कहिले होला नेपाल क्षयरोगमुक्त ? «

कहिले होला नेपाल क्षयरोगमुक्त ?

काठमाडौं –तथ्यांकले भन्छ– नेपालमा १० देखि १३ हजार क्षयरोगी अझै पनि उपचारको पहुँचमा आएका छैनन् । यसको अर्थ क्षयरोग अर्थात् टिबी नियन्त्रण गर्न सरकारी निकाय कमजोर बन्दैछ ।
विश्व स्वाथ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् । क्षयरोगीको संख्या हाल ६० हजार रहेको आँकलन गरिएको छ । नेपालमा आर्थिक वर्ष २०७३-२०७४ मा ३१ हजार ७६४ क्षयरोगी पत्ता लागी सरकारी नीतिअनुसार उपचार भइरहेको छ । बाँकी रोगी उपचार अभाव वा पहुँच बाहिर छन् । यसलाई आधार मान्ने हो भने करिब १३ हजार क्षयरोगी बिरामी थपिने गरेका छन् । यि बिरामीलाई कसले उपचार गर्ने ?
सरकारले क्षयरोगका लागि ९० प्रतिशत सफलता हासिल गरेको भए पनि सन् २०३५ सम्म टिबी रोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धता गर्न चुनौती दिने देखिएको छ । सरकारले क्षयरोगका लागि ९० प्रतिशत सफलता हासिल गर्नु अन्य देशको तुलनामा सफल मानिन्छ । तर सरकारले स्पष्ट रुपमा बाहिर सार्वजनिक रुपमा नभने पनि आर्थिक रूपले क्रियाशिल नेपालको कुल जनसंख्याको ४० प्रतिशत मानिस सुशुप्त किसिमको क्षयरोग रहेको छ । हाल स्वाथ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वाथ्य प्रणालीमार्पmत् २०७३-२०७४ मा ४ हजार ३२१ उपचार केन्द्र, ९६ वटा सहरी डिओटिएस केन्द्र उपचार सेवा तथा ६०४ निदान केन्द्र, २७ जीन एक्पर्ट केन्द्र र २ राष्ट्रिय प्रेषण प्रयोगाशाला मार्पmत क्षयरोग उपचार प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग कार्यक्रमको कार्यान्वयन गर्न ग्लोबल फन्डको ‘नेसनल स्ट्राटेजी एप्लिकेसन एप्रोच’ अन्तर्गत आर्थिक सहयोग प्राप्त गरेको छ । यसबाट ‘न्यू स्टप टिबी स्ट्राटेजी’लाई सम्बोधन गर्ने सबैखाले कार्यक्रम जस्तै– क्षयरोग निदानमा सुधार, गुणस्तरीय डट्स व्यवस्थापन, प्रयोगशाला सञ्जाल, स्वासप्रश्वास सम्बन्धी रोगमा पहुँच, क्षयरोग तथा एचआईभी सहसंक्रमणको व्यवस्थापन, डिआर टिबीका बिरामीको व्यवस्थापन, सार्वजानिक निजी साझेदारी कार्यक्रम, पैरबीलगायत कार्यहरू नियमित रुपमा गरिँदै आएको छ ।

कति छन् नेपालमा क्षयरोगी ?
आर्थिक वर्ष २०७१-२०७२ मा मात्र ३४ हजार १ सय २१ जना क्षयरोगी डट्स उपचार पद्धतिमा दर्ता भएका थिए । तीमध्ये खकारमा क्षयरोगका किटाणु देखा परेका (सर्ने खालका) क्षयरोग बिरामीको संख्या १८ हजार ४ सय ६० रहेको छ । नयाँ क्षयरोगीमध्ये करिब ९१ दशमलव ५ प्रतिशतको रोग निको भएको पाइएको छ । यो प्रतिशत डब्लुएचओले तोकेको मापदण्डभन्दा बढी हो ।
सूक्ष्मदर्शक यन्त्रबाट खकार परीक्षण गरी यसको नतिजा पाउन २ दिनसम्म र खकार कल्चर गर्न कम्तिमा ८ हप्तासम्म लाग्ने गरेकोमा आधुनिक परीक्षण प्रणाली ‘जिन एक्स्पर्ट’ उपचार जडानपछि २ घन्टामा नतिजा पाउन सकिन्छ । ‘जिन एक्स्पर्ट’ उपकरण अत्याधुनिक स्वचालित उपकरण हो । यसले ‘माइक्रोब्याक्टेरियम ट्युबरक्यूलोसिस’ र क्षयरोगको महत्वपूर्ण औषधी ‘रिफाम्सिन’ प्रतिरोध सम्बन्धी नतिजा एकै पटक दिन्छ । खकारमा क्षयरोगका किटाणु नदेखिएका रोगी तथा एकपटक उपचार गरी निको भई फेरी बल्झेका क्षयरोगी तथा क्षयरोग र एचआइभिको दोहोरो संक्रमण भएका व्यक्तिको खकार परीक्षण गर्न जीन एक्स्पर्ट उपकरणलाई प्राथमिता दिइने जनाएको छ ।

