लगानीकर्ताको जोखिमपूर्ण पैसा र धितोपत्र बोर्ड «

लगानीकर्ताको जोखिमपूर्ण पैसा र धितोपत्र बोर्ड

कुनै नियामक निकायबाट स्वीकृति लिएको हुनु नै दिएको पैसा वा लगानी सुरक्षाको ग्यारेन्टी हुनु हो भन्ने बुझ्न सकिँदैन ।

“सेयर किन्न चाहने लगानीकर्ताले किन्न चाहेको सेयरको अनुमानित मूल्यको २५ प्रतिशत रकम अग्रिम रूपमा सेयर ब्रोकरलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यो व्यवस्था नयाँ लागानीकर्तालाई बाध्यतै छ भने पुराना र कारोबार गरिरहेका लगानीकर्तालाई ब्रोकरले आफैं जोखिम मोलेर स्वविवेकले छुट दिने गरेको पनि पाइन्छ । अग्रिम रूपमा बुझाएको सेयरको रकमले आजै सेयर किनिन्छ भन्ने कुनै निश्चत छैन । चाहेको मूल्यमा सेयर नपाउन पनि सकिन्छ । सेयर किनिन एक दिन, दुई दिन, तीन दिन, महिनौं  पनि लाग्न सक्छ । चाहेको समयमा सेयर खरिद नहुन पनि सक्छ । यो पूरै समय पैसा ब्रोकरको खातामा नै रहने गर्छ ।” सेयर तालिमका क्रममा मैले यो कुरा बताइरहँदा एक सहभागीले प्रश्न तेस्र्याए— “हामीले यसरी ब्रोकरलाई दिएको पैसाको सुरक्षा कसरी हुन्छ ?” मैले उनलाई प्रश्नको थप व्याख्या गर्न भनें । उनले थपे, “मानौं सेयरब्रोकरले सेयर नकिनी भागेमा हाम्रो पैसा के हुन्छ ?”
कसैसँग गरिने पैसाको कारोबारमा डुब्ने कुराको विश्लेषण वा अनुमान गर्न सामान्य रूपमा भाग्ने शब्द हामीकहाँ बढी प्रयोग हुने गर्छ ।
“बहुत राम्रो प्रश्न गर्नुभयो, यदि ब्रोकर कम्पनी ताला लगाएर भागे नै छ भने हामीले त्यसरी दिएको पैसाको सुरक्षाका लागि अहिलेसम्म कुनै पनि उपाय छैन । हामीले दिएको पूरै पैसा डुब्न पनि सक्छ ।” उनको प्रश्नलाई थप सजिलो बनाउँदै मैले भनें, “यदि भागेनछ भने पनि पैसा अर्को कारणले पनि डुब्न सक्छ, त्यो हो— ब्रोकर कम्पनी टाट पल्टेमा ।” यसको अर्थ सेयर ब्रोकर कम्पनीले लिएको ऋण तिर्न नसके वा नियमित घाटामा गएका कारण पनि टाट पल्टन सक्छन्, जुन कुन मितिमा टाट पल्टिन्छ भनेर पहिल्यै थाहा पाउने कुरा हुँदैन । जसरी भर्खरै श्रीराम सुगर मिल्स बन्द भयो । केही दिनअघिसम्म यो बन्द हुँदैछ भन्ने जानकारी पक्कै पनि हामीलाई थिएन । सेयर ब्रोकरले मार्जिन ऋणको कारोबारको अनुमति पाएका छन्् । यसका लागि पनि ब्रोकरले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुपर्ने हुन्छ । यस्तै आफ्नो दैनिक कारोबारका लागि पनि ब्रोकरले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम ऋण लिएका हुन्छन् । यस्तै व्यवसाय विस्तारका लागि पनि ऋण लिएका हुन सक्छन् । यस्ता अनेक कारणबाट लिएको ऋणका कारण ब्रोकर कम्पनी डुबेमा वा बन्द भएमा लगानीकर्ताले सेयर खरिदका लागि बुझाएको पैसा फिर्ता पाउने कुनै ग्यारेन्टी छैन । सेयर किन्नलाई