सुधार कार्यक्रम ल्याएर व्यवसायीको समस्या समाधान गर्नुपर्छ «

सुधार कार्यक्रम ल्याएर व्यवसायीको समस्या समाधान गर्नुपर्छ

माओवादी आन्दोलनसँग निकट भई विभिन्न समयमा महत्वपूर्ण बैठकको आयोजना गर्ने, माओवादी केन्द्र र एमालेबीच एकीकरण अघि भएका कतिपय महत्वपूर्ण बैठकका जानकारको रूपमा समेत चिनिएका पार्टी सम्बद्ध उद्योगी व्यवसायीहरूको संगठन राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष हुन् शिवप्रसाद कट्टेल । उनै कट्टेलसँग कारोबारकर्मी धर्मेन्द्र कर्णले समसामयिक विषयमा गरेको कुराकानीको सारसंक्षेप :

नेपालले आफ्नो भूमि समेटेर तयार पारेको नक्शा संसद्बाट अनुमोदन भए तापनि अहिले नेपाल भारत सम्बन्ध बिग्रिएको भन्ने गरिएको छ । यसलाई तपाईंले कसरी लिनु भएको छ ?
भारतसँगको सम्बन्ध बिग्रिएको नभई अलि चिसिएको छ । चिसिएको अवस्था आउनुमा भारतले पनि हेर्ने दृष्टिकोण बाहिर सही देखाउने, भित्र नेपाललाई कसरी अस्तव्यस्त र अस्थिर बनाई दिने र नेपालको राजनीति अवस्थालाई कसरी आफ्नो नियन्त्रण र वशमा राखिरहने भन्ने सँधैभरिको सपना रहने भयो । भारतसँग हाम्रो पारिवारिक र आर्थिक सम्बन्ध छ । पहिले नाकाबन्दी गरेर एकढंगको पीडा पनि दिएको हो । त्यसलाई पनि हामी नेपालीले चाँडै बिर्सेर यो सम्बन्ध ऐतिहासिक होस् भन्ने चाहेको छ । भारतका प्रधानमन्त्रीले पनि नेपाल आएर सहयोग गर्ने भन्नुभो । लास्टमा उहाँहरूले जहिले पनि नेपालको भूमिमा आँखा लाइरहनु भो । त्यो आँखा लाको कुरामा हुँदाहुँदै बाटो बनाउनेदेखि लिएर जबरजस्ती ढंगले त्यो काम गर्नु भो । नेपालीहरूले पनि आफ्नो अस्तित्वका निम्ति नेपाली दाजुभाइ, नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टीलगायत सबैले ऐतिहासिक निर्णय गर्न सफल भो त्यो कारबाही भारतलाई चर्को लागिरहेको हुनसक्छ । पछि प्रधानमन्त्रीले बोलेको कुराबाट पनि उहाँहरूलाई चिसो पारेको हुनसक्छ । तर पनि भारतसँग हामीले सम्पर्क गर्ने कुरामा उहाँहरूले ठूलै सबा अर्ब बढीको जनसंख्या भएको देशको हैसियतले दबाबमा पार्न सकेको देखिन्छ । तर नेपाल सानै भए पनि, हामी थोरै भए पनि उहाँहरूसँग सही ढंगले मुकाबिला गरेर व्यावहारिक तथा बुद्धिमानी ढंगले जित्न सक्छौं । झगडा गर्ने जरूरत पनि देखिँदैन । उहाँहरूले सधैंभरि छिमेकीसँग दीर्घकालीन सम्बन्ध विकास गरिरहने हो भने तत्काल कूटनीतिक वार्ताबाट दुवै पट्टिका तोकिएका राजनीतिक दल र त्योसँग रिलेटेड मान्छे बसेर तत्काल यसको छलफल गरिनुपर्छ । होइन भने दैनिकरूपमा पीडा बढ्दै जाने हुन्छ । हामीले पनि भारतप्रति पीडादायी ढंगले सोच्दै जाने हो भने छिमेकी छिमेकीबीचको समस्या आउन सक्छ । त्यो भनेको भारतले हामीलाई हेर्ने दृष्टिकोण फरक पर्न सक्छ र हामीले पनि फरक गर्न सक्छौं । फरक गर्दा भारतलाई पनि गम्भीर असर पर्न सक्छ, हामीलाई पनि गम्भीर असर पर्न सक्छ । त्यसैले म दुवै देशका मुख्य लिडरसँग र प्रधानमन्त्रीहरूसँग त्यहाँभित्र रहेका जिम्मेवार पार्टीले एउटा कूटनीतिक पहल गरेर चाँडोभन्दा चाँडो यसलाई हल