विश्व क्षयरोग दिवस
सन् १८८२ मा जर्मन वैज्ञानिक डा. रबर्ट ककले क्षयरोग किटाणु पत्ता लगाएको १ सय वर्षपछि सन् १९८२ देखि क्षयरोग दिवस मनाउँदै आएको पाइन्छ । डब्लुएचओ र छातीरोग तथा क्षयरोग विरुद्धको अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउँदै आइरहेको छ । नेपालमा यो वर्ष ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ नाराका साथ क्षयरोग दिवस मनाइएको छ ।

क्षयरोग निवारणका चुनौती
क्षयरोग नियन्त्रणका लागि गरिएका विभिन्न क्रियाकलापका बाबजुत क्षयरोग नियन्त्रण तथा रोकथाममा विभिन्न चुनौती रहेका छन् । केही क्षयरोगीहरू अहिले पनि उपचारमा आएका छैनन् । त्यस्ता क्षयरोगी पत्ता लगाई उपचारमा ल्याउनका लागि सबैको सहयोगको आवश्यकता रहेको छ । सरकारी नयाँ योजनाअनुसार नेपालमा क्षयरोग बिरामीको संख्या एकिन गर्न सर्भे भइरहेको छ र यो कार्य क्षयरोग कार्यक्रमको नेपालमा पहिलो पटक हुन लागेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक केदार नरसिंह केसीले जानकारी दिए ।
यसैबीच, विश्व क्षयरोग दिवसको अवसर परेर शनिबार जनसंख्या तथा स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले नेपाल छाती रोग अस्पताल भवनको शिलान्यास गरेकी छन् । राज्यमन्त्री अर्यालले क्षयरोग नियन्त्रणका लागि स्थानीय तहको सक्रियता आवश्यक रहेको जनाउँदै सरकारले क्षयरोग नियन्त्रणका लागि रणनीतिक योजना अघि सारे पनि स्थानीय समुदायको सकृयताबिना त्यसले सार्थकता नपाउने बताइन् । सो अवसरमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले नेपालमा औषधि प्रतिरोधी क्षयरोग बिरामीको संख्या बढ्दै जानु सरकारको लागि चुनौती बन्दै गएको बताइन् ।

क्षयरोग निवारण गर्न चुनौतीपूर्ण छ
डा. केदार नरसिंह केसी
कार्यकारी निर्देशक, राष्ट्रिय क्षयरोग केन्द्र
नेपालमा नयाँ तथा पुराना क्षयरोगीको संख्या ६० हजार रहेको आँकलन गरिएको छ । आगामी वर्षभित्र ७ सय ३५ वटा स्थानीय तहमा क्षयरोगका बारेमा जनचेतना फैलाउन अभिमुखीकरण गरिने योजना छ । नेपालमा प्रत्ये कवर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् । ०७३-०७४ मा ३१ हजार ७६४ नयाँ क्षयरोगका विरामी पत्ता लगाई उपचारमा रहेका छन् ।
नेपालमा अझै १३ हजार नयाँ क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउनुपर्ने आवश्यकता रहेको छ । नयाँ तथा पुराना गरी अझै २८ हजार बिरामीलाई उपचारको दायरा भित्र ल्याउनुपर्ने देखिएको छ ।
सरकारले आव ०७३-०७४ मा ४ हजार ३२१ उपचार केन्द्रहरू, ९६ वटा शहरी डट्स केन्द्रबाट क्षयरोगका उपचार सेवा, ६०४ रोग निदान केन्द्र, २७ वटा जीन एक्सपर्ट केन्द्र र २ वटा प्रेषण प्रयोगशाखामार्फत क्षयरोगको सेवा दिइरहेको छ । औषधि प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र, ८१ वटा उपचार उपकेन्द्र मार्फत सेवा उपलब्ध गराइँदै आएको छ । नेपालमा औषधि प्रतिरोधी क्षयरोग बिरामीको संख्या बढ्दै जानु सरकारको लागि चुनौती बन्दै गएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार खकारमा किटाणु देखिएका वार्षिक १ हजार औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिन्छन् भने यी मध्ये ४ सय बिरामीको मात्रै रोग पत्ता लगाई उपचारमा ल्याउन सफल भएको छ । उपचारमा रहेको उक्त बिरामी मध्येपनि ४६ प्रतिशत विरामीमा मात्रै एन्टिवायोटिक औषधिको प्रभाव देखिएकाले यो निकै चुनौतीपूर्ण रहेको छ ।
केन्द्रले विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार क्षयरोग निवारण रणनीति अबलम्बन गरि २०१६ देखि २०२१ सम्मको पञ्च वर्षिय रणनीति तयार गरि कार्यान्वयनमा ल्याएको छ । छाती रोग अस्पतालको भवन निर्माणका लागी नै २९ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्