दिएको पैसा मात्र हैन, सेयर बिक्री गरेर ब्रोकरबाट पाउन बाँकी पैसाको पनि ग्यारेन्टी हुन्न । यी सबै पैसा डुब्न सक्छन् । तपाईं–हाम्रो पैसा डुब्नलाई सेयर किन्नैपर्छ वा सेयर किनेको कम्पनी नै डुब्नुपर्छ भन्ने छैन । अहिलेसम्म यस प्रकारको पैसाको कुनै बिमा गरिएको छैन । न त लगानीकर्ताले पैसा बुझाउने ब्रोकरको वित्तीय अवस्था बुझ्नका लागि उनीहरूका वित्तीय विवरण हेर्न सक्ने व्यवस्था नै धितोपत्र बोर्डले गरेको छ । लगानीकर्ताले कारोबार गर्न चाहेको वा गरिरहेको सेयर ब्रोकर कम्पनीको वित्तीय अवस्था हेर्न सकिँदैन । यस्ता वित्तीय विवरण सेयर ब्रोकर वा धितोपत्र बोर्डको वेबसाइटमा राख्ने व्यवस्था हुनु जरुरी छ ।
तालिमकै अर्को प्रसंगमा पोर्टफोलियो निर्माण र यसको सेवाका सन्दर्भका बारेमा सेवाशुल्क लिएर पोर्टफोलियो (लगानी) व्यवस्थापन गरिदिने स्वीकृतिप्राप्त कम्पनीका बारेमा जानकारी दिन सुरु गरें । सेयर बजारमा आफ्नो पैसा आफैं लगानी नगर्ने हो भने सेवाशुल्क बुझाएर पोर्टफोलियो व्यवस्थापन (लगानी व्यवस्थापन) को काम अनुमतिप्राप्त संस्थाहरूलाई पनि दिन सकिन्छ । मैले यी जानकारी दिइरहँदा एक सहभागीले अर्को गम्भीर प्रश्न तेस्र्याए । उनले भने, “यी संस्थालाई पोर्टफोलियो व्यवस्थापन गर्न पैसा दिने तर संस्था भागे के गर्ने ?” उनले थप प्रस्ट्याउँदै भने, “मानौं भागेनछ, तर टाट पल्टे वा डुबे हामीले लगानी गर्नका लागि दिएको पैसाको सुरक्षा कसरी हुन्छ ?” उनको गम्भीर शंकाको निवारणका लागि नियामक निकायले तयार पारेको कानुनी जवाफ मसँग थिएन । मैले भनें, “त्यसको कुनै बिमा छैन । यदि कम्पनी डुबेछ भने हाम्रो पैसा डुब्न पनि सक्छ ।” यस्ता संस्था डुब्नु अन्तर्राष्ट्रिय बजारमा समान्यजस्तै हुने गर्छ । हाम्रो बजारमा पनि त्यसको सम्भावना रहन्छ । कुनै नियामक निकायबाट स्वीकृति लिएको हुनु नै दिएको पैसा वा लगानीको सुरक्षाको ग्यारेन्टी हुनु हो भन्ने बुझ्न सकिँदैन । स्वीकृति लिनु कानुनी मान्यता प्राप्त गर्नु हो, तर पैसाको सुरक्षाको ग्यारेन्टी हुनु होइन ।
धेरैलाई जिज्ञासा लाग्न सक्छ, यो पैसाको बिमा भनेको के हो ? उदाहरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिले बचत, मुद्दती खाता खोलेर राखेको ३ लाख रुपैयाँसम्म पैसाको बिमा हुन्छ । यो बिमा निक्षेप तथा कर्जा सुरक्षण कोष (डिपोजिट एन्ड क्रेडिट ग्यारेन्टि फन्ड) मा गरिएको हुन्छ । जसबापत निक्षेपकर्ताले कुनै शुल्क तिर्नु पर्दैन । बिमा गर्दा लाग्ने शुल्क बैंकले नै बेहोर्छन् । यदि बैंक तथा वित्तीय संस्था टाट पल्टे, डुबे वा बन्द भए हामीले त्यस्ता संस्थामा खाता खोलेर राखेको ३ लाख रुपैयाँसम्म पैसा फिर्ता हुने निश्चित हुन्छ ।
