सफल र कुशलले लकडाउनमै कार बनाए «

सफल र कुशलले लकडाउनमै कार बनाए

भरतपुर ६ इन्द्रपुरी चोक पारसनगरका सफल र कुशल हिजोआज आफैँले बनाएको ‘गल्फ कार’ लिएर सडकमा निस्किन्छन् । नेपालको झण्डा राखिएको नमुना कारबारे धेरैले जिज्ञासा राख्छन् । खेमराज र शर्मिला पौडेल उनीहरूका बुबा आमा हुन् । “लकडाउनमा दुईवटै छोरा मिलेर कार बनाए,” बुबा खेमराज भन्छन्, “उनीहरूको मेहनत देखेरे खुसी छु, राज्यले पनि हौसला दिने काम गरोस् ।” खेमराज २५ वर्षदेखि इलेक्ट्रिक पसल चलाउँछन् ।
२० वर्षीय सफल जेठा छोरा हुन् भने १६ वर्षीय कुशल कान्छो । सफल ख्वाप इञ्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इञ्जिनियर पढ्दैछन् । कुशल ओमशान्ति एकेडमीबाट एसईई दिने विद्यार्थी हुन् । “फालिएका सामान जोडेरै कार बनाइएको हो”, सफलले भने, “झण्डै एक महिना सामान जुटाउन लाग्यो, १५ दिनमै कार बन्यो ।” सो नमुना कारमा पल्सर मोटरसाइकलको इञ्जिन राखिएको छ । अगाडि मारुती भ्यानको चक्का राखेका छन्, पछाडि ईरिक्साको चक्का जोडिएको छ । बत्ती, हर्नका लागि सोलार जोडेका छन् । “यो कारलाई अझै ५ लाख जति खर्चेर आकर्षक स्वरुप दिन सकिन्छ,” सफलले भने, “राम्रो माइलेज दिन्छ, सानो पनि छ, सस्तो पनि ।” उनीहरूले नारायणगढ, पटिहानीसम्म सफल परीक्षण समेत गरिसकेका छन् ।
“सहयोग मिल्यो भने यसको डिजाइन अझै राम्रो बनाउन सकिन्छ, व्यावसायिक उत्पादन गर्न पनि सकिन्छ,” कुशलले भने, “विदेशी गाडीको राम्रो विकल्प बन्न सक्छ ।” यी दाजुभाईले लकडाउनको सदुपयोग गरेर नमुना कार बनाएका हुन् । आइतबार दुर्गा पञ्चायन टोल विकास संस्था र मिलिजुली आमा समूहले संयुक्त रूपमा नमुना कार सार्वजनिक गरे । “नयाँ समान जोडेर बनाउने हो भने यो गाडीले राम्रो बजार पाउन सक्छ”, कुशलले भने, “हामीले प्रयास गरेका छौँ, राज्यले केही बाटो देखाइदिए अगाडि बढ्न सक्छौँ ।” कार बनाउन झण्डै १ लाख रुपैयाँ खर्च भएको उनीहरूले बताए । नमुना कार प्रतिघण्टा २० किमि गुड्न सक्छ । “हाम्रो वडा नै खुशी छ, उर्जावान युवाको सृजनाले सबैको मन तानेको छ”, स्थानीय अगुवा निर्मलकुमार श्रेष्ठले भने, “आविष्कारमा थप सघाउन सबै क्षेत्र लाग्नुपर्छ ।”
६ र ८ नम्बर वडाले नमुना कारमा जुटेका दाजुभाइलाई प्रोत्साहन गर्न सहकार्य गर्ने भएको छ । ६ नम्बर वडाका वडाध्यक्ष हरिविलास कोइरालाले कार निर्माणमा लागेको १ लाख रुपैयाँ वडाले बेहोर्ने घोषणा गरेका छन् । “यो प्रारम्भिक सहयोग हो, हामी सधै प्रोत्साहन र उर्जा दिन प्रतिवद्ध छौँ”, उनले भने, “यो मोडेलको कारको व्यावसायिक उत्पादनका लागि राज्यसँगै पहल गर्नेछौँ ।” भरतपुर–८ का वडाध्यक्ष दामोदर न्यौपानले छिमेकी वडा भए पनि उर्जामा सहकार्य गर्न तयार रहेको बताए । “महानगरकै लागि खुशीको कुरा हो, उहाँहरूलाई चाहिने सहयोगका लागि वडा प्रतिवद्ध छ”, उनले भने, “आविष्कारमा जति उर्जा मिल्छ, त्यति राज्यलाईनै फाइदा हुने हो ।” कुशललाई पूर्ण छात्रवृत्तिमा पढाउन भरतपुर–७ मा खुलेको अंकुरम एकेडेमीले कक्षा ११ र १२ पढाउने घोषणा गरेको छ । एकेडेमीका प्रचार्य सुमन पौडेलले अभिभावकले इच्छा गरेमा कुशललाई निःशुल्क पढाइदिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्