गरिनुपर्छ । यदि हल भएन भने शरीरमा क्यान्सर लागेजस्तो विस्तारै विस्तारै दुवै मुलुकका लागि क्यान्सर भाइरल भएर जानसक्छ । त्यसैले तत्काल कोभिड–१९ कै कारण ढिला भएको भन्छन् । तर कोभिड–१९ सँधैभरि भइरहयो भने कोभिड–१९ भन्दा गम्भीर दीर्घकालीन समस्या बन्दै जान्छ । त्यसकारण यो दीर्घकालीन हुनसक्ने समस्यालाई तत्काल हल गर्न नेपाल पक्ष र भारत पक्ष गम्भीर भएर मुलुकका र आमनागरिकका निम्ति दुई देशबीचको दौत्य सम्बन्धका लागि पनि धेरै भन्दा धेरै सोच्नु जरूरी छ । हाम्रो भूमि भारत सरकारले तत्काल छोड्ने र त्यस्तो कुनै अन्य विषय छन् भने तत्काल समाधान अगाडि बढाउनु पर्छ । बौद्धिक लेभलको तत्काल छलफल हुनुपर्छ । यदि त्यो हुन सकेन भने हामीले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने र पत्रपत्रिकाले अन्तर्राष्ट्रियकरण गरिसके तर पनि हामीले विभिन्न मुलुकलाई यसबारे जानकारी गराएर नेपाल भारतबीचको सम्बन्ध सुधार गर्न चाइना नजिकको छिमेकी मुलुक भो त्योबाहेक अर्को मुलुकलाई गुहारे भए पनि उसको नेतृत्वमा बसेर भए पनि उसले सम्बन्ध सुधार गर्नका लागि एउटा पहलकदमी त गर्नुपर्छ । भारतसँगको सम्बन्धमा चाइना जोडियो त गाह्रो होला । तर अन्य मुलुकसँग गएर भए पनि हामीले अन्तर्राष्ट्रिय क्षेत्रलाई गुहारेर भए पनि समाधान खोज्नु पर्छ । यसका लागि भरपर्दो अन्तर्राष्ट्रिय समिति पर्पmर्मेसन गरेर भए पनि हल गर्नुपर्छ जस्तो लाग्छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकीकरण प्रक्रियालाई नजिकबाट नियाल्दै आउने एक व्यक्तिको रूपमा अहिले बनेको नेकपामा देखिएको समस्यालाई कसरी हेर्नु भएको छ ?
हामी नेपाल कम्युनिस्ट पार्टी माओवादी, माओवादी केन्द्र हुँदै अहिले नेपाल कम्युनिट पार्टी (नेकपा)मा छौं । यो पार्टीमा लागेका बेलादेखि विभिन्न उतार चढावका साथ पार्टीलाई एकताबद्ध बनाउँदै जाने आमनेपाली जनतालाई परिवर्तन गर्ने दिशातर्फ गएका हौं । त्यसमा ठूला ठूला परिवर्तन भए । नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको जनयुद्ध सुरू ग-यो । त्यसले राम्रै परिवर्तन हासिल ग-यो । त्यसपछि १९ दिनको जनआन्दोलनमा राम्रो भूमिका खेल्यो । त्यसपछि वामएकता हुँदै चुनावमा भरपर्दो ढंगले जित्दै पनि आयौं । जनताले हामीलाई एकदमै पोजिटिभ माया पनि गरे । त्यस पछाडि पाटी टुटफुट भयो । त्यसबेला माओवादीले उठाएका मुद्दा कतै छोडे जस्तो कतै हराए जस्तो भयो । पूर्वएमाले र माओवादी केन्द्र पार्टी एकीकरण गर्ने ठाउँमा पुगे । पूर्वमाओवादी र पूर्वएमालेको अवस्थाबारे यहाँ टिप्पणी गर्न खासै सान्दर्भिक नहोला । दुवै पार्टी कतै न कतै अप्ठयारो अवस्था र पार्टी नै रहने नरहने अवस्थामा छलफल चलिरहेको अवस्थामा पार्टी एकीकरण गर्न सफल भइयो । यो एकीकरण आमरूपमा र अन्तर्राष्ट्रियरूपमा एक पोजिटिभ म्यासेज दिन सफल रहयो । आम कार्यकर्ता खुशी भए । त्यसकै आधारमा झण्डै दुई तिहाई बहुमतको सरकार बन्न सफल भयो । दुई तिहाईको सरकार बनिसकेपछि देशले नयाँ कोर्समा जाने हामीले अपेक्षा गर्यौं ।

अपेक्षा पूरा भयो त ?
हामीले गरेको अपेक्षा जस्तो भएन । हामीले भिन्नाभिन्नै विचार र कार्यक्रम बोकेका दुई पार्टीको एकीकरण गरेका थियौं । हामीले नयाँ दिशामा जानका लागि बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादलाई एकठाउँमा थाँती राखेर हामीले विचारमा पछाडि बहस गर्ने गरी एकीकरण सम्पन्न गरेका थियौं । त्यो एकीकरण जिल्ला समितिको तहसम्म केही हदसम्म भयो । तर हाम्रो आन्तरिक एकता भरपर्दो नभएर विचारविहीन भएर हुनुपर्ने एकता जस्तो भएन । हामीले विचारमा एकता गर्न पाएको भए अहिलेको जस्तो केन्द्रदेखि तलसम्मको विचलन आउन सक्दैन्थ्यो । विचारभन्दा बाहिर व्यवहारमा पद र प्रतिष्ठामा कतै न कतै केन्द्रित रहेको हुनाले यो पार्टी अहिले विचलनमा रहेको जस्तो देखिएको छ । ९ जना नेतृत्वमा छन् । कोही प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्री सबैले मन्त्रालय हाँकेर अनुभव लिएका र पार्टीमा लामो समयदेखि काम गरेका ९ जना इतिहास बोकेका नेतृत्वहरू हुनुहुन्छ । तर उहाँहरूले ठीक ठीक ढंगले पार्टी चलाउन सक्नु भएन । त्यसैले कतै पार्टी अपांगजस्तो जन्मायौं कि यसलाई बढाउन हुर्काउन सबै त्याग तपस्या बलिदान नपुग्ने हो कि ? र यसले गर्दाखेरि बाटो मुलुक गतिहीन जस्तो गयो कि ? पार्टीले ठीक बाटो नसमातेको पार्टीका नेताहरूबीच छलफल ठीक ढंगको नभएर अन्यत्रै केन्द्रित भएको जस्तो भएको अहिले कतै न कतै यो पार्टीको एकीकरण धरापमा पर्ने हो कि जस्तो आमजनताले सोचेका छन् । हामी कार्यकर्ताले पनि सोचेका छौं । हामी त्यो एकीकरणलाई सफलतापूर्वक सम्पन्न गर्न सबै नेतृत्वलाई पूर्वएमाले र पूर्वमाओवादी दुवैका लागि एकीकरण सम्पन्न गर्नुपर्छ भन्ने आग्रह गछौं । र हामीले घोषणापत्रमा लेखेअनुसार जनतालाई र यो मुलुकलाई परिवर्तन दिशामा लानुपर्छ भन्ने बाटोमै हामी छौं ।

एकीकरणका बेला सबै कम्युनिस्ट घटकलाई एकताबद्ध बनाउने र देशलाई समृद्धिमा लाने एजेन्डा मुख्य थिए यी एजेन्डाको अवस्था के छ त ?
नेपालको हकमा राजनीतिक क्रान्ति लगभग सम्पन्न भयो अन्त्य त नभनौं । सम्पन्न भयो भन्ने एकढंगको माओवादीले उठाएको एजेन्डाअनुसार गणतन्त्र आयो, संघीयता आयो । धर्मनिरपेक्षताका कुरा भए । सबै कुरालाई आन्दोलनले पुष्टि गरिसकेपछि अब मुलुकलाई आर्थिकरूपले समृद्ध बनाउनु पर्छ । समृद्ध मुलुक र समृद्ध नेपाली जनता भन्ने हामीले पनि नारा निकालेका थियौं । पछाडि चुनाव भइसकेपछि समृद्ध नेपाल सुखी नेपाल बनाउने पार्टीले प्रधानमन्त्रीले उद्घोषण गर्नु भो । त्यसमा हामी सबै जनाले एैक्यबद्धता व्यक्त गर्यौं । हामीले राजनीतिक क्रान्ति र आर्थिक क्रान्ति सँगसँगै लाने उद्घोष गर्यौं । राजनीतिक क्रान्तिमा हामीले केही उपलब्धि हासिल गर्यौं । आर्थिक क्रान्तिलाई अगाडि बढाउनुपर्छ । नेपालमा रहेको स्रोत साधनको र नेपाली युवा भाइबहिनीको स्रोतसाधनलाई परिचालित गर्दै देशलाई आर्थिक रूपान्तरण गर्नुपर्छ र यो मुलुकलाई समृद्ध आर्थिक निर्माण गर्नेबारे हामीले सोच्यौं । त्यो सोचाइ अहिले अलि मिलेन जस्तो लागिरहेको छ । किन भने आन्तरिक राजनीतिक कुरामा खिचलो बढयो । भ्रष्टाचारले पूरै दबदबा भयो । पार्टीका शीर्ष नेताहरूले पनि यो पार्टीलाई कता लाने पुर्याउने विषयमा विचारविहीन जस्तो देखिनु भयो । नेपाल सरकार पनि त्यस्तै अवस्थामा देखिन्छ । त्यो सँगसँगै नेपालमा १० वर्षको जनयुद्धपछि र १९ दिनको जनआन्दोलन पछि र अब भूकम्पपछि पूरैबेला चलाउने सामाजिक र व्यावहारिकरूपले हेर्दा त्यो बाटो पाएका थियौं हामी । नाकाबन्दीपछि नेपाली जनता एकढंगले परिपक्व ढंगले नयाँ चीज नयाँ बाटो अवलम्बन गर्छ भन्ने थियो । पछाडि त्यो पनि हुन सकेन । अहिले हाम्रो सरकार आएपछि कम्युनिस्ट पार्टीको सरकार पाँच वर्ष चल्छ । पाँच वर्षभित्र बिग्रेका नीतिहरू नेपाललाई चाहिने नीति नियमहरू सुशासन पक्कै बन्छ भन्ने सोच्यौं । तर नेतृत्वमा कतै न कतै विचलन आयो । त्यो विचलन भनेको पद बचाउने, प्रतिष्ठा बचाउने र मुलुकलाई बाटो नदेखाउने यसलाई छरपस्ट नै राखिरहने र नेपाली श्रमजीवीहरूलाई विदेश पठाउने त्यसको रेमिट्यान्स ल्याएर खाने, मुलुकलाई चलाउने र देश विकासमा अलि न्यूनीकरण गर्ने यसलाई धेरै बनाउने प्रयत्न राजनीतिक नेतृत्वले गरेको देखिएन । त्यस्तो नदेखिएकाले सरकारले र हाम्रो पार्टीले सही निकास खोज्नका निमित्त एैक्यबद्धता भएर नआउञ्जेलसम्म कम्युनिस्ट पार्टी नेपालको साँच्चै परिवर्तनको परिवर्तनमुखी बन्न नसकुञ्जेलसम्म हामीले यो मुलुक साँच्चै बनाउनुपर्छ भन्ने त्याग तपस्या बलिदान नगरी यो मुलुक अगाडि बढ्छ भन्ने मलाई लाग्दैन ।

यसैबीच चार महिनादेखि देशमा कोभिड–१९ महामारीको अवस्थामा नेपाली अर्थतन्त्र फसेको छ । यो अवस्थालाई तपार्इंले कसरी हेर्नु भएको छ र सरकारले यसका लागि के गरेको जस्तो लाग्छ ?
यो कोभिड–१९ले नेपाललाई मात्रै होइन संसारलाई दुखदायी अवस्थामा पारेको छ । अन्य मुलुकले त्यो मुलुकका नागरिकको आर्थिक रूपान्तरण गर्ने र उद्योग व्यवसायी क्षेत्रलाई फस्टाउन र त्यसलाई मर्न नदिएर बचाउन प्रयत्न गरिरहेका छन् । हाम्रो सरकारले कोभिड–१९ले गरेका क्षतविक्षत आर्थिक क्षेत्रलाई सुधारेको देखिन्न । उद्योग व्यापार क्षेत्रमा अत्यन्त ठूलो समस्या छ । एउटा स्वास्थ्य केही सुध्रेको देखिन्छ । किनभने त्यहाँ कमिसनका ठूला कुरा पनि छन् । त्यो एउटा देखिन्छ । पर्यटन क्षेत्र त्यस्तै अस्तव्यस्त छ । वैदेशिक रोजगार त्यस्तै छ । यातायात त्यस्तै छ । किसानहरूले सही समयमा मलबीउ पाउन सकेका छैनन् । बजारीकरणमा सहज अवस्था छैन । उद्योग क्षेत्र पूरै ध्वस्त भएको छ । हाम्रो पार्टीले र हाम्रो सरकारले नयाँ प्याकेज ल्याउन सकेन । त्यसैले तपाईंको यो पत्रिकामार्फत सरकारलाई के सूचना दिन चाहन्छु भने औद्योगिक क्षेत्रलाई ठीक ढंगले परिचालन गर्न सकिएन । यसलाई कार्यान्वयन गर्न सकिएन भने मुलुक अस्तव्यस्त र अस्थिरता तिर जान्छ । गभर्नरले ल्याएको जुन मौद्रिक नीति छ त्यो मौद्रिक नीति सही आएको छ । त्यसलाई कार्यान्वयन गर्नका निमित्त नेपाल कम्युनिस्ट पार्टी र अरू पार्टीले पनि यसलाई सही ढंगले दिशा पक्रेर अगाडि जान सक्यो र बैंकिङ क्षेत्रले ल्याएको नीति कडाइका साथ कार्यान्वयन गर्न अगाडि बढनु पर्छ । उद्योगी व्यवसायीले पनि विश्वभरि महामारी आएको बेला अस्थिर अवस्था बनिरहेका बेला नेपाली राजनीति परिवर्तनका दिशातिर जानुपर्छ । उद्योगी व्यवसायी मिलेर जानुपर्छ जस्तो लाग्छ मलाई । कोभिड–१९ ले नेपालमा जति क्षतविक्षत भइरहेको छ दैनिकरूपमा संक्रमितबाट मान्छे मरिहरहेको छ त्योभन्दा बढी आर्थिक क्षेत्र ध्वस्त भएका कारण हुन लागेको छ । डिप्रेशन भएर दुई हजारको हाराहारीमा मान्छे मरिसके । कोभिड–१९ले झन्डै ५६ जना मान्छे मरिसके । त्यसैले आर्थिक क्षेत्र सुधार कार्यक्रम सरकारले ल्याएर मुुलुकमा रहेका उद्योगी व्यवसायीको समास्या समाधान गर्नुपर्ने देखिन्छ । बैकिङ क्षेत्रले कडाइका साथ ब्याज साँवा असुल्ने जाँदा ठूलो दुर्घटना हुनसक्ने मैले महुस गरेको छु ।

यसो भनिरहँदा बैंकले ब्याज साँवा नअसुल्ने हो भने त्यतातिर पनि समस्या आउने होला नि ?
बैंकिङ क्षेत्रले अर्काकै पैसा ल्याएर जम्मा गरेको हुन्छ । तिनलाई ब्याज दिनुपर्छ । उसको सुशासन चाहिन्छ । त्यसैले उसलाई एउटा अनुदानको हिसाबले बैंकिङ क्षेत्रलाई सरकारको नियन्त्रणमा राखेर बैंकिङ क्षेत्रको पीरमर्का सरकारले बुझ्ने उद्योग व्यवसाय क्षेत्रमा आएको ऋणका बारेमा अनुदानको व्यवस्था गर्नुपर्छ । चाहे ब्याज अनुदान भन्नुस् चाहे एक वर्ष दुई वर्ष पछाडिसम्म किस्ता र ब्याज तिर्ने व्यवस्था गरियोस् वा पूरै छुट गरिदिए केही उद्योगी व्यवसायीलाई सहुलियत हुन्छ । उत्पादनमा अनुदान दिने । बजारीकरणमा सरकारले एक किसिमको नीति ल्याए यसले सकारात्मक सन्देश दिनसक्छ । तर सरकारले बैंकिङ क्षेत्रलाई आदेश दिएर त्यो सम्भव छैन । त्यो प्राइभेट सेक्टर होस् वा सरकारी सेक्टर । सरकारले एउटा नीतिगत निर्णय गरेर बैंकिङ क्षेत्रले उद्योग व्यापार क्षेत्रमा लगानीलाई सही ढंगले सदुपयोग गर्नका निमित्त अब दुई वर्षसम्म सहज ढंगले गरिदिनु पर्छ । सरकारले छुट्टै प्याकेज छुट्टयाएर पठाउनुपर्छ या पुनर्कजाको निमित्त सरकारले यत्तिसम्म दिएको हो कम्तीमा १० लाख, २० लाख वा ५० लाखको एउटा अधार बनाएर अवस्थालाई हेरेर सबैलाई दिने भनेर पनि हुँदैन अवस्थालाई हेरेर उत्पादनको दृष्टिकोणका चीजहरूलाई अगाडि बढाउँदा हुन्छ कि भन्ने लाग्छ ।