यसरी नै धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त संस्था जस्तो सेयर ब्रोकर, पोर्टफोलियो व्यवस्थापन गर्ने कम्पनी, डिलरलाई लगानी गर्ने सिलसिलामा लगानीकर्ताले दिएको निश्चित रकमसम्मको पैसा तथा उनीहरूको पोर्टफोलियोको बिमा गरिन्छ । यदि ती संस्था टाट पल्टे यसरी बिमा गरेर ग्यारेन्टी प्रदान गरेको रकमबराबरको पैसा सुरक्षित हुन्छ र बिमा गर्ने संस्थाबाट फिर्ता हुन्छ । उदाहरणका लागि ब्रोकरलाई दिएको वा लिन बाँकी २० लाख रुपैयाँसम्मको सुरक्षण भन्ने हुन सक्छ । यस्तै पोर्टफोलियो व्यवस्थापन कम्पनीलाई पोटफोलियो व्यवस्थापन गर्न दिएको वा भएको पोर्टफोलियोको २० लाख रुपैयाँसम्म सुरक्षण भन्ने हुन सक्छ ।
तर महŒवपूर्ण कुरा, लगानीकर्ताको हितको संरक्षण गर्न भनेर खुलेको नेपाल धितोपत्र बोर्डले २८ औँ वार्षिक उत्सव मनाउँदासम्म पनि लगानीकर्ताको पैसा र लगानीको सुरक्षाका बारेमा कति पनि सोचेको देखिँदैन । यी संस्थालाई दिएको पैसा संस्था टाट पल्टेका कारण हुने जोखिमबाट सुरक्षित छ भन्ने आत्मविश्वासका साथ लगानी गर्ने वातावरण अझै पनि बनेको छैन । र, धितोपत्र बोर्डले त्यो वातावरण बनाउने प्रयाससम्म गरेको देखिँदैन । सेयरको मूल्य घटबढबाट सिर्जना हुने जोखिम वा नोक्सानको बिमा गर्न नसकिएला, तर यस्ता संस्थालाई दिएको पैसा र लगानीको ग्यारेन्टी गर्न सकिन्छ, बिमा गर्न सकिन्छ । यसका लागि लगानीकर्ता संरक्षण कोषको निर्माण तत्काल गर्नुपर्ने हुन्छ, जसमा बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा सुरक्षणकोषलाई निक्षेपको बिमा शुल्क बुझाएको मोडलमा सेयर ब्रोकर, लगानी व्यवस्थापक तथा डिलरले गर्ने कारोबारका आधारमा लगानीकर्तालाई भार नपर्ने गरी निश्चित बिमा शुल्क बुझाउन सक्ने व्यवस्था गर्न सकिन्छ । र, यो काम नियम बनाएर तत्काल निक्षेप तथा कर्जा सुरक्षण कोषलाई दिन पनि सकिन्छ ।
अहिले लगानीकर्ता संरक्षण कोष नाम गरेको एक कोष कम्पनी रजिस्टारको कार्यालयअन्तर्गत लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ अन्तर्गत सञ्चालित छ, जसमा लगानीकर्ताले पाँच वर्षसम्म पनि नबुझेको नगद लाभांश तथा प्राथमिक निष्कासनमा सेयर भरेर फिर्ता नलिएको पैसा जम्मा हुने व्यवस्था छ । नाम त्यही भए पनि यो कोषले लगानीकर्ताका माथि उल्लिखित समस्या र जिज्ञासाको समाधान गर्दैन र यसको कामभित्र त्यो उल्लेख छैन । यसैले लगानीकर्ताको पैसाको सुरक्षा हाल रहेको कोषले गर्न सक्दैन । लगानीकर्ताका माग सम्बोधनको जवाफ दिने क्रममा केही समयअघि नेप्सेले लगानीकर्ता संरक्षण कोष पहिल्यै स्थापना भइसकेको र लगानीकर्ताको लगानीको सुरक्षा भएको भ्रम पूर्ण जवाफ दिएको थियो ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस्