न लागेकाले यसमा लगानीको प्रशस्त सम्भावना रहेको बताए । जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जलविद्युत् आयोजनाहरूमा स्रोत व्यवस्थापन र परिचालनका लागि जलविद्युत् आयोजनाहरूमा लगानी बढाउनु आवश्यक रहेको बताए ।