गुफा संरक्षण गर्न स्थानीय सक्रिय «

गुफा संरक्षण गर्न स्थानीय सक्रिय

द्वापर युगको इतिहास बोकेको धार्मिकस्थल शिवकुटीको संरक्षण र संवद्र्धनका लागि स्थानीय सक्रिय भएका छन् । डडेल्धुराको सदरमुकामनजिकै अमरगढी– ७ पोखरामा रहेको शिवकुटीसँगै रावलतोली गुफा छ । पोखरा बजारनजिकै उग्रतारा माविसँगै जोडिएको शिवकुटी र रावलतोली गुफा संरक्षण तथा प्रवद्र्धन गर्न राजनैतिक दलका अगुवा एवं सरकारी निकायले चासो नदिँदा जीर्ण तथा अस्तित्व नै मेटिने खतरामा पुगेपछि स्थानीय आफैं सक्रिय भएका हुन् ।
डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल उग्रतारा भगवती मन्दिरको गुठी जमिनमा शिवकुटी र रावलतोली गुफा अवस्थित रहे पनि पछिल्लो समय गुठीको जमिन दिनानुदिन अतिक्रमण हुदै गएपछि स्थानीय जुर्मुराएका हुन् । धार्मिक तथा ऐतिहासिकस्थल संरक्षणका लागि स्थानीयले बारम्बार आवाज उठाए पनि सम्बन्धित निकाय, संघ, संस्था एवं राजनैतिक दलका अगुवाले चासो नदिँदा अस्तित्व नै गुम्ने खतारामा पुगेकाले क्षेत्र विकास समिति नै गठन र दर्ता गरी हाल आएर स्थानीय आफैं संरक्षण र संवद्र्धनमा जुटेको रावलतोली शिवकुटी गुफा क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर साँकीले बताए । गत वर्षदेखि शिवकुटी, रावलतोली जोड्ने सडक निर्माण गरी उग्रतारा मन्दिरसम्म जोडिएको बाटोलाई फराकिलो बनाइनुका साथै शिवकुटीमा भगवान शिव, पार्वती, गणेशको मूर्ति तथा साँढे र शिवलिंग निर्माण गरिएको छ । शिवकुटीमा एक सय आठ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गर्ने अभियान पनि गत वर्ष्देखि नै सञ्चालन गरिएको अध्यक्ष साँकीले बताए । शिवकुटीमा अहिले भगवान शिव, पार्वती, गणेश, साँढेको मूर्ति, शिवलिंग, शौचालय र आवासका लागि एक कोठासहितको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
शिवकुटी रावलतोली गुफा संरक्षण संवद्र्धनका लागि यस वर्ष स्थानीय सरकारले दुई लाख रुपैयाँ विनियोजन गरेको समितिले जानकारी गराएको छ । अघिदेखि भइरहेका विभिन्न कार्यमा स्थानीयले चन्दा तथा भेटी सहयोग गरी साधुसन्त समेतको दिनचर्या कटाई रहेका थिए । अहिले पनि अमरगढी ६, ७ र ८ का घरधुरीबाट मासिक रूपमा अन्न र भेटी संकलन गरिरहेको समितिका सदस्य हरि खड्काले बताए । अमरगढी–७ मा रहेको एतिहासिक धार्मिक पवित्रस्थल स्थानीयको चपेटामा पर्न थालेपछि राज्यको ढुकुटी मानिने गुठी जमिन संरक्षणसँगै धार्मिक ज्ञान फैलाउनका लागि अमरगढी–६ र ८ का स्थानीय अग्रसर भएको खडकाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्