एसियाकै लामो झोलुंगे पुल सञ्चालनमा «

एसियाकै लामो झोलुंगे पुल सञ्चालनमा

बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको एसियाकै लामो झोलुंगे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे बनेको ५ सय ६७ मिटर लामो झोलुंगे खुल्ला गरिएको हो ।
७ करोड ९७ लाखमा निर्माण सम्झौता भएको पुल साझौता अवधिभन्दा एक वर्ष पहिले नै निर्माणकार्य सम्पन्न भएको थियो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत पुल निर्माणको जिम्मा हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो । ३ महिना अगाडि निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरण हुन सकेको थिएन । कोरना महामारीका कारण पुल हस्तान्तरण हुन नसके पनि सर्वसाधारणका लागि शुक्रबारबाट खुला गरिएको बाग्लुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । निर्माण सम्पन्न भएपछि विभागका इन्जिनियरहरूको टोलीले पुलको निरीक्षण गरेका थिए । टोलीले पुलको सबै अवस्था ठीक रहेको बताएपछि सर्वसाधारणका लागि खुला गरिएको नगरप्रमुख पौडेलले बताए । पौडेलका अनुसार कोरोनाको त्रास अन्त्य भएपछि पुल औपचारिक रूपमा उद्घाटन गरिनेछ ।
कोरना भाइरस (कोभिड–१९) को विश्वव्यापी त्रास र नेपालमा चैत ११ गतेदेखि लगाइएको लकडाउनको बीचमै काम सकेको हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले बताए । “हामीले कामलाई गुणस्तरीय र छिटो गर्ने प्रयत्न गरेका छौं,” खड्काले भने, “हामीले लकडाउनमा समेत पुल निर्माण गर्न रोकेनौँ ।” वैशाखको सुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारी गरिएको थियो । “लकडाउन र कोरनाको जोखिमका कारण पुल औपचारिक हस्तान्तरण गर्न नसके सर्वसाधारणका लागि खुला गरिएको छ,” खडकाले भने ।
कालिगण्डकी नदीमाथि निर्मित उक्त पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो छ । निर्माण सम्पन्न भएसँगै विश्वकै लामो पुलको रूपमा समेत चर्चा हुन थालेको छ । हालसम्म चार सय ९७ मिटर लामो पुल स्विट्जरल्यान्डमा भएको भेटिएको र यो पुल पाँच सय ६७ मिटर लामो भएकाले विश्वकै अग्लोको रूपमा दाबी गरिएको छ । अन्यत्र योभन्दा लामो पुल भेटिएन भने गिनिज बुक वर्ल्ड रेकर्डमा दर्ता गराउन पहल गरिने नगरप्रमुख पौडेलले बताए । पुलको एकपटकमा ६ सय १२ जना (८५ मेट्रिक टन) धान्न सक्ने क्षमता छ । नेपालमा बनेका झोलुंगे पुलहरूभन्दा लामो भएका कारण यही पुल निर्माणका लागि चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन ल्याइएको थियो ।
दुई दशक अगाडिदेखि चर्चामा रहेको उक्त पुल लठ्ठा तान्ने मेसिन र बजेटको समस्या हुँदा काम अगाडि बढ्न सकेको थिएन । पुल सञ्चालनमा आएपछि डेढ घन्टाको पैदल यात्रा पन्ध्र मिनेटमा छोटिएको छ । दुई जिल्ला जोड्ने यस पुलको निर्माणले पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिकस्तर उकास्नका लागि पनि सहयोग पुग्ने छ । बागलुङ जिल्लाको पर्यटन प्रवर्दनका लागि पुल सहयोगी बन्ने बागलुङ नगरप्रमुख पौडेलले बताए । कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले कृषि क्षेत्रको ब्यवसायीकरण तथा पर्यटनको क्षेत्रको विकासमा यसले महत्वपूर्ण फाइदा पुग्ने बताए । पाङको अदुवाबारी जोड्ने पुलसम्म सामान पु¥याउनका लागि करिब एक सय मिटर बाटो बनाउन यस व्र्ष वडा कार्यालयले डेढ लाख रुपैँया बजेट विनियोजन गरेको बताए । बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्गमार्फत डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ । कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोरमाथि पुल बनेकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्