फेरि पनि यसका लागि राजनीतिक अवस्था सहज हुनुपर्ने हुन्छ । सत्ताधारी पार्टीमै यत्रो किचलो छ कसरी सम्भव होला जस्तो लाग्छ ?
अहिले पार्टी त फुट्दैन । हामीले पार्टी फुटनका लागि एकीकरण गरेको होइन । अहिले हामीले एकीकरण सम्पन्न गरिसकेका छैनौ । हाम्रो विचारको बहस अगाडि बढाउनु पर्छ । राजनीतिक र आर्थिक हिसाबले अगाडि बढाउँदा विचारमा हामी क्लियर हुनुप-यो । हाम्रो पार्टी २१औं शताब्दीमा कुन राजनीतिक ध्रुवीकरण गरी लान सकिन्छ त्यसबारे बहस गर्नुपर्छ । बहुदलीय जनवाद र २१ शताब्दीको जनवादमा के के कुरा सही थिए के के सुधार हनु पथ्र्यो त्यसमा राजनीतिक बहस गरी अगाडि बढाउनु पर्छ । पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई ठीक ढंगले परिचालन गर्न सकियो भने र हामीले आमनागरिकका घरदैलोमा पुगेर अब नेपालको आर्थिक क्षेत्र यसरी सुध्रिन्छ र सरकारले यो सुविधा दिन लागेको छ अब हामी काम गर्नुछ हतोत्साही नबनौं भन्ने सन्देश घरदैलोमा पुर्याउन सक्यौं । अनि नेपाल कम्युनिस्ट पार्टी र सरकार एक अर्काबीचको सहयोग जरूरी छ । कम्युनिस्ट पार्टीले सरकारलाई निर्देशन दिने र सरकारले कम्युनिस्ट पार्टीले दिएको निर्देशन पालना गर्ने अवस्थासम्म पुग्यो भने यसलाई सही निकास दिन सकिन्छ । अहिले पार्टीभित्र जुन राजनीतिक बहस चलिरहेको छ । तत्काल स्थायी समितिको बैठक टुंग्याएर हेडक्वार्टरले यसलाई सही ढंगले निकास दिएर अब मुलुकलाई औद्योगिक क्षेत्रको रूपमा निर्माण गर्न औद्योगिक क्षेत्रको सुधारको निमित्त, यो व्यवसायी क्षेत्र सुधारको निमित्त र आम नागरिकलाई राहत दिने एउटा राहत प्याकेज ल्याएर अध्यादेशमार्फत त्यो प्याकेज ल्याएर सम्बोधन गर्नुपर्छ ।

पार्टीको किचलो समाधान गर्ने कुनै विधि तत्काल देख्नु भएको छ कि ?
हुनत पहिला पनि भइसकेको विषय हो । एकजना कार्यकारी अध्यक्षले पार्टी चलाउने र एकजना प्रधानमन्त्री भएर सरकार चलाउने गरेर जाँदा सुमधुर सम्बन्धको विकास हुन्छ । एकीकरणको सन्देश पनि तल पुग्छ । त्यसैले अहिले कसैले पनि इस्यु नबनाएर हिजो एकताको मर्म पालना गर्न आन्तरिक सहमति भा थियो त्यो सहमतिलाई कायम गरी अगाडि बढ्न सक्यो भने अहिले नेकपाभित्रको शक्ति सन्तुलन पनि कायम हुनसक्छ । दुवै अध्यक्षबीचको टकराव पनि कम हुँदै जान्छ । सचिवालयका सबैजना नेता देशलाई बुझ्नु भएको छ । मुलुकलाई दिशा दिनुपर्छ । निकास निस्कन्छ जस्तो लाग्छ । पार्टी फुट्दैन ।

 

प्रतिक्रिया दिनुहोस्